
७ वैशाख, पोखरा । पोखराको शान्तिनगर बैंक्युटमा बिहानैदेखि चहल पहल छ । १० बजेभन्दा अघि नै २ सय ४६ जनालाई खाना तयार पार्नु छ ।
सुरक्षित प्याकेजिङ गर्नु छ । गाडीमा राखेर ‘होम डेलिभरी’ गर्नुछ । करिब १५ जनाको संख्यामा रहेका यहाँका कामदारलाई खाना प्याकेटमा राख्न भ्याइनभ्याइ छ ।
बेंक्युटमा त्यसरी खाना पकाउँदै प्याकेटमा प्याकेजिङ गर्दै गरेको समूह हो, पैरवी स्वयंसेवी समूह । पाकिरहेको खाना विपन्न मजदुर वर्गलाई हो, जो लकडाउनको प्रत्यक्ष मारमा छन् । उनीहरुको लक्ष्य छ, जसरी हुन्छ महानगर क्षेत्रका कोही भोकै नहुन् । घरमा चुल्हो नबले त के भो ? कोही भोकै नरहून्…।’
****
पोखरा ५ मालेपाटनका विष्णुप्रसाद बराल यही पौरखी समूहका अभियान्ता हुन् । उनी भन्छन्, ‘यो सोचेर विचारेर बनाएको संस्था वा समूह होइन । आवश्यकताले तत्कालका लागि खुलेको हो ।’
सुरुमा १० जना साथीभाइ मिलेर विपन्नलाई खाना पकाएर खुवाउने अभियान सुरु गरेको यो समूहमा अहिले १ दर्जनभन्दा बढी सहयोगी मन जोडिइसकेको छन् । ‘राम्रो काम गरे, राम्रै प्रतिक्रिया आउने रहेछ । २ दिनमै देशविदेशबाट सहयोग गर्ने वचन दिनु भएको छ,’ बरालले अनलाइनखबरसँग भने ।
सरकारले राहत बाँडेको तर, लकडाउन बढ्दै गएपछि आर्थिक विपन्न परिवारको भान्सा पनि रित्तिदै गएकाले आफूहरुले घरमै खाना पुर्याउने योजना बनाएको बरालले जानकारी दिए । ‘सरकारले राहत त दियो । तर, त्यो कति नै दिन पो पुग्ला र ?’ उनले भने, ‘त्यही भएर साथीभाइ मिलेर घरघरमै खाना पुर्याउन सुरु गरेका हौं ।’
पौरखी समूहले शनिबारमात्रै करिब ३ सय जनालाई खाना खुवाएको थियो । प्याकेटमा ३ सय ग्राम खाना, दाल, अचार र तरकारी हुने बरालले जानकारी दिए । ‘नियमानुसार २५० ग्राम खाना चाहिँदो रहेछ । तर, नेपालीले केही धेरै खाने भएकाले ३ सय ग्रामको व्यवस्था गरेका हौं,’ उनले भने ।
समूहले पोखरा शान्तिनगरस्थित पार्टी प्यालेसमा खाना पकाउन स्वीकृति लिएको छ । जहाँ दैनिक ४ सयभन्दा बढी जनाको खाना पाक्ने गरी व्यवस्था मिलाइएको छ । समूहका अर्का अभियन्ता विष्णु पौडेलले भने, ‘अति न्यून भाडामा यहाँ खाना पकाउने र यतैबाट डेलिभर गर्ने प्रशासनबाट स्वीकृति लिएका छौं । खाना पकाउँदै सुरक्षाका पूरै विधि अपनाउने गरेका छौं ।’
खाना घरघरमा पुर्याउन ३ वटा गाडी र २ वटा मोटरसाइकलको पास बनाएर प्रयोग भइरहेको पौडेलले बताए । ‘खाना पकाउन, प्याकेजिङ गर्न र डेलिभरी गर्न स्वयंसेवीहरु स्वतस्फूर्त खटिनु भएको छ । बिहानै आएर हामीलाई सहयोग गर्नुभएको छ,’ उनले भने ।
बाटोमा भेटिएका र भोकै रहने परिवारलाई आफूहरुले पहिलो प्राथमिकतामा राखेको अभियान्ता विष्णु पौडेलले जानकारी दिए । ‘बाटोमा माग्न बसेका, मानसिक अवस्था कमजोर भएका आदिलाई हामी आफैं दिँदै आएका छौं । अन्यले भने वडामार्फत सम्पर्क गर्नुहुन्छ,’ उनले भने ।
पहिलो दिन शनिबारमात्रै २ सय ६ जनालाई खाना खुवाएको र आइतबारमात्रै बिहान बेलुका गरेर करिब ६ सय जनालाई खाना खुवाउने समूहले जनाएको छ । ‘संख्या दिनदिनै बढ्ने देखिन्छ । बिहान खुवाएपछि साँझ पनि खुवाउनै पर्छ । जसरी हुन्छ हामी कोही नछुटून् भनेर लागिपरेका छौं,’ पौडेलले भने ।
प्रतिक्रिया 4