Comments Add Comment

भक्तपुरमा प्राथमिकता प्राप्त विकास निर्माणको काम सुरु गर्न सुझाव

१३ वैशाख, भक्तपुर । सांसदहरूले भक्तपुरमा कोरोना भाइरस संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै उच्च प्राथमिकताप्राप्त विकास निर्माण र अत्यावश्यक व्यवसायलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् । जिल्ला समन्वय समिति भक्तपुरले शनिबार आयोजना गरेको सर्वपक्षीय छलफलमा सहभागीहरूले सो सुझाव दिएका हुन् ।

भक्तपुरबाट प्रतिनिधित्व गर्ने संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापति अनुपस्थित रहेको सो छलफलमा धेरै जसोले उत्पादनका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा संघीय सांसद महेश बस्नेतले खाद्यान्न, कृषि र प्राथमिकता प्राप्त उद्योग व्यवसायको काम लामो समय अवरुद्ध भए देश थेग्नै नसक्ने आर्थिक मन्दीमा जाने खतरा औँल्याए । पूर्वउद्योगमन्त्री समेत रहेका बस्नेतले खाद्यान्न आपूर्ति, कृषिकर्म र विकासका कार्यक्रमका सन्दर्भमा आसपासका जिल्लामा समेत समन्वय गरेर सहजीकरण गर्नुपर्ने बताए ।

वागमती प्रदेशका सांसद शशिजंग थापाले कसैलाई पनि जमिन बाँझो राख्न दिन नहुने भन्दै कृषकलाई मल बिउ लगायतका कृषि सामग्री सहजरुपमा उपलब्ध गराउन आवश्यक बजेट छुट्याउनुपर्ने बताए ।

प्रदेश सांसद डा.राजेन्द्रमान श्रेष्ठले कोरोना संक्रमणबाट बच्न उच्च सतर्कता अपनाएर केही व्यवसाय तथा विकास निर्माणका काम सुरु गर्नुपर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुर आसपासका जिल्ला काठमाडौं, ललितपुर, काभ्रेपलान्चोक र धादिङसँग समन्वय गर्दै कृषि सामग्री केन्द्रमार्फत कृषकसम्म पुर्‍याउनुपर्ने बताए । उनले कोरोना भाइरस रोकथामलाई थप प्रभावकारी बनाउन, आपूर्ति सहज गर्न, कालोबजारी नियन्त्रण गर्न र विकास निर्माणमा सहजीकरण गर्न बैठक राखिएको बताए ।

मध्यपुर थिमिका नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले लकडाउनलाई अझै व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै विकास निर्माणको काममा उपत्यकाबाहिर रहेकालाई तत्काल भित्र आउन दिन नहुने बताए ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले खाद्यान्न, मल, बिउ र महँगी हुन नदिन विशेष पहलकदमी आवश्यक रहेको बताउँदै कमलविनायक-नगरकोट सडकको काम जारी राख्न सकिने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लासँग समन्वय र सरकारले दिएको निर्देशनको पालना गर्दै आएका सुझावलाई कार्यान्वयन गर्न आफू सकृय रहेको बताइन् ।

कार्यक्रममा प्रदेश सांसद कृष्णलाल भँडेल, रजनी जोन्छे लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment