Comments Add Comment

काठमाडौं महानगरका पसल बिहान १० बजेसम्म खोल्न छलफल

१४ वैशाख, काठमाडौं ।काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधीमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ । सरकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेकै दिन बसेको ४५ औं कार्यपालिका बैठकमा सहभागी सबै वडाध्यक्षहरु यसमा सकारात्मक बनेका छन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकमा लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई एकरुपता कायम गर्दै आर्थिक गतिविधिलाई समेत थप चलायमान बनाउनुपर्ने सुझाव पनि वडाध्यक्षहरुले दिएका थिए । काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले पनि वडाध्यक्षहरूलाई सामाजिक दुरी कायम गर्दै बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय किनमेलको व्यवस्था मिलाउन आग्रह गरे ।

बैठकले कोरोना नियन्त्रणका लागि वडामा पठाइएको बजेट, वडाबाट भएका काम, राहत वितरणका लागि संकलित विवरण, र्यापिड डाइग्नोष्टिक परीक्षण, राहत वितरण, निःशुल्क भोजन व्यवस्थापनलगायतका विषयमा केन्द्रित भएर छलफल गरेको थियो ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाडौं महानगरबाट सम्पन्न कामको समीक्षा गर्दै प्रमुख शाक्यले अहिलेसम्म महानगरका ६८ हजार ६ सय १७ जनालाई राहत वितरण गरेको जानकारी दिए । १९ हजार ७ सय २३ जनालाई वडाबाट निःशुल्क भोजनको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

‘कोरोना संक्रमणको सम्भावना भएका बिरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा उनीहरूलाई सेवा दिनका लागि काठमाडौँ महानगरपालिकाकै सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवाले लकडाउन अवधिभरिमा २ सय २१ लाई सेवा दिएको छ,’ उनले भने, ‘१०२ नं. मा सम्पर्क गरेर सेवा लिन सकिने सो एम्बुलेन्सले १ सय ७६ जनालाई निःशुल्क सेवा दिएको छ । त्यसैगरी यो अवधिमा दिउँसो १५ सय ३३ र रात्रि समयमा ८ सय ४५ जनालाई सेवा दिएको छ भने ५ जना प्रसूतिका बिरामीलाई सेवा दिएको छ ।’

प्रमुख शाक्यले लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने त्यस्ता बिरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउनका लागि संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) सँग सम्झौता गरेको भन्दै लकडाउन अवधिभरमा ५ सय १५ जनालाई निःशुल्क सेवा दिएको पनि जानकारी दिए । लकडाउन अवधिभर हृदयघात, मृगौला रोगीलगायतका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाबाट धेरै लाभन्वित भएको पनि उनले जानकारी दिए ।

त्यसैगरी प्रमुख शाक्यले राहत वितरणमा एकद्वार नीतिअनुरुप वडाबाट काम भएकोले विकृतिमा न्यूनीकरण भएको भन्दै कोरोनाविरुद्धको लडाइँमा आवश्यक पर्ने सामान प्राप्त गर्न महानगरको बाटो हेर्नु नपर्ने प्रष्ट पारे । ‘कोषबाट पठाइएको रकमबाट आफैँ खरिद गर्न सक्नुहुन्छ, मेयर शाक्यले वडाध्यक्षहरूलाई भने, ‘बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउनु होला ।’

बैठकले महानगरको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला वडा, मझौला र साना वडालाई थप निकासा पठाउने समेत निर्णय गरेको छ । ठूलालाई १५ लाख, मझौलालाई १० लाख र सानालाई ५ लाख रुपैयाँलाई थप निकासा गर्ने गरी बैठकले अनुमोदन गरेको छ ।

त्यसैगरी फोहोर व्यवस्थापनका लागि प्रयोग हुँदै आएको ककनी गाउँपालिकाकाका प्रभावित वडाका राहतका लागि प्रदान गरिएको १५ लाख रुपैयाँ र धुनिबेँसी नगरपालिकाकाको वडा १ का लागि पठाइएको ३ लाख रुपैयाँ बैठकले अनुमोदन गरेको छ ।

बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आन्तरिक समन्वय मजबुत भएकोले राहत वितरण सहज भएको बताउँदै यसलाई थप सुदृढ बनाउँदै लानुपर्नेमा जोड दिए । बैठकमा वडाध्यक्षहरुले वडामा समन्वय नगरी राहत लिएर आउनेहरूलाई निरुत्साहित गर्नुपर्ने, सामाजिक दुरी र स्वास्थ्य सुरक्षा अपनाएर पूर्वाधारका कामलाई नियमित गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment