Comments Add Comment

ओलीका दुई रणनीति : संसदीय दलमा बहुमत पुर्‍याउने, प्रचण्ड–माधवबीच दुरी बढाउने

आज बस्ने भनिएको सचिवालय बैठक अनिश्चित

१६ वैशाख, काठमाडौं । आज बस्ने भनिएको नेकपा सचिवालयको बैठक अनिश्चित बनेको छ । शीर्ष तहमा चर्किएको शक्ति–संघर्षका कारण सचिवालय बैठक अनिश्चित बनेको हो ।

माधव नेपाल पक्ष र केपी ओली पक्षका नेताहरुबीच सोमबार कोटेश्वरमा भएको छलफलपछि मंगलबार सचिवालयको बैठक बस्ने स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिएका थिए ।

नेता माधव नेपालको निवासमा भएको छलफलपछि पन्तले भनेका थिए, ‘कति बजे भन्ने चाहिँ मैले बिर्सें, तर भोलि सचिवालयको बैठक बस्ने सहमति भएको छ ।’

तर, आज सचिवायल बैठक कति बजे बस्दैछ भनेर सोध्दा एक सचिवालय सदस्यले भने, ‘बैठकको टुंगै भएको छैन ।’

माधव नेपाल र प्रचण्ड पक्षका नेताहरुले तत्काल सचिवालय बैठक माग गरे पनि प्रधानमन्त्री केपी ओली बैठकका लागि तयार नभएको स्रोतले बतायो ।

ओलीको पहिलो रणनीति– संसदीय दलमा बहुमत देखाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको संसदीय दलमा बहुमत कायम गरेर देखाउने रणनीति अख्तियार गरेको स्रोत बताउँछ ।

यसका लागि लेखराज भट्टलगायतका पूर्वमाओवादी नेताहरुलाई आफूतिर तानेर प्रचण्डलाई जवाफ दिने तयारीमा ओली पक्षका नेताहरु लागेका छन् ।

प्रतिनिधिसभामा नेकपाका १७४ सदस्य छन् । तीमध्ये करिब ७८ जना ओलीको पक्षमा छन् भने प्रचण्डको पक्षमा ५३ र माधव नेपालको पक्षमा करिब ४३ जना छन् । संसदीय दलमा बहुमत सिद्ध गर्न ८८ सदस्य चाहिन्छ, जसमा केपी ओलीलाई थप १० सांसदको अभाव छ ।

यो पनि पढ्नुहोस संसदीय दलमा रस्साकसी, ओलीलाई १० सांसद नपुग्ने

आफू सत्तामा भएका बेला मन्त्रीलगायतका विभिन्न आश्वासन दिएर प्रचण्ड–माधव पक्षका १०/१२ जना सांसदलाई सहजै आफूतिर तान्न सकिने विश्वासमा प्रधानमन्त्री ओली रहेको स्रोतले बतायो ।

यसरी संसदीय दलमा आफ्नो एकल बहुमत देखाउन सकियो भने सचिवालय र स्थायी कमिटीमा अल्पमतमै परे पनि सरकार छाड्नु नपर्ने निश्कर्षमा प्रधानमन्त्री ओली पुगेको उनी पक्षधर नेताहरुको विश्लेषण छ ।

दोस्रो राणनीति– पूर्वमाओवादीलाई एक्ल्याउने

नेकपामा त्रिपक्षीय ध्रुवीकरण बढ्दै गइरहेका बेला ओली समूहले तयार पारेको दोस्रो रणनीतिचाहिँ सरकार छाड्नुपरे पनि प्रचण्डलाई एक्ल्याउने र माधव नेपाल समूहलाई नजिक बनाउने रहेको छ ।

यसका लागि प्रधानमन्त्री वा पार्टी अध्यक्ष जे दिनुपरे पनि प्रचण्डको साटो माधव नेपाललाई दिने रणनीतिमा ओली पक्ष रहेको पूर्वएमाले नेताहरु बताउँछन् ।

यसरी सरकारबाट बाहिरिनु परे पूर्वएमालेकै भागमा सत्ताको साँचो हस्तान्तरण होस् भन्ने मनसुवा ओली पक्षका नेताहरुमा देखिन्छ ।

यसरी प्रचण्डको साटो माधव नेपाललाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष बनाउने प्रस्ताव गर्दा प्रचण्ड र माधव नेपालबीच फाटो पर्न सक्ने र त्यसबाट आफूलाई फाइदा पुग्ने ओली समूहको आँकलन रहेको देखिन्छ ।

यही शक्ति–संघर्ष र भागवण्डा नमिल्दा आज बस्ने भनिएको सचिवालय बैठक अनिश्चित बनेको हो ।

यो पनि पढ्नुहोस अध्यादेश टर्‍यो, त्रिशंकु हुँडलो टरेन

सरकारले ल्याएको विवादास्पद अध्यादेशपछि सिर्जना भएको आन्तरिक अन्तरविरोध सत्तारुढ नेकपामा चुलिँदै गएको छ । अध्यादेश फिर्ता भइसकेपछि पनि नेकपाको विवाद मत्थर भएको छैन । २० जना स्थायी कमिटीका सदस्यले बैठकको माग गरेर हस्ताक्षर बुझाइसकेका छन् ।

यसबीचमा सोमबार माधव नेपाल पक्ष र ओली पक्षबीच भएको पावर शेयरिङको प्रयास पनि सहमतिमा पुग्न नसकी टुंगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment