Comments Add Comment

कोरोना भाइरस : जन्मदिनको पार्टी जुन घातक बन्यो

५ वैशाख, काठमाडौं । ब्राजिलमा एक पारिवारिक उत्सव शोकमा परिणत भएको छ । जन्मदिनको (बर्थ-डे) पार्टीमा सहभागीमध्ये तीन जनाको मृत्यु हुनुका साथै १० जनामा कोरोना संक्रमण फेला परेपछि पारिवारिक उत्सव शोकमा परिणत भएको हो ।

बर्थ-डेमा सहभागी कसैले पनि यस्तो हुन्छ भनेर अपेक्षा गरेका थिएनन् । तर, बर्थ-डे पार्टीको दुई हप्ता भित्र धेरै व्यक्ति बिरामी भए । पार्टीमा सहभागी अधिकांश कोरोना भाइरस संक्रमणको सन्दिग्ध रुपमा देखिएका छन् ।

ब्राजिलको साओ पाउलोमा जन्मदिनको भोजमा भाग लिने २८ जनामध्ये तीनको मृत्यु भएको छ भने बाँकी सदस्यहरूको जीवन खतरामा परेको छ । मृत्यु भइसकेका तीनै जना एकै परिवारका थिए ।

यद्यपि स्थानीय प्रशासनले कोरोना भाइरसको संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको स्वीकारेको छ ।

तीन हप्तामा आँकडामा उछाल

साउ पाउलोको इटापेर्सिया डे सेरा क्षेत्रमा १३ मार्चमा यो बर्थ-डे पार्टी आयोजना गरिएको थियो । ब्राजिलको स्वास्थ्य मन्त्रालयकाअनुसार उक्त दिनसम्ममा ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या ९८ जना थियो । त्यसबेलासम्म कोभिड १९ का कारण कसैको पनि मृत्यु भएको पुष्टि थिएन ।

ब्राजिलमा कोरोना संक्रमणको करिब ६० प्रतिशत घटना साओ पाउलोमा पाइएको छ । दुई करोडभन्दा बढी मानिस रहेको यो सहर संसारकै सबैभन्दा घना जनसंख्या भएको सहर मानिन्छ । उक्त घटनाको झन्डै तीन हप्तापछि अप्रिल ८ सम्म ब्राजिलमा कोरोना भाइरस संक्रमित संख्या करिब १६ हजार पार भइसकेको थियो भने आठ सय जनाले ज्यान गुमाइसकेका थिए ।

कोरोना भाइरस महामारी ब्राजिलमा पुगिसकेको कुरा वेरा लुसिया परेरालाई थाहा थियो । आफ्नो देशमा पनि यो भाइरस फैलिरहेको कुरामा उनी जानकार नै थिइन् । उनले आफ्नो ५९ औं जन्मदिनको पार्टी रद्द गर्ने सोच समेत बनाएकी थिइन् ।

वेरा लुसिया परेराले बीबीसीलाई भनिन्, ‘हाम्रो मनमा सन्देह थियो । तर पनि पार्टी मनाउने निर्णय गर्‍यौँ । त्यसबेलासम्म देशमा कोरोना संक्रमणको घटना त्यति आएको थिएन । त्यसबेलसम्म ब्राजिलमा लकडाउन लागु पनि गरिएको थिएन ।’

बर्थ-डेमा २८ जना सहभागी थिए

वेरा लुसियाको जन्मदिनको भोज उनको घरको लनमा आयोजना गरिएको थियो । जसमा परिवारका २८ जना मानिस भेला भएका थिए । भोजमा वेरा लुसियाका पति पाउलो भिएराका भाइबहिनीहरू पनि सहभागी भएका थिए । पाउलो, उनका भाइ क्लोभिस र बहिनी मारियाले बर्थडे पार्टी निकै रमाइलो साथ मनाएका थिए । तीनै जनालाई कोभिड-१९ बाट मारिनेछ भन्ने कुरा थाहा थिएन ।

वेरा लुसियाका बहिनी पनि भोजमा सामेल भएकी थिइन् । लुसिया र पाउलोका भतिजाहरूले पनि यसमा भाग लिएका थिए । भोजको केही दिन पछि आधाभन्दा बढी पाहुनाहरू बिरामी परे । बिरामीहरुमा खोकी, ज्वरो र श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखा परे । यी सबै लक्षणहरू कोरोना भाइरसको संक्रमणपछि देखिने लक्षणहरु थिए । तिनीहरूमध्ये धेरैलाई हल्का लक्षणहरू देखा परेका थिए। जसलाई धेरै उपचार सेवाको आवश्यक पर्दैन थियो ।

आक्रमण गर्ने भाइरस

वेरा लुसियाका पति पाउलो, उनको भाइ र बहिनीको मृत्यु संक्रमण देखा परेको एक हप्ताभित्र भएको थियो । प्रशासनले मारियाको मृत्यु कोभिड-१९ का कारण भएको बताएको छ ।
मारियाकी छोरी राफिलाले बीबीसीलाई भनिन्, ‘अब हामी विश्वस्त छौँ कि मेरी आमा कोरोना भाइरसको कारण मर्नुभयो । यसले यो भाइरस कत्तिको आक्रामक छ भनेर देखाउँछ । मेरी आमालाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर, पनि चिकित्सकहरूले उहाँलाई बचाउन सकेनन् ।’

मारिया मधुमेहकी बिरामी थिइन् । संक्रमणपछि उनको अवस्था द्रुत गतिमा बिग्रिँदै गयो । वेरा लुसियाको परिवार पाउलो र क्लोभिसको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । वेरा लुसिया भन्छिन्, ‘उनका उपचार गर्ने डाक्टरहरू ९९ प्रतिशत विश्वस्त छन् कि उनीहरुको मृत्यु कोभिड १९ का कारण भएको थियो ।’

छोरा बचे …

वेरा लुसिया र उनको छोरालाई कोरोना संक्रमणको लक्षण देखिएको छ। तर, दुवै जनाको स्वास्थ्य अवस्था अहिले राम्रै छ । वेरा भन्छिन्, ‘शारीरिक हिसाबले म सञ्चै छु । तर यो एकदमै गाह्रो अवस्था हो । हामी डरको छायामा बाँचिरहेका छौँ।’

‘सुरुमा, परिवारका सदस्यहरूले कोरोना भाइरसबाट संक्रमित भएको भनेर विश्वास नै गरेनन्,’ संक्रमणपछि ठिक भएका परिवारका एक सदस्यले भने, ‘त्यस समयसम्म ब्राजिलमा कोरोना संक्रमणको थोरै घटनाहरू मात्रै बाहिर आएका थिए । त्यसैले हामीलाई लाग्यो, कोरोना भाइरस हामीसम्म आइपुग्न लामो दुरीको यात्रा गर्नुपर्नेछ ।’
उनी भन्छन्, ‘भोजमा सामेल हुँदा परिवारका सबै सदस्यहरू स्वस्थ नै थिए । हामीमध्ये पहिला कसलाई संक्रमण भएको थियो भन्ने बारे हामी कसैलाई पनि थाहा छैन । यदि थाहा भए पनि हाम्रो लागि के नै परिवर्तन हुन सक्छ र ?’

मारियाको मृत्युपछि ६२ वर्षीय अर्को भाइ क्लोभिसको स्वास्थ्य अवस्था बिग्रन थाल्यो । क्लोभिसका छोरा आर्थरले बीबीसीलाई भने, ‘भोजको तीन दिन पछि बुबाको खोकी बढेको थियो । टाउको दुख्नुका साथै उहाँलाई ज्वरो पनि आएको थियो । गन्ध र स्वाद लिने क्षमता समेत उहाँमा हराइसकेको थियो ।’

इन्टेसिभ केयर युनिट
मारिया जस्तो क्लोभिसलाई पहिले कुनै पनि रोग थिएन । तर, यसको बाबजुद पनि उनले अप्ठ्यारो महसुस गरिरहे । आर्थरले आफ्नो बुबालाई २३ मार्चमा अस्पताल लगेका थियो । तर, अस्पतालले त्यहाँबाट फिर्ता पठाइदियो । आर्थर भन्छन्, ‘डाक्टरहरूले सोचेका पनि थिएनन् कि यो कोरोना संक्रमण हुन सक्छ ।’

क्लोभिस बिरामी परिसकेपछि वेरा लुसियाको पति पाउलोको पनि स्वास्थ्य अवस्था बिग्रन गयो । उनलाई अस्पताल लगियो । परिवारका दाजुभाइ दिदीबहिनीहरूको भन्दा पाउलोको स्वस्थ अवस्था धेरै राम्रो मानिन्थ्यो । उनले शारीरिक परिश्रम पनि धेरै गर्थे। जब पाउलो अस्पताल पुगे, उनी तुलनात्मक रूपमा राम्रो थिए । तर, उनलाई श्वास फेर्न भने गाह्रो भइरहेको थियो । वेरा लुसिया सम्झन्छिन्, ‘तर, दुई दिनपछि, पाउलोलाई सघन कक्षमा लगियो ।’

क्लोभिस र पाउलो आफ्नो व्यक्तिगत जीवनमा एक अर्काको नजिक थिए। मृत्युको समयमा पनि तिनीहरूले एक अर्कालाई छाडेनन् । आईसीयूमा पनि तिनीहरूको ओछ्यान एक अर्कोको छेउमै थिए । दुवै जनाको मृत्यु कोरोना भाइरसका कारण भएको चिकित्सकहरु बताउँछन् ।

अन्त्येष्टिमा प्रतिबन्ध
पहिलो अप्रिलमा मारियालाई हृदयघात भयो र उनी निको हुन सकिनन् । क्लोभिसको मृत्यु अघिल्लो दिन भयो भने पाउलोले अप्रिल ३ मा संसारलाई अलविदा भने । ब्राजिलमा कोभिड-१९ को मामलामा निगरानी राख्न बनेको सरकारी एजेन्सीको सल्लाह अनुसार मारिया र पाउलोको शवलाई सिलबन्दी ताबुतमा गाडियो ।

क्लोभिसको अन्तिम संस्कार उनको इच्छा अनुसार गरियो । तीन जनाको अन्तिम संस्कार बेग्लाबेग्लै दिनमा गरिएको थियो । अन्तिम संस्कार केही मिनेटको फरकमा गरियो । सरकारी निर्देशन अनुसार अन्तिम संस्कारमा १० जनाभन्दा बढी मानिस भेला भएका थिएनन् ।

क्वारेन्टाइनको जिन्दगी

१३ मार्चको बर्थ-डे पार्टीमा सहभागी भई बाँचेकाहरु अहिले आइसोलेसनमा छन् । उनीहरुको स्वास्थ्य अवस्था केही खराब थियो । तर, अहिले उनीहरू ठिक भइसकेका छन् ।

तर, सावधानी अपनाउन सबैले क्वारेन्टाइनमा बस्ने निर्णय गरेका छन् । उनीहरूले मानिसहरूलाई घरमै बस्न अपिल गरिरहेका छन् । मारियाकी छोरी राफिला भन्छिन्, ‘यो रुघाखोकी होइन, महामारी हो । यो एकदम डरलाग्दो र बर्बर भाइरस हो ।’
ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले विवादास्पद सामाजिक दुरीका नियमहरूको अवहेलना गर्दैछन् । कोभिड १९ को महामारीको गम्भीरतामाथि प्रश्न गर्दै उनले यसलाई ’माइनर फ्लू’ भनेका छन् । वेरा लुसिया राष्ट्रपति बोलसोनारोको भनाइबाट चकित भएकी छन् । उनी भन्छिन्, ‘बोलससोनारो बकबक कुरा गर्दैछन् । ऊ जिम्मेवार स्थानमा छ र उसको जिम्मेवारीबारे सचेत हुनुपर्दछ ।’

वेरा लुसियाका लागि यस समयमा जीवनको सबैभन्दा ठूलो चुनौती भनेको पाउलोविना जीवनको गाडी अगाडि बढाउनु हो । उनी भन्छिन्, ‘जीवन चलिरहन्छ, तर हाम्रो परिवारलाई जस्तो अरू कसैले पनि भोग्नु नपरोस् ।’

स्रोतः बीबीसी हिन्दी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment