Comments Add Comment

राप्ती स्वास्थ्य प्रतिष्ठानमा पीसीआर परीक्षण सुरु

कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दै प्रतिष्ठानकी उपकुलपति भण्डारी ।

१३ वैशाख, घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिमार्फत कोरोना भाइरस (कोभिड-१९) को परीक्षण सुरु भएको छ ।

प्रतिष्ठानको प्रयोगशालामा जडान गरिएको पीसीआर मेसिनबाट शनिबारदेखि परीक्षण सुरु गरिएको प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले जानकारी दिइन् । उनकाअनुसार आइसोलेसनमा रहेका नौ र एक कैदी गरी १० जनाको स्वाब परीक्षण भइरहेको छ । मेसिन आउन ढिलाइ हुँदा प्रयोगशाला स्थापनामा समय लागेको उनले बताइन्।

पीसीआरमा एकैपटकमा ९६ जनासम्मको परीक्षण गर्नसकिने क्षमता भएकाले अब यस क्षेत्रका बिरामीलाई सहज हुने उनको भनाइ छ । प्रदेश-५ को भैरहवा, नेपालगञ्ज र दाङमा प्रयोगशाला स्थापना गर्ने निर्णय भएअनुसार घोराहीस्थित प्रतिष्ठानमा पीसीआर मेसिन राखिएको हो।

यसअघि स्वाब परीक्षणका लागि भैरहवा या काठमाडौं लैजानुपर्ने बाध्यता थियो। हालसम्म जिल्लामा काठमाडौं र भैरहवा लगेर ७१ जनाको स्वाब परीक्षण भएको छ। बेलझुण्डीमा एक सय शय्या क्षमताको कोरोना विशेष अस्पताल सञ्चालित छ।

जिल्लामा विभिन्न अस्पतालमा एक सय ६६ आइसोलेसन र दुई सय ८८ क्वारेन्टाइन शय्या रहेको छ ।अहिलेसम्म एक सय आरडीटी किट ल्याएर क्वारेन्टाइनमा परीक्षण गर्ने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment