Comments Add Comment

लकडाउनको मौका छोपेर खाद्यवस्तुमा मूल्यवृद्धि

१ वैशाख, काठमाडौं । कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेका बेला थोक बिक्रेताले खाद्यवस्तुको मूल्य बढाएका छन् ।

पछिल्लो एक सातामा चामल, दाल, गेडागुडी, तेल, चिनी, नुन जस्ता खाद्य वस्तुको मूल्य अस्वाभाविक रुपमा बढेको छ ।

प्रतिबोरा ९ सय ५० रुपैयाँ भन्दा बढी मूल्यका चामल बोरामै एक सय रुपैयाँले भाउ बढेको खुद्रा ब्यापार संघले जनाएको छ । एक साताअघि १५० रुपैयाँ पाइएको मुसुरोका दालमा किलोमै १५ देखि २५ रुपैयाँ, १५० रुपैयाँको मुग दालमा ३० रुपैयाँ तथा मासको दाल १३० रुपैयाँ प्रतिकिलोबाट ३० रुपैयाँले बढेर १६० रुपैयाँ पुर्‍याइएको छ ।

खुद्रामा चिनीको मूल्य ७५ रुपैयाँ किलोबाट १० रुपैयाँले बढाएर ८५ पुर्‍याइएको छ । भटमासको तेल प्रतिलिटरमा १५ रुपैयाँ तथा सनफ्लावर तेलमा पनि ४० रुपैयाँले मूल्य बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

मूल्य बढाइयो तर बिल दिइएन

एक्कासी मूल्य बढाए पनि थोक बिक्रेताले खुद्रा व्यवसायीलाई बढेको मूल्यमा खरिद बिल जारी गर्न नमानेको नेपाल खुद्रा व्यवसायी संघका एक सदस्यले बताए । ‘एक्कासी मूल्य बढाए, बढेको मूल्यको बिल दिदैंनन्, भाउ बढ्दा उपभोक्तालाई जवाफ दिन नसकिने भइयो,’ उनले भने ।

होलसेलबाट एक्कासी खाद्य वस्तुको मूल्य बढेर आएको र त्यसको असर उपभोक्ता मूल्यमा परेको नेपाल खुद्रा व्यवसायी संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘अत्यावश्यक वस्तुको मूल्य बढेको कुरा साँचो हो, केही साथीहरुले बिल नपाएको गुनासो गरेका छन्,’ अध्यक्ष श्रेष्ठले भने ।

बढेको मूल्यअनुसारको बिल नपाउँदा खुद्रा व्यापारीलाई कालोबजारीको आरोप लाग्ने डर बढेको अध्यक्ष श्रेष्ठले बताए । मूल्यवृद्धिबारे वाणिज्य विभागमा जानकारी गराइएको उनले बताए । ‘उपभोक्तालाई खाद्यान्न चाहिएको छ, जति मूल्यमा पनि बिक्न सक्ने अवस्था छ तर खुद्रा व्यवसायीले मूल्य बढाएको होइन,’ अध्यक्ष श्रेष्ठले भने ।

मूल्य बढ्नुपर्ने कारण छैन

काठमाडौंको मूल्यमा भएको गडबढी सरकारले छानबिन गर्नु पर्ने नेपाल चामल, तेल, दाल, उद्योग संघले बताएको छ । वीरगञ्जबाट फोनमा कुरा गर्दै संघका अध्यक्ष सुबोध गुप्ताले काठमाडौंमा त्यसरी खाद्यान्नको मूल्य बढ्नुपर्ने कुनै कारण नरहेको बताए ।

‘चामलमा किलोमा एक दुई रुपैयाँ बढेको हुन सक्छ किनकी किसानले धानको राम्रो मूल्य पाएका छन् तर अरु चीजको मूल्य बढ्नुको कारण छैन’ अध्यक्ष गुप्ताले भने ।
दाल, चामल, तेलजस्ता खाद्यान्नको मौज्दात प्रशस्त रहेको भन्दै उनले अस्वाभाविक मूल्यवृद्धिबारे सरकारले छानबिन गर्नुपर्ने बताए ।

के भन्छ सरकार ?

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्यवृद्धिबारे छानबिन सुरु भएको बताएको छ । खाद्यान्नको थोक बिक्रेता नेपाल खाद्य व्यापार संघका प्रतिनिधिसंग सोधपुछ सुरु गरिएको विभागका सूचना अधिकारी दीपकराज पोखरेलले जानकारी दिए ।

‘विभागमा परेको उजुरीपछि होलसेल संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठसंग सोधपुछ भएको छ, हामी कसरी कारबाही अघि बढाउने भन्ने निचोडमा छिट्टै पुग्छौँ,’ उनले भने ।

थोक ब्यापारीले खुद्रा र खुद्रा ब्यापारीले थोकलाई दोष लगाएको उनले बताए ।

खाद्यान्नको कालोबजारी रोक्न सरकारी संयन्त्र कमजोर देखिएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । ‘कि कालोबजारीलाई कानुनी दायरामा लेउ, नभए सरकारी कम्पनीमार्फत बजार हस्तक्षेप गर सरकारी निकाय किन उदासीन भएको ?’ तिमिल्सिनाले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment