
१२ वैशाख, विराटनगर । मोरङ्मा प्रेमीको संलग्नतामा किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।
एक १७ वर्षीया किशोरीलाई उनकै प्रेमीले बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धानबाट खुलेको हो ।
प्रहरीले घटनामा संलग्न समूहका चार जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको बताएको छ । संलग्न भएका दुईजना भने फरार रहेको डीएसपी मानबहादुर राईले बताए ।
पक्राउ पर्नेहरुमा बूढीगंगा गाउँपालिका–६ का २१ वर्षीय टंके भनिने कुमार राई, १९ वर्षीय सन्देश लिम्बू र दुईजना १६ वर्ष मुनिका किशोरहरु छन् ।
डीएसपी राईका अनुसार १० वैशाखमा किशोरीमाथि करणी भएको देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका क्रममा सोही समूहले गत माघ १५ गते पनि बलात्कार गरेको खुलेको उनको भनाइ छ ।
दोस्रो पटक बलात्कार भएपछि घटना बाहिरियो
प्रहरीका अनुसार दोस्रो पटक बलात्कार भएपछि घटना सार्वजनिक भएको हो । किशोरीमाथि पहिलो पटक गत माघ १५ गते बलात्कार भएको खुलेको छ ।
प्रहरीका अनुसार माघ १५ गते पाँच जनाको समूहका एकजनाले युवतीलाई बुढीगंगा गाउँपालिका– ७ बडहरा बोलाएका थिए । ती युवती त्यही समूहका एक युवककी प्रेमिका थिइन् ।
फुटबल मैदानमा प्रेमीलाई भेट्न आएकी किशोरीलाई त्यहाँबाट केही पर लगेर सामूहिक बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । तर, धम्की दिएका कारण किशोर चुपचाप थिइन् ।
वैशाख १० मा पुनः सोही समूहले किशोरीमाथि बलात्कार गरेको गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेको डीएसपी राईले बताए । किशोरीले पनि माघ १५ सोही समूहले बलात्कार गरेको बयान दिएकी छन् ।
‘गाउँलेले देखेपछि मात्र घटना बाहिर आयो,’ डीएसपी राई भन्छन्, ‘प्रारम्भिक अनुसन्धानका क्रममा १५ माघमा घटना भएको र सोही समूह संलग्न भएको खुल्यो ।’
पक्राउ परेकामाथि म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4