Comments Add Comment

संसारका लागि त्रासदी बनेको कोरोना एक नेपाली महिलाका लागि सामान्य

१५ वैशाख, कोपनहेगन । कोरोना भाइरसबाट संक्रमित भएको एक सातामा डेनमार्कमा एक नेपाली महिला काममा फर्केकी छन् । डेनमार्कको कोपनहेगनमा रहेकी ती महिलालाई कोरोना भाइरस बाँकी छ वा छैन भन्ने अन्तिम परीक्षण नगरी काममा फर्काइयो ।

उनमा पहिलो पटकको परीक्षणमा पोजेटिभ देखिएको थियो । त्यसपछि परीक्षण नै गरिएन । पहिलो परीक्षण अघिल्लो बिहीबार नै भएको थियो भने गत बिहीबारबाट उनले काम सुरु गरिन् ।

अरु दिनभन्दा केही बढी खोकी लागेपछि गत अप्रिल ९ मा उनी कोरोना भाइरस परीक्षण गर्न डेनमार्कको सबैभन्दा ठूलो रिस अस्पताल गएकी थिइन् ।

परीक्षण गर्दा उनमा पोजेटिभ देखियो । अस्पतालले घरमै आइसोलेसनमा बस्न भन्यो । श्वास फेर्न गाह्रो भएमा टेलिफोन गर्नु भनेर अस्पतालले नम्बर दिएको थियो ।

‘४८ घण्टासम्म घरमा आइसोलेसनमा बस् भन्यो’ चिकित्सकको भनाइ उल्लेख गर्दै उनले भनिन् ‘त्यो अवधिमा केही लक्षण देखिएन भने अरुलाई पनि सर्दैन ।’

अस्पतालले उनलाई एक सातासम्म बाँकी लक्षणहरु केही देखिएन भने काममा फर्कन सक्ने जानकारी दियो । उनी केयर होम तथा प्लाइएम (शारीरिक र मानसिक तथा दीर्घरोगीहरु राखिने ठाउँ) मा काम गर्छिन् ।

कोरोना भाइरसले संक्रमण गरे पनि उनी सामान्य छिन् ।

पोजेटिभ भएको एक सातामा आफूलाई अस्पतालले सोधेको बताउँदै उनले भनिन् ‘ज्वरो, खोकी, रुघाको लक्षण छैन भने अरु केही गर्न पर्दैन, काममा जान सक्छेस् भन्यो ।’ आफूलाई केही लक्षण नदेखिएपछि चिकित्सकले भने बोजिम नै काममा फर्केको उनले बताइन् ।

अस्पतालले पोजेटिभ देखिएको ४८ घण्टासम्म कुनै लक्षण देखिएन भने अरुलाई पनि सर्दैन भनेर ती महिलाका श्रीमान र छोराछोरीहरुको पनि कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण गरिएको छैन । उनका श्रीमान, १६ वर्षमुनिका एक छोरा र एक छोरी छन् । अहिले परिवारका सबै सदस्यहरु सामान्य अवस्थामा छन् ।

नेपालमा बागलुङ घर भएकी ती महिलाको ईच्छाअनुसार उनको परिचय गोप्य राखिएको छ ।

‘कोरोनाबारे संसारको अवस्था पढ्दा कता कता डर नि लाग्छ’ सामाजिक अभियन्ता समेत रहेकी उनले भनिन् ‘तर, आफूलाई देखेर आफैं अचम्म लाग्छ ।’

कोरोनाको प्रकोप सुनेदेखि नै उनले तातोपानी, ज्वानो, बेसार, अदुवा, लसुन लगायत चिसोबाट जोगिन सकिने घरेलु पदार्थहरु खाइरहेकी थिइन् । पोजेटिभ देखिए पनि डाक्टरहरुले भने उनलाई खानुपर्ने नपर्नेबारे केही बताएका थिएनन् ।

आफूले चिकित्सकले भनेको कुरा पालना गरेको बताउने ती महिलाले नेपालीहरुलाई भनिन् ‘धेरै आत्तिनुहुँदैन । तर, चिकित्सा विज्ञानले भनेको पालना गर्नुपर्छ ।’

रोगसँग लड्न सक्ने बढी क्षमता र आत्मविश्वासले आफू सामान्य भएको बताउने उनले अरुलाई भने शारीरिक दुरी कायम गर्न अनुरोध गरिन् । हरेक दुई महिनामा रुघा लाग्ने गरेको बताउने उनी तातो तरल पदार्थ भने खाइरहन्छिन् ।

आफ्नो सवारी साधनमा आउने–जानहरुका कारण उनलाई काम गर्ने ठाउँबाटै कोरोना भाइरस सरेको अनुमान छ ।

उनी ५० वर्षमाथिका १७ जना बिरामीलाई हेरचाह गर्छिन् । उनले काम गर्ने भवनमा कसैलाई कोरोना छैन । तर, नजिकै रहेको अर्को भवनमा काम गर्ने र बिरामी गरी पाँच जनामा कोरोना संक्रमण भएको थियो । उनीहरु सबैजना निको भएका छन् ।

धेरै अभाव र असहजतासँग संघर्ष गरेका नेपालीहरु समस्या आइलागे सरल तरिकाले समाधान गर्छन् । तर, विकसित देशका मानिसहरु सानो समस्यामा पनि चिन्ता बढी गरेर बस्छन् । विकसित देशहरुमा चिन्ता र दीर्घरोगी भएकाहरुको बढी मृत्यु भएको उनको बुझाइ छ ।

डेनमार्कमा कोरोना भाइरसका कारण आइतबारसम्म ४२२ जनाको मृत्यु भएको छ । ८ हजार ७७३ जना संक्रमित भएका छन् भने ५ हजार ९९४ जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment