Comments Add Comment

बन्दाबन्दीमा रोकिएन पशुपति सफाइ

२ वैशाख, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीले धेरै कामलाई प्रभावित गरे पनि पशुपति मूल मन्दिर क्षेत्रको सफाइ भने जारी छ ।

विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीले आराध्यदेवका रूपमा पुज्ने पशुपतिमा ‘खेम्स क्लिनिङ’ले तीन वर्षअघिदेखि सफाइ सुरु गरेको थियो । यो सफाइ अभियान सुरु भएपछि विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र सफा देखिन थालेको छ । सफाइपछि पशुपति क्षेत्रमा धार्मिक पर्यटकको सङ्ख्यासमेत बढेको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल कोरोना फैलन नदिन भक्तजनलाई प्रवेश निषेध गरिए पनि परेवाको कारण फोहोर बढेकाले सफाइ अभियान जारी राखेको बताउँछन् । कुचो लगाउने, पानी हाल्ने, पुछ्ने काममा सफाइकर्मी सक्रिय हुने गरेका छन् ।

बन्दाबन्दी भए पनि दैनिक १५ जना सफाइकर्मी पशुपतिमा खटिएको खेम्स क्लिनिङका स्थलगत अधिकृत नवराज भट्टराईले जानकारी दिए ।

सफाइपछि कोभिड १९ भाइरसबाट बच्न २५ लिटर पानीमा एक ट्याब्लेट ‘क्लोरोसेट’ हाली छर्कने गरिएको छ । यस्तो पानी छर्किएपछि छ घण्टासम्म कोरोनाका किटाणु आउन नसक्ने प्रयोगशालामा प्रमाणित भएको उनले सुनाए ।

खेम्स क्लिनिङले त्रिपुरेश्वरको नेपाल आँखा अस्पताल, सुकेधाराको ह्याम्स अस्पताल, ग्वार्कोको किस्ट अस्पताल र भारतीय राजदूतावासमा पनि सफाइ जारी राखेको जनाएको छ । यी अस्पतालमा सफा गर्नेलाई भने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) पनि दिइएको छ । अस्पतालमा कोरोनाका भाइरसका बिरामी पनि आउन सक्ने भएकाले सुरक्षा सामग्री दिइएको हो ।

सफाइ नहुँदा कोरोनालगायत विभिन्न रोगको सङ्क्रमण फैलन सक्ने भएकाले घर घरमा पनि सफाइ गर्न चाहनेले खबर गरेमा सेवा दिइने गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment