Comments Add Comment

‘भ्रमण वर्षको बजेट आन्तरिक पर्यटन प्रवर्द्धनमा लगाऔं’

१६ वैशाख, काठमाडौं । विज्ञ तथा व्यवसायीले भ्रमण वर्षका लागि छुट्याएको बजेट आन्तरिक पर्यटन प्रवर्द्धनमा लगाउन सुझाव दिएका छन् ।

एक्सेलट्रिप नेपालले कोरोनापछिको पर्यटनबारे आयोजना गरेको अनलाइन सेमिनारमा विज्ञ तथा व्यवसायीहरुले यस्तो सुझाव दिएका हुन् ।

पर्यटन व्यवसायी कर्ण शाक्यले सरकारले ‘नेपाल भ्रमण बर्ष’ को लागि छुट्याएको रकम अब आन्तरिक पर्यटनमा लगानी गर्नुपर्ने बताए । नेपाल पर्यटन बोर्डले धार्मिक, साँस्कृतिक, प्राकृतिक र ऐतिहासिक गन्तब्य स्थलको आक्रामक प्रवद्र्धनमा लाग्नुपर्ने उनको सुझाव छ ।

पर्यटन मन्त्रालयले गन्तब्य पहिल्याउने काममा योगदान गर्नुपर्ने भन्दै उनले प्रदेश सरकारले ग्रामीण भेगका गन्तब्यलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन सक्नेसमेत बताए ।

होटेल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने खालका पर्यटकीय प्याकेज ल्याउने तयारीमा व्यवसायी रहेको जानकारी दिए । यसमा सरकारको सहयोगको अपेक्षा भने व्यवसायीले गरेको उनको भनाइ छ ।

नेपालीलाई घुमफिरमा खुला हुनासाथ ठूलो संख्यामा नेपाली यात्रामा निस्कने वातावरण बनाउन सकिने उनको भनाइ छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालीलाई पदयात्रातर्फ आकर्षित गर्न सकिने भन्दै त्यसका लागि प्याकेजहरुको अध्ययन भइरहेको जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ दीपकराज जोशीले सन् २०१६ यता आन्तरिक पर्यटनको माहौल बढेको भन्दै संकटपछि व्यवसाय पुनरुद्धारमा यो सफल प्रयास हुने सुझाव दिए ।

एक्सेलट्रिपका कन्ट्री म्यानेजर आदित्य बरालले संकटका समयमा सबै पक्ष एक जुट हुँदा मात्र यो अवस्थाबाट पार पाउन सकिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment