Comments Add Comment

कोरोना परीक्षण गर्न सबै पालिकामा स्वास्थ्यकर्मीको टोली

१२ वैशाख, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै पालिकाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । जनस्वास्थ्य अधिकृत, प्रयोगशालाका कर्मचारी र प्यारामेडिक्स वा नर्स एक–एक जना रहेको टोली परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार हरेक गाउँपालिकामा एउटा, नगरपालिकामा २ वटा, उपमहानगरपालिकामा ३ वटा र महानगरपालिकामा ५ वटाको दरले टोली परिचालित हुनेछन् । उनीहरुले कोराना शंकास्पद व्यक्ति र उनीहरुको निकट सम्पर्कमा रहेका व्यक्ति पत्ता लगाएर स्वास्थ्य परीक्षण गर्नेछन् ।

डा. देवकोटाले भने, ‘कोभिड १९ को संक्रमणको रोकथाम र नियन्त्रणमा सहजीकरण गर्ने उद्देश्यले उहाँहरु त्यहाँ परिचालन हुनुहुनेछ ।’

यो समूहमा स्थानीय तहमा उपलब्ध स्वास्थ्यकर्मीलाई पहिले पठाइने छ । जनशक्ति अपुग भएमा मात्र जिल्ला स्वास्थ्य कार्यालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गर्न सकिने डा. देवकोटाले बताए ।

मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार बिहीबार प्रदेश १ को प्रादेशिक प्रयोगशाला र प्रादेशिक स्वास्थ्य कार्यालयको संयुक्त सहयोगमा ७८ जनाको थ्रोट स्वाब नमूना संकलन गरी परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा पठाइएको छ । यी नमूना उदयपुरको चौदण्डीगढी र त्रियुगा नगरपालिकाका बिभिन्न ठाउँहरुमा संकलन गरिएको थियो ।

‘खासगरी जमाती टोली भुल्के र मस्जिदमा आउनु अगाडि उहाँहरु बसेको मस्जिद वरिपरि बसेका परिवारहरुबाट यो नमूना संकलन गरिएको छ’ डा. देवकोटाले भने, ‘अरु थप नमूना परीक्षण गर्ने योजना छ । त्यो अनुसार नमूना संकलन गरिरहेका छौं ।’

उनले करिब १५ सय स्वाब नमूना संकलन गर्न प्रदेश २ का ८ वटै जिल्लामा स्वास्थ्यकर्मीहरुको टोली परिचालन पनि गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment