Comments Add Comment

कोरोनाको प्रभाव अध्ययन गर्न गणेशमान सिंह प्रतिष्ठानले बनायो समिति

नविन्द्रराज जोशी, अध्यक्ष, गणेशमान सिंह अध्ययन प्रतिष्ठान

२ बैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा परेको असर विश्लेषण गरी आर्थिक प्रवर्द्धनको प्याकेज ल्याउन सरकारलाई सुझाव दिने उद्देश्यले गणेशमान सिंह अध्ययन प्रतिष्ठानले एक अध्ययन समिति गठन गरेको छ ।

अध्ययन समितिमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु पृथ्वीराज लिगल, डा. जगदिश चन्द्र पोख्रेल, प्रा. डा. गोविन्दराज पोख्रेल र डा. स्वर्णिम वाग्ले छन् ।

यसैगरी राष्ट्रिय योजना आयोगका पूर्वसदस्यद्वय प्रा.डा. पुष्कर बज्राचार्य र डा. अरविन्द मिश्र, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. विजया श्रेष्ठ, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका सदस्य डा. दधि अधिकारी, नेपाल ट्रेड यूनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष महेन्द्र यादव र भक्तपुर बहुमुखी क्याम्पसको उपप्राध्यापक वसन्ती आचार्य पनि अध्ययन समितिमा छन् । समितिको सदस्य सचिवमा डा. अधिकारीलाई चयन गरिएको छ ।

अध्ययन समितिका अध्यक्षले समितिका सदस्यहरुको सल्लाहमा आवश्यक्ता अनुसार नयाँ सदस्य तथा सल्लाहकार थप्न सक्ने प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैशाख १ गतेदेखि काम सुरु गरेको यो समितिले यो ३ हप्ताभित्र अध्ययन समाप्त गर्ने लक्ष्य राखेको छ । यो समितिले नेपालमा कोरोना संक्रमणको कारणले सबैभन्दा बढी असर परेका भौगोलक क्षेत्र तथा सबैभन्दा बढी पीडित जनसमुदायको पहिचान गरी आगामी आर्थिक कार्यदिशाका बारेमा अध्ययन गरेर सुझाव पेश गर्ने छ ।

यसरी प्रस्तुत गरिएको सुझाव, समितिको निर्णय अनुसार समितिका सदस्यहरुको उपस्थितिमा नेपाल सरकार तथा प्रमुख प्रतिपक्षी पार्टी समक्ष पेश गर्ने छ । यसका साथै यो अध्ययनको प्रतिवेदन नेपाली कांग्रेस पार्टीमा प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले औपचारिक रुपमा दर्ता गराउने छन् ।

अध्ययनलाई प्रभावकारी बनाउनका लागि समितीलाई सहयोग, सल्लाह र सुझाव दिन सकिने छ । सल्लाह सुझावका लागि प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीको मोबाइल नम्बर ९८५१०३२०९७ र प्रतिष्ठानका सदस्य डा. दधि अधिकारीको मोबाइल नम्बर ९८६३३२९०४० मा सम्पर्क गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment