Comments Add Comment

प्रदेश १ मा कोरोना परीक्षण दर बढाइयो

संक्रमितमा लक्षण नदेखिँदा समस्या

१३ वैशाख, विराटनगर । कोरोना संक्रमित भेटिन थालेपछि प्रदेश १ मा परीक्षणको दर बढाइएको छ । द्रुत परीक्षण विधि (आरडीटी) र पीसीआर दुवै विधिबाट परीक्षणको दायरा बढाइएको हो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाको उच्च संक्रमण देखिएको ठाउँ पहिचान गरी त्यस क्षेत्रमा आशंका गरिएका मानिसमा कोरोना परीक्षण गर्ने कामलाई तीव्रता दिइएको जानकारी दिए । ‘कोरोना संक्रमण देखिए पनि लक्षण नदेखिँदा पहिचानमा कठिनाइ भइरहेको छ,’ मन्त्री घिमिरेले भने, ‘अहिले सम्भावित जोखिमबाट बचाउन ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाएका छौं ।’

मन्त्री घिमिरेका अनुसार शुक्रबारसम्म कुल पाँच हजार ६६ जनाको कोरोना परीक्षण गर्ने काम सम्पन्न भएको छ । जम्मा पीसीआर विधिबाट ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ । २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन् । उनीहरुमध्ये ८७ महिला र ४ सय ९६ पुरुषको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आरडीटीबाट यो अवधिमा जम्मा ४ हजार १ सय ६० जनाको नमुना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ६ सय ७६ महिला र ३ हजार ८ सय ८४ जना पुरुष छन् ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल १ हजार १ सय ६३ जना पुगेको छ । ४३ जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । होम क्वारेन्टाइनमा जम्मा ५ हजार ३ सय ८७ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ९ सय ३ र पुरुष ४ हजार ४ सय ८४ जना रहेका छन् ।

दैनिक परीक्षण क्षमता ११२

प्रदेश १ मा पीसीआरबाट सबैभन्दा बढी दैनिक १ सय १२ जनाको स्वाब परीक्षण गर्न सकिनेछ । बिराटनगरको कोशी अस्पताल र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयार गरिएका ल्याबबाट दैनिक १ सय १२ जनाको स्वाब परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

सामाजिक विकास मन्त्री घिमिरेका अनुसार कोशी अस्पतालको ल्याबबाट दैनिक १ सय र प्रतिष्ठानको ल्याबबाट दैनिक १२ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । उनका अनुसार यो मुलुककै सबैभन्दा बढी कोरोना परीक्षण गर्ने प्रदेश समेत हो ।

धरानमा भएको ल्यावको क्षमता बढाएर त्यसलाई पनि केही दिन भित्रै १२ वटाबाट १ सय क्षमताको बनाउने तयारी भइरहेको छ । धरानको ल्याब पूर्ण क्षमतामा सञ्चालनमा आए प्रदेशमा दैनिक २ सय स्वाब परीक्षण गर्न सकिनेछ ।

प्रतिष्ठानमा छुटै कोरोना विषेश अस्पतालको तयारी

प्रदेश एकमा कोरोना संक्रमित हुनेको दर उच्च भएपछि तत्काल थप १ सय बेडको कोरोना विषेश अस्पताल बनाउने काम शुरु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुनःस्थापना केन्द्रलाई विषेश कोराना अस्पताल बनाउने तयारीका साथ काम अघि बढाइएको हो । प्रतिष्ठानको कोरोना विषेश अस्पताल एक साताभित्र सञ्चालनमा ल्याउने तयारी छ ।

प्रतिष्ठानलाई कोरोना विशेष अस्पताल बनाउने गृहकार्य अन्तरगत पहिलो चरणमा एक सय बेड सहितको आइसोलेसन निर्माण थालिएको छ ।

कोरोना विषेश अस्पताल जटिल अप्रेसन थिटर र आईसीयूको सुविधा हुनेछ । अस्पताल सञ्चालनमा आएपछि कोरोनाका जस्तासुकै बिरामीको उपचारमा समस्या नहुने प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी बताउँछन् ।

प्रदेश एकमा कोरोना संक्रमितको आशंका गरिएकाको स्वाब परीक्षणको काम अहिले प्रतिष्ठानको ल्याबबाट हुँदै आएको छ । प्रतिष्ठानको ल्याबबाट हालसम्म २ सय २६ जनाको स्वाब परीक्षण भएको छ । स्वाब परिक्षण गरिएकामध्ये नौ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको उपनिर्देशक डा. विकास शाहले जानकारी दिए ।

वीपी प्रतिष्ठान एक नम्बर प्रदेशकै टर्सरी सेन्टर पनि हो । यहाँ गम्भीर तथा घातक रोगका बिरामी पनि उपचारका लागि आउने गर्दछन् ।

यता प्रदेश एक सरकारले तयार पारेको बिराटनगरस्थित कोशी अस्पतालमा कोबिड–१९ अस्पताल सञ्चालनमा छ । ५० शय्याको सो अस्पतालमा अहिले २९ जना संक्रमितको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment