Comments Add Comment

रुकुमका स्थानीय तहले गरे अलपत्र मजदुरको उद्धार   

फाइल तस्वीर

११ वैशाख, रुकुमपूर्व ।  कामका सिलसिलामा जिल्ला बाहिर गएर फर्किँदै गरेका मजदुरलाई रुकुम (पूर्व) का स्थानीय तहले उद्धार गरेका छन् ।

इँटाभट्टामा मजदूरी गरेर फर्कँदै गरेका मजदूरहरुलाई बीच बाटामा अलपत्र परेपछि स्थानीय तहले उद्धार गरेर गन्तव्यमा पुर्‍याएका छन् ।

भक्तपुरको इँटा उद्योगमा काम गर्ने जिल्लाका भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका १३३ जनाको रोल्पाबाट उद्धार गरिएको छ । लकडाउनले गर्दा भक्तपुरमा अलपत्र परेका प्रदेश नं ५ का विभिन्न जिल्लाका मजदूरसँगै उनीहरुलाई पनि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले उद्धार गरेर रोल्पासम्म पठाएका थिए ।

उनीहरुलाई भूमे गाउँपालिकाले रोल्पाको होलेरीबाट उद्धार गरेर गाउँपालिकासम्म ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताए । रोल्पाबाट उद्धार गरी ल्याइएका उनीहरु सबैलाई बुधबार स्वास्थ्य जाँच गरी दुई सातासम्म होम क्वारेन्टाइनमा बस्न भनिएको छ । उनीहरुको स्वास्थ्यवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ ।

यसैगरी धादिङ इँटाभट्टामा काम गर्ने सिस्ने –५ का तीन जनालाई पनि रुकुम(पश्चिम)को सोलाबाङबाट उद्धार गरिएको छ । मजदूरीका लागि धादिङ पुगेका उनीहरु कोरोना महामारीका कारण सरकारले लकडाउन घोषणा गरेपछि उनीहरु कतै पैदल हिँडेर तथा कतै विभिन्न स्थानीय तहको सहयोगमा सवारी साधनमार्फत सोलाबाङ पुगेका थिए ।

उनीहरुलाई पनि सिस्ने गाउँपालिकाले सोलाबाङ पुगी उद्धार गरेर घरसम्म पुर्‍याएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् ।

उनीहरुलाई जिल्ला अस्पताल रुकुम(पूर्व)मा स्वास्थ्य परीक्षण गरी घर पठाइएको तर कोरोनाको कुनै लक्षण नदेखिएको अस्पतालले जनाए पनि १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न भनिएको अध्यक्ष बरालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment