Comments Add Comment

फौजी कीराले सतायो रामेछापका किसानलाई

१ वैशाख, रामेछाप । कोरोना भाइरस (कोभिड–१९) ले मुलुक त्रस्त बनिरहेका बेला रामेछापका किसानलाई भने फौजी कीराबाट कसरी मकैबाली जोगाउने भन्ने चिन्ताले सताएको छ । खेतमा लगाएको मकैका बिरुवा फौजी कीराले नष्ट पारेपछि किसानहरू चिन्तित छन् ।

रामेछापमा गत वर्ष देखापरेको अमेरिकी फौजी कीरा यस वर्ष पनि देखिएको छ । गत वर्ष जिल्लाको खाँडादेवी र लिखु तामाकोसी तथा रामेछाप र मन्थली नगरपालिकामा देखापरेको फौजी कीरा यस वर्ष फेरि मन्थली नरपालिकामा देखिएको हो ।

मन्थली नगरपालिका–१ को मन्थली फाँटमा लगाएको मकै बालीमा फौजी कीराको प्रकोप फैलिएको छ । कीराले मकैको गुवोमा आक्रमण गरी नष्ट पारेको मन्थली नगरपालिका–१ का किसान माधव घिमिरेले बताए ।

जिल्लामा कोरोनाको संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । यसले गर्दा प्राविधिक सेवा दिने कार्यालयहरू समेत बन्द हुँदा प्राविधिक परामर्श लिन नपाएको उनले बताए । कीरा नियन्त्रणका लागि गाईको गहुँतमा पानि मिसाएर मकैको गुवामा हाल्ने गरेको उनले बताए ।

‘गहुँतले केही कम हुने रहेछ, तर पूर्ण रूपमा हराएन । यस वर्ष मकै राम्रो उत्पादन नहुने भयो,’ उनले भने ।

कीराले मकैका बिरुवा नष्ट पारेपछि कतिपय किसानहरूले भने औषधि पसलहरूबाट कीटनाशक औषधि लगेर छिट्न लागेका छन् । कीरा नियन्त्रणका लागि गभारोमा नियन्त्रणमा प्रयोग गर्ने औषधि हालिएको स्थानीय किसान बाबुकाजी श्रेष्ठले बताए ।

दुई पटकसम्म औषधि छिट्दा पनि कीरा नियन्त्रणमा नआएको स्थानीय किसान सञ्जु मगरले बताइन् ।

खेतको मकैमा कीरा देखिएपछि अब किसानले बारीमा लगाउने मकै बालीमा पनि यसको प्रकोप फैलन सम्भावना बढेको छ ।

सदरमुकाम छेउको बाली कीराले नष्ट पार्दा पनि कृषि प्राविधिकहरू किसनाको खेतमा नपुगेको किसानहरुको गुनासो रहेको छ । मन्थलीमा नगरपालिकाको कृषि शाखाको साथै रामेछाप र दोलखा जिल्ला हेर्ने गरी कृषि ज्ञान केन्द्रको कार्यालयसमेत रहेको छ । तर आफूहरुलाई संकट पर्दा कुनै पनि प्राविधिकहरु परामर्श दिनसमेत नआएको किसानहरुले गुनासो गरे ।

फौजी कीरा अमेरिकाबाट फैलिएको एकखालको पुतलीको लार्भा हो । पहिलोपटक अमेरिकामा देखिएको यो पुतलीको लार्भा भारत हुँदै गतसालबाट नेपालमा देखापरेको हो ।

लामोदूरीसम्म उड्नसक्ने यो पुतलीले पार्ने फूलबाट निस्किएको लार्भा कलिलो पात खाएर हुर्कने गर्दछ । यसले सबैभन्दा बढी मकै बालीमा क्षति पुर्याएने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment