Comments Add Comment

पोखरामा लकडाउन : मर्निङवाक गर्नेदेखि कुकुर डुलाउनेसम्म

६ वैशाख, पोखरा । केही दिन पोखराको न्युरोडमा दुई युवती कुकुर डोर्‍याउँदै घरबाट बाहिर निस्किए । साँझको समयमा त्यसमा पनि लकडाउको समयमा खुलमखुला त्यसरी कुकुर डोर्‍याउँदै हिँडेको देखेपछि प्रहरीले सम्झाउँदै घर पठायो ।

सोही दिन माटेपानी क्षेत्रमा एकहुल मान्छे कुकुर लिएर सडकमा निस्किएको देखियो । तर, त्यहाँ अघिल्लो घटनाजस्तो प्रहरीको उपस्थिति नभएकाले उनीहरुलाई सम्झाउने बुझाउने कोही थिएनन् । निर्धक्क कुकुर डुलाए । घर फर्किए ।

यी दृश्य पोखरामा लकडाउन उल्लङ्घन हुँदै आएको प्रतिनिधि घटनामात्रै हुन् । जब साँझ हुन्छ मान्छेहरु हुल बाँधेरै सडकमा निस्कने गरेका छन् । प्रहरी आउँदा लुक्ने र अन्य समयमा चोकमै बसेर गफ लगाउँदै बस्ने गरेका छन् ।

लकडाउन उल्लङ्घन प्रायः साँझको समय हुने गरेको स्थानीयले नै गुनासो गर्न थालेका छन् । पोखरा न्युरोड निवासी तारा कोइराला भन्छन्, ‘दिउँसो खासै मान्छे देखिँदैनन् । तर, साँझ परेपछि सडकमा गफ लगाउँदै हिँड्छन् । दुरी त परको कुरा अंगालो हालेर हिँडेको देख्न सकिन्छ ।’

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउनका कारण अहिले हरेक गतिविधि ठप्प छ । र, सरकारले विभिन्न माध्यमबाट ‘घरमै बसिदिन आग्रह’ गरेको छ।

तर, पोखराका जनता स्वयंले भने लकडाउनको उल्लङ्घन गर्दै बाहिरिरहेका छन् । कोही कुकुर डुलाउँदै हिँडेको देख्न सकिन्छ भने कुनै मर्निङवाकमा । पोखरामा मर्निङ वाकमा निस्कने एकैदिन शुक्रबारमात्रै तीन सय ९२ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले कारबाही गरेको छ ।

‘गुनासो दिनदिनै आउन थाल्यो । प्रहरी आउने बेलामात्रै लुक्ने र अरुबेला बाहिर निस्कने गतिविधि बढ्न थालेपछि कारबाही पनि बढाएका छौँ,’ जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी दानबहादुर कार्कीले अनलाइनखबरसँग भने, ‘यो आग्रह उहाँहरुकै स्वास्थ्यका लागि हो । नागरिकस्तरबाटै बुझ्न जरुरी छ ।’ पक्राउ परेकालाई सार्वजनिक सचेतासहित छाड्ने गरिएको उनले सुनाए।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट शुक्रबारमात्रै लकडाउन उल्लङ्घन गर्ने ३४ वटा गाडी, एक सय नौ वटा सवारीसाधन पास दुरुपयोग गरेकोमा कारबाहीमा परेका छन् । ‘आजमात्रै विभिन्न आरोपमा पाँच सयभन्दा धेरैलाई कारबाही गरेका छौँ,’ एसपी कार्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment