Comments Add Comment

लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय

१४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई २५ गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै खतरामुक्त भइनसकेकाले कोरोना रोकथाम तथा नियन्त्रणको प्रयास जारी राख्नुपर्ने बताएका थिए । वैशाख २५ सम्म लकडाउन गर्ने र स्थितिमा सुधार आए सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन संसद अधिवेशन आहृवान गर्न सकिने उनले बताएका छन् ।

तथ्यांकमा काेराेना - नेपाल

संक्रमित ५२
निको भएको१६
मृत्यु
अपडेटः २०७७ वैशाख १४ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको भन्दै लकडाउन तत्काल खुला गर्न नहुने निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो । तर, सरकारले लकडाउन १० दिन थपेकाे छ ।

नेपालमा कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो । त्यसयता चारपटक लकडाउन बढाइएको छ । पछिल्लो पटक थपिएको लकडाउन १५ वैशाखसम्म थियो ।

पछिल्लो समयमा लकडाउनकै बेलामा सरकारले काठमाडौंबाट नागरिकहरुलाई बाहिरी जिल्लामा जान अघोषितरुपमा छुट दिँदै आएको छ ।

तर संक्रमितको संख्या पनि बढिरहेको छ । उदयपुरको भुल्केमा समुदाय स्तरमा संक्रमण देखिएको छ भने संक्रमित पनि बढेर ५२ पुगेको छ ।

सीमा नाका ३१ गतेसम्म बन्द

मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय सीमा नाकामा आवागमन वैशाख ३१ गतेसम्म रोक्ने निर्णय गरेको छ ।

बाहृय जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाल बताए । यसअघि शनिबार बसेको उच्चस्तरीय समन्वय समितिले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान जेठ २ गतेसम्म रोक्ने निर्णय गरिसकेको छ ।

यस्तै सरकारले सरकारले ईपीसी अन्तरगत दक्षिण कोरिया मार्फत कामदार पठाउने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment