Comments Add Comment

हेटौंडामा ११ जना आइसोलेसनमा

४ वैशाख हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमणको शंकास्पद व्यक्ति आइसोलेसनमा राखिएका छन् ।

हेटौंडा उपमहानगरपालिका–४ कर्राको श्रमिक माविमा रहेको कोरोना आइसोलेसन वार्डमा ११ जना भर्ना भएका हुन् । भर्ना हुनेमा मकवानपुरको वागमती गाउँपालिकाका एकजना, भीमफेदी गाउँपालिकाका तीनजना, प्युठान घर भई हेटौंडा बस्ने एकजना र बाँकी हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।

कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौंलागाईको अनुसार हेटौंडा ५ सानोपोखराका दुई पुरुष काठमाडौंबाट आएका थिए भने प्युठान घर भएका ब्यक्ति दक्षिण कोरियाबाट फर्केकाहरु संगै बसेका थिए ।

त्यसैगरी वागमती गाउँपालिकाका व्यक्ति पनि विदेशबाट आएकाको सम्पर्कमा बसेका, भीमफेदीका दुवैजना दक्षिण कोरियाबाट, हेटौंडा १६ का व्यक्ति पनि दक्षिण कोरियाबाट, हेटौंडा १४ का भारतबाट, हेटौंडा ३ का कतारबाट आएका ब्यक्ति हुन् ।

हेटौंडा १८ का ब्यक्ति भने पोखराबाट आएका हुन् । उनीहरु सबैको स्वाब परिक्षणको लागि हेटौँडामा रहेको प्रयोगशाला पठाइएको चौंलागाईले बताए ।

र्‍यापिड टेस्ट धमाधम

वागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) सुरु गरेको छ । पहिलो चरणमा क्वारेन्टाइनमा बसिरहेकाहरूको परीक्षण भइरहेको छ । पहिलो चरणमा ४ हजार ३ सय जनाको टेस्ट गरिने प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले जानकारी दिए ।

पहिलो चरणमा सबैभन्दा बढी चितवनमा सात सय जनाको र्‍यापिड टेस्ट गरिने भएको छ । यसैगरी सिन्धुपाल्चोक र ललितपुरमा चार/चार सय, काठमाडौं, रामेछाप, दोलखा, सिन्धुली काभ्रे, धादिङ, नुवाकोट, मकवानपुरमा तीन÷तीन सय तथा भक्तपुर र रसुवामा दुई/दुई सयको परीक्षण हुनेछ ।

क्वारेन्टाइनमा ६ सय

वागमती प्रदेशभर हाल ६ सयभन्दा बढी व्यक्ति क्वारेन्टाइनमा छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार चितवनमा करिब ५ सयसहित विभिन्न जिल्लामा गरेर ६ सय भन्दा बढी मानिसहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
मन्त्रालयका अनुसार प्रदेशभर हालसम्म ३४ सय ७९ क्वारेन्टाइन बेड रहेको र १ हजार ४७ वटा थप्ने तयारी हुँदै छ । हालसम्म प्रदेशभर ९ सय ४५ आइसोलेसन बेड छन भने १ सय ७४ वटा थपिँदै छन् ।

सबैभन्दा बढी क्वारेन्टाइन धादिङमा निर्माण भएको छ । धादिङमा ५ सय १२, सिन्धुपाल्चोकमा ४ सय ३६, चितवनमा ३ सय बेड छन् । त्यस्तै आइसोलेसन बेड चितवनमा २ सय ९९, काठमाडौंमा १ सय ८५, ललितपुरमा १ सय २५, भक्तपुरमा ९१, दोलखामा ४१, रसुवा र मकवानपुरमा ३५ र ३५ वटा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै वागमती प्रदेशभर हालसम्म ४ सय ७५ वटा आईसीयु सुविधासहितको बेड तयार भएका छन् । यस्तै वागमती प्रदेशको राजधानी हेटौंडा, चितवन, काभ्रे तथा उपत्यकाभित्र कोरोना टेस्ट गर्ने पीसीआर मेसिनसमेत सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment