
१५ वैशाख, काठमाडौं । पूूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एउटा अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अशिष्ट’ भाषा प्रयोग गरेको भन्दै रेडियो नेपालले माफी मागेको छ ।
सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा जनता समाजवादी पार्टीका नेता समेत रहेका डा. भट्टराईले प्रयोग गरेका शब्दलाई लिएर रेडियो प्रसार विकास समिति (रेडियो नेपाल)ले माफी मागेको हो ।
विकास समितिका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले विज्ञप्ती जारी गरेर क्षमा मागेका हुन् । ‘…पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अतिथिका रुपमा निम्त्याइएकोमा उहाँले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी तुल्याएको छ’, विज्ञप्तिमा भनिएको छ ।
कार्कीले आगामी दिनमा अतिथि चयन गर्दा गम्भिर रुपमा सचेत हुने समेत भनेका छन् ।
के बोलेका थिए बाबुरामले ?
‘अन्तरसम्वाद’ रेडियो नेपालमा दैनिक प्रसारण हुने कार्यक्रम हो । डा. भट्टराईसँग समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालले अन्तर्वार्ता लिएका थिए ।
सुन्नुहोस् पूर्वप्रधानमन्त्री डा. भट्टराईको अन्तर्वार्ता-
अन्तर्वार्ताका क्रममा भट्टराईले प्रधानमन्त्री ओलीलाई लक्षित गरेर ‘भष्मासुर’, ‘अपहरणकारी’, ‘हिटलर’ जस्ता शब्द प्रयोग गरेका थिए । कार्यक्रम प्रत्यक्ष प्रसारण भएकाले सम्पादन गर्न नसकिएको कार्यकारी निर्देशक कार्कीको भनाइ छ ।
अन्तर्वार्तामा प्रयोग भएको भाषाको सन्दर्भ रेडियो नेपालमा यस्तो घट्ना दोस्रो पटक भएको हो ।
संयोगवश २०६९ डा. भट्टराई प्रधानमन्त्री भएकै बेलामा पनि झण्डै यस्तै घटना भएको थियो । त्यतिबेला कांग्रेस नेता मनमोहन भट्टराईले डा. भट्टराईलाई लक्षित गरेर प्रयोग गरेको भाषालाई लिएर सरकारले स्पष्टीकरण सोधेको थियो ।
प्रतिक्रिया 4