७ वैशाख, गोरखा । कोरोना भाइरसको महामारी र लकडाउनका कारण हुन सक्ने खाद्य संकटको जोखिम कम गर्न गोरखाको हिमाली क्षेत्रको धार्चे गाउँपालिकाले विशेष तयारी थालेको छ ।
उसले खाद्य संकट हुन नदिन चामलमा मात्र भर नपर्न गाउँपालिकावासीलाई आग्रह गरेको छ । ‘हाम्रो यहाँ धान खेती हुँदैन, तर मकै, कोदो, गौ, आलुजस्ता खाद्य बाली हुन्छन्। चामलको विकल्पमा यी खाद्य बालीहरू पनि प्रयोग गर्न सकिन्छ,’ गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने ।
उनले रक्सी पार्न कम गर्न पनि गाउँपालिकावासीलाई आग्रह गरेका छन् । ‘खाद्यान्न अभाव हुने दिन आउन सक्छ, रक्सी कम पार्यो भने खाद्यान्न बच्छ, त्यसैले सकेसम्म रक्सी नपार्न अनुरोध गर्छु,’ उनले भने । पालिकावासीलाई खेती किसानी तर्फ अग्रसर गराउन विभिन्न योजना ल्याउने समेत उनले बताए ।
धार्चेमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाले सहुलियत दरमा चामल र नुन उपलब्ध गराउदै आएको छ । माछाखोला डिपोमा रहेको मौज्दात चामलले एक महिनालाई पुग्ने पालिकाको अनुमान छ ।
‘लकडाउन लम्बिँदै जाने र भोलि यहाँको चामल पनि सकिने अनि बाहिरबाट पनि नआउने भयो भने समस्या हुन्छ, त्यसैले त्यसलाई मध्यनजर गर्दै हामीले खाद्यको लगत संकलन गर्ने योजना बनाएका हौँ,’ उनले भने ।
तथ्यांक संकलन गरिने
पालिकाभर उत्पादन हुने खाद्यबालीको लगत संकलन गर्ने तयारी भइरहेको अध्यक्ष गुरुङले बताए ।
‘पालिकाको कृषि शाखामार्फत वडाका जनप्रतिनिधिसँग समन्वय गरेर तथ्यांक संकलन गर्छाैँ,’ उनले भने, ‘त्यसबाट खाद्यान्न कति छ, कति समयलाई पुग्छ, कसको घरमा अन्न धेरै छ कसको घरमा चुलो बलेको छैन सबै थाहा हुन्छ ।’
तथ्यांक संकलन भएपछि जसको घरमा अन्न नभएर चुलो बलेको छैन उनीहरूलाई खाद्यान्न दिनेर त्यसबापत उनीहरूलाई विकास निर्माणको काममा श्रमदान गराउने अध्यक्ष गुरुङले बताए ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4