Comments Add Comment
फोटो फिचर :

कोटेश्वरमा उर्लियो गाउँ फर्किनेहरूको भिड

९ वैशाख, काठमाडौं । लकडाउनका कारण धेरै मानिस घरमै छन् । तर, जडिबुटी क्षेत्रमा भने लकडाउन मात्र होइन, मुसलधारे पानीको पर्वाह नगरी मानिसहरू हातमा झोला बोकेर दौडधुप गरिरहेका छन् । उनीहरूमध्ये कतिपयले दुधे बच्चा काखी च्यापेका छन्, कतिपयले बालबालिका डोर्‍याइरहेका छन् ।

त्यही भिडमा रहेकी एक महिलाले छेउमा रहेका पुरुषलाई सोधिन्, ‘गाडी आउन त आउँछ नि ?

‘आउँछ, नआउने भए कि बोलाथ्यो त !’ पुरुषले जवाफ फर्काए ।

यो भिड गाउँ जाने गाडी पाइने सूचनाका आधारमा कोटेश्वर, जडिबुटी क्षेत्रमा पुगेकाहरूको हो । दुई वर्षे छोरा बोकेर त्यही भिडमा पुगेकी सुनिता थामी भन्दै थिइन्, ‘दोलखा हिँडेको, गाडी त आउँछ होला नि । आएन भने तनाव हुन्छ ।’

गाडी कतिबेला आउँछ भन्ने थाहा थिएन । तर, स्थानीय जनप्रतिनिधिले नै भनेकाले आउँछ होला भन्ने विश्वास थियो । ‘हामीलाई त वडाध्यक्षले जडिबुटीमा गाडी आउँछ, जानु भन्नुभएको हो, चरिकोटमा हरिबहादुर राईले अनलाइनखबरसँग भने, ‘साँझ ७ बजेसम्ममा आइपुग्छ भनेको हो, हामी चाँडो आइपुग्यौँ।’

दोलखाका सुवोध अधिकारीले आफूहरूलाई भीमेश्वर नगरपालिकाले उद्दार गरेर आफूहरूलाई गाउँ लैजान लागेको सुनाए । ‘हामीले अलपत्र पर्‍यौँ भनेर भनिरहेका थियौँ’ सुवोध भन्छन्, ‘सुरुमा सरकारले दिँदैन भने । अरुले पनि लैजान थालेपछि हिजो चाहिँ हाम्रा वडाध्यक्षले मेयरसँग कुरा गरेर गाडी पठाउनुभएको हो ।’

जडिबुटी क्षेत्रमा पुग्नेहरूमध्ये धेरैजसो दोलखा, सिन्धुपाल्चोक र रामेछापका मानिसहरू छन् । रोजगारी तथा अध्ययनका लागि काठमाडौंमा बस्दै आएका उनीहरू लकडाउन लम्बिएपछि घर फर्किन चाहन्थे । तर, गाडी नपाएर रोकिएका थिए ।

पछिल्लो दिनमा स्थानीय तह आफैँले उद्धार गर्ने वा समूह मिलाएर गाडी रिजर्भ गरेर जाने क्रम बढेको छ । कोटेश्वर तथा जडिबुटीमा भेटिएका विद्यार्थीहरूको एउटा समूह पनि यसरी आफैँ गाडी रिजर्भ गरेर गाउँ फर्किन लागेको भेटियो । एक विद्यार्थीले भनिन्, ‘पैसा कति लाग्छ भनेका छैनन्, तर पैसा तिरेर जाने हो ।’

मानिसहरूको एकाएक चहलपहल बढेपछि सुरक्षाकर्मी भने अन्यौलमा परे । कसले कसरी मानिसहरूलाई लैजान लागेको हो भन्ने उनीहरूलाई जानकारी छैन । ‘सोध्यो भने पनि भन्दैनन्, केही कागज पनि छैन’ त्यहाँ भेटिएका एक प्रहरी अधिकृतले भने, ‘धेरैजसो उद्धार होइन, भाडा तिरेरै जान लागेका रहेछन् । हामी पनि के गर्ने भनेर अन्यौलमा परेका छौँ ।’

सुरक्षाकर्मीहरूका अनुसार मंगलबार साँझ ५ बजेदेखि ६ बजेसम्ममा १९ वटा गाडी हिँडिसकेका छन् । र, अझै कति गाडी मानिसहरू लिएर जान्छ थाहा छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment