Comments Add Comment

शैली थिएटरले ‘बाल कविता महोत्सव’ आयोजना गर्ने

काठमाडौं । शैली थिएटरको आयोजनामा पहिलो ‘राष्ट्रिय बाल कविता महोत्सव-२०७७’ आयोजना हुने भएको छ । इसानको सहकार्यमा आयोजित यस महोत्सवमा विद्यालय स्तरका विद्यार्थीहरुले मात्र सहभागिता जनाउने पाउनेछन् । जसमा २०७६ मा एसईई दिने विद्यार्थी वा सोभन्दा तल्लो कक्षामा अध्ययनरत विद्यार्थीमात्रै सहभागी हुन पाउने भएका हुन् ।

महोत्सवकी संयोजक सरस्वती अधिकारीमा अनुसार विद्यार्थीले जुनसुकै विषयमा पनि कविता तयार गर्न पाउनेछन् । उनले भनिन्, ‘राष्ट्रियतामा आँच आउने खालको विषयबस्तु भयो भने हामीले उक्त कवितालाई छनोट गर्ने छैनौँ । बाँकी जुनसुकै विषयमा पनि कविता तयार गर्न सकिनेछ ।’

कविता नेपाली भाषामा लेखिएको गद्य वा पद्य जुनसुकै पनि मान्य हुने अधिकारीले बताइन् । विद्यार्थीहरुले बैशाख १ गतेदेखि १० गतेभित्र कविता पठाउनु पर्नेछ । कविता शैली थिएटरको फेसबुक तथा मेलमा मेल गर्न सकिनेछ ।

कविता पठाउँदा लिखित तथा वाचन गरेको भिडियो समेत पठाउनु पर्नेछ । भिडियो तीनदेखि चार मिनेट लामो हुनुपर्ने बताइएको छ । भिडियोको गुणस्तरले कुनै असर गर्नेछैन ।

महोत्सव निर्देशक नवराज बुढाथोकीका अनुसार यस महोत्सव हरेक वर्ष आयोजना गर्ने तयारी भइरहेको छ । निर्देशक बुढाथोकीले भने, ‘शैली थिएटरले हरेक वर्ष बाल नाटक महोत्सव आयोजना गर्दै आएको अवगत नै छ । अब हामीले बाल कविता महोत्सवलाई पनि निरन्तरता दिनेछौँ ।’

निर्णायक र दर्शकको भोटका अनुसार उत्कृष्ट कविताको छनोट गरिने निर्देशक बुढाथोकीले जानकारी दिए । उत्कृष्ट भएका पाँच कवितालाई पुरस्कृत गरिने उनको भनाइ छ । उत्कृष्ट २० कवितालाई राष्ट्रिय बाल नाटक महोत्सवमा वाचन गर्ने व्यवस्था गरिने बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment