Comments Add Comment

लकडाउनमा नेपाली फिल्म : यूट्युबमा धेरै भ्युज, थोरै पैसा

डिजिटल राइट्स किन्नेलाई घाटा

हलमा रिलिज भएको २ महिना नबित्दै चलचित्र ‘लभ डायरिज’ युट्युबमा आयो । लकडाउनका कारण घरमा नै थुनिएर बसेका दर्शकलाई लक्षित गर्दै चलचित्रलाई युट्युबमा रिलिज गरिएको थियो ।

कोरोनाको कारण विदेशमा हुने भनिएको सम्पूर्ण शो रद्द भए । त्यसपछि निर्देशक सौरभ चौधरीले चलचित्रलाई युट्युबमा हाल्ने निर्णय गरेका हुन् ।

सौरभले भने, ‘हलबाट चलचित्र बाहिरिएपछि अर्को आश भनेको विदेश शोको थियो । तर कोरोनाको कारण विदेशमा तय भएको सम्पूर्ण शो रद्द भइहाल्यो । कोरोनापछि पनि विदेशमा गएर चलचित्र रिलिजको महोल बन्ने देखिएन । त्यसैले युट्युबबाट नै सार्वजनिक गरेका हौँ ।’

निर्देशक चौधरीलाई आफ्नो काम धेरै दर्शकले हेरुन् भन्ने लोभ थियो । लकडाउनको समयमा भ्यूज धेरै आउने उनले सोचे ।

‘अरु समय व्यस्त रहने मानिसहरु पनि अहिले सबै फुर्सदमा घरमै हुनुहुन्छ । नयाँ चलचित्र युट्युबमा आएको भनेपछि पक्कै उहाँहरुले चलचित्र हेर्नुहुन्छ । हाम्रो दर्शक अरु बेला भन्दा यो बेला बढि हुने देखियो । त्यसैले पनि रिलिजको लागि हत्तारो गरेका हौँ,’ उनले नलुकाइ भने ।

नयाँ पुस्ताका कलाकार तथा निर्देशकहरुले आफ्नो काम ‘नोटिस’ गराउनको लागि वा आफ्नो क्षमता देखाउनको लागि यो उत्तम समय भएको उनको बुझाई छ ।

निर्माताले यो चलचित्रको डिजिटल राइट्स बुढासुब्बालाई ३ वर्ष पहिला नै बेचिसकेका थिए । त्यसैले अन्य प्ल्याटफर्ममा हाल्न नपाएको चौधरी बताउँछन् । उनले भने, ‘हामीलाई केही एप्सबाट कुरा आएको थियो । तर, हामीले सर्वाधिकार बेचिसकेकाले अनुमति भएन ।’

त्यस्तै, लकडाउन सुरु हुनसाथ चलचित्र ‘पोई पर्‍यो  काले’ पनि युट्युबमा राखियो । कात्तिकमा रिलिज भएको यस चलचित्रलाई पनि निर्माताले युट्युबमा रिलिज गर्न हतारो गरे ।

चलचित्रका निर्माता किरण नेपाली अहिले युट्युबमा चलचित्र रिलिजका लागि उत्तम समय मानेर रिलिजमा हतारो गरेको बताउँछन् । उनले भने, ‘विदेशमा हुने सबै शो रद्द भएपछि चलचित्र रोकेर के काम थियो र ? त्योमाथि अहिले सबै फुर्सदमा भएकाले चलचित्रको भ्युज राम्रो जाने लोभमा पनि चलचित्र हालेका हौँ ।’

नेपालीलाई पाइरेसीको पनि डर थियो । त्यसैले पनि कुनै रिक्स नलिई युट्युबमा हालिहाले । ‘कतैबाट पाइरेसी भइदिहाल्यो भने पनि अर्को तनाब हुन्छ’, नेपालीले भने, ‘बरु ओरिजिनल कपी डिजिटल राइट्सवालालाई दिएर युट्युबमा हाल्दिए राइट्सवाला नि खुसी, दर्शक पनि खुसी ।’

निर्माता नेपालीले आफ्नो अर्को चलचित्र ‘२ नम्बरी’ तयार हुँदै गरेकाले पुरानो चलचित्रलाई रोकेर राख्न नचाहेको बताए ।

त्यस्तै, गत भदौ अन्तिमा रिलिज भएको चलचित्र ‘पासवर्ड’ पनि युट्युबमा आइसकेको छ । रिलिजको सात महिना नपुग्दै निर्माणपक्षले चलचित्रलाई युट्युबमा सार्वजनिक गरेको हो ।

चलचित्र निर्देशक सम्राट बस्नेत नयाँ वर्षको उपहार स्वरुप चलचित्रलाई युट्युबमा हालिएको बताउँछन् । उनले भने, ‘हाम्रो चलचित्रको विदेश शोहरु पनि भइसकेको थियो । हामीले चलचित्र आइफ्लिक्समा सार्वजनिक गरिसकेका थियौँ । त्यसैले यो उत्तम समय पारेर युट्युबमा पनि हाल्दियौँ ।’

सम्राटलाई पनि चलचित्रमा भ्युजको लोभ थियो । त्यसैले लकडाउनमा चलचित्र रिलिज गर्ने निधो गरेका थिए ।

चलचित्रले पाए राम्रो भ्युज

लकडाउनमा रिलिज भएका यी तीनवटै चलचित्रमा राम्रो भ्युज छ । ठीक १ महिना अगाडि युट्युबमा सार्वजनिक भएको चलचित्र ‘पोई पर्‍यो काले’ धेरै दिन युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा बसेको थियो । झण्डै दुई साता युट्युब ट्रेण्डिङमा यसको उपस्थिति थियो ।

अहिले यो चलचित्र युट्युबको ट्रेण्डिङबाट हटेको छ । तर, चलचित्रको भ्युज बढ्ने क्रम रोकिएको छैन । रिलिजको एक महिनामा यस चलचित्रले ८३ लाख ६० हजार बढी दर्शक पाएको छ । १ लाख ४० हजार दर्शकले चलचित्रलाई लाइक गरेका छन् भने डिसलाईक गर्ने दर्शक १४ हजार छ ।

चलचित्रमा १० हजारभन्दा बढी दर्शकले प्रतिक्रिया दिएका छन् । जसमा धेरैजसो दर्शकले चलचित्र रुचाएका छन् । लकडाउनको समय चलचित्र हेरेर कटाउन पाएको भन्दै दर्शकले खुशी व्यक्त गरेका छन् ।

चलचित्रका निर्माता किरण नेपाली चलचित्रको भ्युज र प्रतिक्रियाबाट दंग छन् । उनले भने, ‘चलचित्रको भ्युज छोटो समयमा नै झण्डै करोड नजिक पुगेको छ । त्यसमा खुसी नहुने कुरै भएन । त्यसमाथि चलचित्रलाई दर्शकले रुचाउनु भएको छ । त्यसले थप खुसी दिएको छ ।’

त्यस्तै, चलचित्र ‘पासवर्ड’ अहिले पनि युट्युबको ट्रेण्डिङमा नै छ । झण्डै एक साता ट्रेण्डिङको शीर्ष स्थानमा बसेको यस चलचित्रले पनि राम्रो दर्शक पाएको छ । अहिले ट्रेण्डिङको तेस्रो नम्बरमा रहेको यस चलचित्रले ४० लाख ६० हजार भ्यूज पाएको छ । रिलिजको २ साता नबित्दै यत्तिको भ्युज पाउनु राम्रो मान्न सकिन्छ ।

अहिलेसम्म चलचित्रलाई ५३ हजार दर्शकले लाइक गरेका छन् भने साढे सात हजार दर्शकले डिसलाइक गरेका छन् । चलचित्रमा ५ हजार बढी प्रतिक्रिया छन् । चलचित्रलाई आएको प्रतिक्रिया भने बढी नकारात्मक छन् । सन्नी लियोनीले आइटम डान्स गरेको फिल्मबाट धेरै दर्शक सन्तुष्ट नबनेको बुझिन्छ ।

चलचित्रका निर्देशक सम्राट बस्नेत दर्शकले ठुलो अपेक्षा राखेको र त्यो अनुरुपको चलचित्र नपाउँदा खराब प्रतिक्रिया मिलेको बताउँछन् । उनले भने, ‘हाम्रो चलचित्र हाई बजेटको भन्ने परेको छ । त्यसैले उहाँहरुले सोही अनुसारको चलचित्र खोज्नु हुन्छ । जुन कुरामा हामी चुक्यौँ ।’

सम्राट चलचित्रको भ्युजबाट भने सन्तुष्ट नै छन् ।

त्यस्तै ५ दिन अगाडि रिलिज भएको चलचित्र ‘लभ डायरिज’ अहिले युट्युब ट्रेण्डिङको शिर्ष स्थानमा छ । चलचित्रले २० लाख दर्शक पाइसकेको छ । चलचित्रलाई ५३ हजार दर्शकले लाइक गरेका छन् भने साढे ३ हजार दर्शकले चलचित्रलाई डिसलाइक गरेका छन् ।

अहिलेसम्म चलचित्रले ६ हजार बढी प्रतिक्रिया  पाएको छ । ती प्रतिक्रियाबाट बुझ्न सकिन्छ कि चलचित्रलाई दर्शकले खुबै रुचाएका छन् । धेरैले चलचित्र उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन् । निर्देशक र नव–नायिका रुविना थापाको कामलाई दर्शकले तारिफ गरेका छन् ।

युट्युबमा यत्तिका राम्रो प्रतिक्रिया आउँदा पनि निर्देशक चौधरी भने खुसी छैनन् । उनले भने, ‘युट्युबबाट ६ हजार राम्रो प्रतिक्रिया पाउनुभन्दा पनि मलाई हलमा पुगेर हेरेका २ हजार दर्शकले चलचित्रलाई राम्रो भने खुसी हुने थिएँ ।’

निर्माणपक्ष भने चलचित्रको भ्युज र प्रतिक्रियाबाट दंग छन् ।

युट्युब कमाई न्यून

लकडाउनमा रिलिज भएका दुई चलचित्र ‘पोई पर्‍यो काले’ र ‘लभ डायरिज’ बुढा सुब्बा डिजिटलबाट आएका छन् । चलचित्र ‘पासवर्ड’ भने ओएसआर डिजिटलबाट रिलिज गरिएको छ ।

चलचित्रमा पाएको भ्युजबाट त यी कम्पनी खुसी छन् । तर, कमाई भ्युज अनुसारको छ त ?

बुढा सुब्बा डिजिटलका संचालक नवराज गिरी अहिले आम्दानी सोचे जस्तो नभएको बताउँछन् । उनले भने, ‘अहिलेको समय पहिलाको जस्तो कमाई छैन । सबै विज्ञापन कम्पनीहरु बन्द भएकाले पैसा कम आइरहेको छ ।’

पैसा कम आउने थाहा हुँदाहुँदै आफ्नो दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले चलचित्रलाई युट्युबमा हालिएको उनको भनाइ छ ।

‘हामीले पैसाको लोभ गरेनौँ’, गिरीले भने, ‘हामीले अहिले घरमा नै थुनिएर बसेका दर्शकलाई लक्षित गरेर चलचित्र हालिदियौँ । यसमा हामीलाई केही फाइदा छैन ।’

त्यस्तै, ओएसआरमा सञ्चालक ओम अग्रवाल अहिले युट्युब कमाइमा ८५ प्रतिशत गिरावट आएको बताउँछन् । उनले भने, ‘अहिले भ्युज जति भए पनि हामीलाई फाइदा छैन । पहिला १ लाख भ्युजमा आउने पैसा अहिले २० लाख भ्युजमा पनि आउँदैन ।’

ठुलो लगानी गरेर किनेको चलचित्रले युट्युबबाट आम्दानी नदिँदा दुखी छन्, अग्रवाल । उनले थपे, ‘अहिले निर्मातालाई जुन घाटा छ, त्योभन्दा ठुलो घाटा हामीलाई परेको छ ।’

अग्रवाल अब भने चलचित्र यूट्यूवमा रिलिज नगर्ने पक्षमा छन् । उनले भने, ‘दर्शकलाई मनोरञ्जन दिने भन्दैमा घाटाको व्यापार त गर्नुभएन नि । त्यसैले अब बाँकी चलचित्र लकडाउनमा चाहिँ रिलिज गर्दिन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment