काठमाडौं । अहिलेकी चर्चित ‘कन्टेन्ट क्रिएटर’ सुजाता श्रेष्ठले काम गराएर पारिश्रमिक नदिने ब्रान्डहरूप्रति गुनासो गरेकी छन् । सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनी ती ब्रान्डप्रति खनिएकी छन् ।
आफूजस्ता स्वतन्त्ररुपमा सामाजिक सञ्जालमा कन्टेन्ट क्रिएसन गर्दै आएका व्यवसायिक ब्रान्डले हेपाहा व्यवहार प्रदर्शन गरेको गुनासो उनको छ । आफूमात्र होइन, अन्य कन्टेन्ट क्रिएटरप्रति पनि ब्रान्डले यस्तै व्यवहार प्रदर्शन गरेको उनको आरोप छ ।
हैरानीको कारण मानिस देश छाड्न बाध्य हुने उनको भनाइ छ । ‘स्वतन्त्ररुपमा काम गर्दा पनि पेमेन्टकै कुरामा किचकिच परिराख्या हुन्थ्यो । अहिलेसम्म पनि पेमेन्टकै कुरामा किचकिच भैराख्या छ । म फ्रस्टेटेड भैसकेँ । यस्तै कुराले सबैकुरा छाड्न मन लाग्छ । बरु बाहिर नै जान्छु म जस्तो फिल भैराखेको छ मलाई’ उनले भनेकी छन् ।
ब्रान्डले हेपेको बताउँदै उनी भन्छिन्, ‘फ्रिलान्सर्सहरूलाई कति साह्रो हेपेको हो क्या यो ब्रान्डहरूले ? कति साह्रो हेपेको हो भन्या ? काम गराउने बेलामा काम गराउँछ । यो भएन, त्यो भएन भनेर कराइराखेको हुन्छ । यो एडिट गर्नुपर्यो, त्यो एडिट गर्नुपर्यो । हाई इन्गेजमेन्ट भएको टाइममा पोस्ट गर्नुपर्यो भनेर कराउँछ । तर, पेमेन्ट दिने कुरामा ओ माई गड ।’
काम गराएका ब्रान्डले तत्काल भुक्तानी दिनुपर्ने उनको भनाइ छ । भन्छिन्, ‘मार्केटिङको लागि पैसा छुट्टाएको हुनाले त तिमीहरूले क्याम्पेन स्टार्ट गरेको होला हैन ? त्यो मार्केटिङको पैसा देऊ न किनभने तिम्रो मार्केटिङ भैसक्यो के । हामीले काम गरिसक्यौं । अब तिमीले तुरुन्त पैसा दिनुपर्छ ।’
आफूजस्ता फ्रिलान्सर कन्टेन्ट क्रिएटर सबैजनालाई यस्तै समस्या भैरहेको उनको गुनासो छ । ‘मलाई मात्र यस्तो हुन्छ कि सबैजनालाई ? मलाई सबैजनाले हेपिरा’को जस्तो फिल भएको छ के ।’
कतिपय ब्रान्डले समयमै भुक्तानी गरेको र आफूको यो गुनासो सबैप्रति लक्षित नरहेको पनि उनले उल्लेख गरेकी छन् । ‘सबै ब्रान्डलाई भनेको होइन, उहाँहरूले एड्भान्स पेमेन्ट गर्नुहुन्छ तर अरु ब्रान्डसँग ४/५ महिना भैसक्यो भने कतिजनासँग एक वर्ष भैसक्यो के, पैसा नदिएको, पेमेन्ट नगरेको । यो सरकार के गरिराख्या छ ?’
सुजाताले केही टिभी कार्यक्रम होस्ट गर्दै आएकी छन् भने, उनले ‘जिन्दगी रक्स’ नामक फिल्म निर्माण पनि गरेकी थिइन् । यसबाहेक, उनी सामाजिक सञ्जालका लागि स्वतन्त्ररुपमा कन्टेन्ट क्रिएसन गर्दै र ब्रान्ड प्रवर्धन पनि गर्दै आएकी छन् ।
प्रतिक्रिया 4