Comments Add Comment

जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँसहित ३८ जनामा कोरोना परीक्षण हुँदै

१ वैशाख, वीरगञ्ज । तीन जना भारतीय जमातीमा कोभिड–१९ को संक्रमण पुष्टी भएपछि वीरगञ्जमा शंकास्पद व्यक्तिको परीक्षणलाई तिब्रता दिइएको छ । संक्रमित व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ सँगसँगै शंकास्पद व्यक्तिहरुको परीक्षणमा तिब्रता दिइएको हो ।

सोमबार पर्सामा ३८ जनाको थ्रोट स्वाब संकलन गरेर पठाइएको छ । जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँको समेत थ्रोट स्वाब संकलन गरिएको छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिले मियाँलाई भेटेको हुन सक्ने आशंकामा थ्रोट स्वाब लिइएको हो ।

अध्यक्ष जालिम मियाँसँगै परिवारका १९ जना, कलवार कल्याण समिति स्थित क्वारेन्टाईनमा राखिएका १० जना र सिद्धार्थ स्कुल क्वारेन्टाइनका ९ जना गरी ३८ जनाको थ्रोट स्वाब कलेक्सन गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । उनीहरुको थ्रोट स्वाब परीक्षणका लागि प्रयोगशाला पठाउने तयारी भइरहेको छ ।

जगरनाथपुर गाउँपालिकाबाट जमाति समूहका १५ जनालाई केही दिन अघि अध्यक्ष मियाँकै सवारीमा राखेर वीरगञ्ज ल्याइएको थियो । पर्सा, बाराबाट नियन्त्रणमा लिएका जमातीमध्ये बारा, रौतहट र सप्तरी घर भएका ३६ जनालाई घर पठाइएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले संक्रमितको सम्पर्कमा नरहेपनि अन्य जमातीको सम्पर्कमा रहेका कारण अध्यक्ष मियाँको थ्रोट स्वाव संकलन गरिएको जानकारी दिए ।

‘संक्रमित व्यक्ति मुस्लिम समुदायकै जमाती हुन्, जगरनाथपुर गाउँपालिकाका जालिम मियाँको गाडीमा १५ जना जमातीलाई राखेर ल्याइएको थियो’ उनले भने ‘त्यसैले थ्रोट स्वाब कलेक्सन गरेर परीक्षणका लागि पठाएका छौं । सबैलाई होम क्वारेन्टाइनमै रहन भनेका छौं ।’

संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई सिद्धार्थ स्कुल र कलवार कल्याण समितिस्थित क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राख्नुपर्ने व्यक्तिको संख्या बढ्दै गएपछि कलवार कल्याण समितिमा ५४ बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ । प्रशासनले दिएको जानकारी अनुसार १७ जना महिला सहित १ सय ३६ जना क्वारेन्टाइनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment