Comments Add Comment

कटहरीको तरकारीले बजार पायो, अब विराटनगरमा बेचिने

८ वैशाख, विराटनगर । लकडाउनपछि बिक्री बन्द भएको मोरङ कटहरी गाउँपालिकाको तरकारी सोमबारदेखि विराटनगरमा बिक्री हुन थालेको छ । कृषि सहकारी संघले प्रदेश १ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसंगको छलफलपछि कटहरीको तरकारी विराटनगरमा बिक्री गर्ने व्यवस्था मिलाएको हो ।

संघका कोषाध्यक्ष राकेश दाहालले मन्त्रालयसंगको छलफलपछि तरकारी तथा फलफुल बजारमा तरकारी भण्डारण गर्ने र कृषकले दुईवटा मोबाइल भ्यान प्रयोग गरी विराटनगर बजारक्षेत्रमा बिक्री गर्न व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले कटहरीबाट सोमबारदेखि दैनिक एक ट्रक तरकारी विराटनगर ल्याइने बताए । प्रधानमन्त्री कृषि परियाजना अन्तर्गतको कटहरीको तरकारी ब्लकमा अहिले करिव १० ट्रक तरकारी बजार ल्याउन मिल्ने अवस्थामा छ ।

प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत १ सय हेक्टर क्षेत्रफलमा कटहरीका १९० किसानले लगाएको टमाटर, भन्टा, बन्दा, सिमी, खुर्सानी र काउली बेच्न मिल्ने अवस्थामा छ ।
तरकारी ब्लकमा उत्पादित तरकारीको ब्यवस्थापनका लागि जिल्ला सहकारी संघका सहसचिव देबेन्द्र पौडेलको संयोजकत्वमा कृषि समूह र सहकारी सम्मिलित बजार व्यवस्थापन समिति निर्माण गरिएको छ ।

प्रधानमन्त्री कृषि परियोजना तरकारी ब्लकका अध्यक्ष रामउदय सिंहले बारीमा तरकारी संकलन सुरु गरिएको बताए । तरकारीलाई बजार पुर्‍याउन प्रदेश सरकार र जिल्ला सहकारी संघको व्यानर राखिएको सवारी साधन प्रयोग हुनेछ ।

‘लकडाउनपछि बारीमा उत्पादित तरकारी टिप्न नपाउँदा धेरै कुहिएर नोक्सानी ब्यहोरेकाहरुलाई केही राहत मिलेको छ,’अध्यक्ष सिंहले भने, ‘हामी पीडित किसानले ब्यहोरेको नोक्सानीलाई यसले केही हदसम्म भए पनि राहत महसुस गराउनेछ ।’

लकडाउनका कारण कटहरीका कृषकको बारीमा रहेको तरकारी बजारसम्म पुर्‍याउन नपाउँदा सयौं हेक्टरमा लगाएको तरकारी कुहिएर जाने अवस्थामा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment