Comments Add Comment

‘कोरोनालाई परास्त गरेर चाँडै घर फर्कन्छौं’

१६ वैशाख, विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा वैशाख ४ गतेमा एक नेपालीसहित १२ जना कोरोना भाइरस (कोभिड–१९) का १२ संक्रमित भेटिए ।

त्यसलगतै भुल्केको नुरी मस्जिद टोलका सबैको स्वाब परीक्षण गर्दा थप आठ जना सक्रमित भेटिए । अहिले यो संख्या २८ पुगिसकेको छ ।

संक्रमितमध्ये एक ४० बर्षका पुरुष छन् । दुई वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएका उनी अटोरिक्सा चलाउँथे । त्यो क्रम कोरोना संकटका कारण लकडाउन हुनु अगाडिसम्म जारी थियो । अहिले उनको दैनिकी फेरिएको छ ।

उनीसहित ३० जना विराटनगरको कोशी अञ्चल अस्पतालको कोरोनो उपचार केन्द्रमा छन् । ‘डाक्टरहरुले मन तातो पानी मनग्गे खानु भनेकाले आफैं पानी तताएर खान्छौं, आ–आफ्नो कोठामा शारीरिक व्यायाम गर्छौं’, उनी भन्छन्’ ‘यहाँ हामीलाई केही समस्या छैन, दिनदिनै ठीक भइरहेका छौं भन्ने छ ।’

कोरोना संक्रमण देखिएका उनका छोरा, बहिनी, ज्वाई‌ं र भाञ्जाको पनि यही उपचार भइरहेको छ ।

उनीहरुभन्दा पहिला भुल्के मस्जिदमा आएका भारतीय जमातीहरुमा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुलाई अस्पतालको दक्षिणपट्टीको हलमा राखिएको छ ।

अस्पतालमा उपचाररत संक्रमितलाई ज्वरो आउने, खोकी लाग्ने, जीउ दुख्ने जस्ता लक्षण देखिएको छैन ।

सात दिनअघि आएका मस्जिद टोलका युवकले कसैलाई कुनै रोग लागेको अनुभव नै नभएको बताए । ‘अब चाँडै नै कोरोनालाई जितेर घर फर्कन्छौं होला’, उनले टेलिफोनमा भने, ‘डाक्टरहरुले आत्मबल दह्रो बनाउनुस्, चाँडै निको हुन्छ भन्नुभएको छ ।’

उनका अनुसार, अस्पतालमा अप्ठ्यारो छैन । केही संक्रमित मधुमेह (सुगर) का बिरामी छन् । उनीहरुले सुगरको औषधि नियमित रुपमा खाइरहेका छन् । त्यसबाहेक सबैले मन तातो पानी खाइरहेका छन् । भुल्केका युवक भन्छन्, ‘यहाँ सबभन्दा राम्रो डाक्टरसहित मेडिकल स्टाफहरुको व्यवहार छ ।’

तर गाउँमा ‘अटोवालाले कोरोना फैलायो’ भन्ने हल्ला फैलिएकाले चाहिँ बेचैन बनाएको छ । गाउँमा त्यस्तो हल्ला चलेको अस्पतालमै रहँदा आफूले पनि सुनेको उनले बताए । तर हल्ला भनेको हल्ला नै हो । ‘यस्तो बेला मानिसहरु पनि के–के भनेर बस्छन्’, उनले भने, ‘नचाहिने कुरा सुन्दा मन दुख्दो रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment