Comments Add Comment

इतिहासमै पहिलोपटक विश्वका शतप्रतिशत पर्यटकीय गन्तव्य बन्द

१७ वैशाख, काठमाडौं । कोभिड १९ ले विश्व पर्यटन क्षेत्र कसरी शिथिल बनेको छ, यो बुझ्नका लागि संयुक्त राष्ट्र संघीय पर्यटन संगठन (यूएनडब्लूटीओ)को पछिल्लो अध्ययन नै काफी छ । संगठनले मंगलबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार संसारभरि शतप्रतिशत पर्यटकीय गन्तव्य बन्द भएका छन् ।

संगठनका अनुसार विश्वका हरेक मुलुकले विदेशी नागरिकलाई घुमघामको प्रयोजनमा प्रवेश गर्न रोक लगाएका छन् । यसले शतप्रतिशत गतिविधि ठप्प भएको छ । कोभिड-१९ संक्रमणका कारण यसरी पर्यटकीय गन्तव्य ठप्प भएको व्यवसायिक पर्यटन शूरु भएयताकै पहिलो पटक हो ।

यसअघि पनि विश्वले ठूलाठूला संकट ब्यहोरिसकेको थियो । त्यसबेला पनि कुनै न कुनै रुपमा पर्यटकीय गतिविधि र गन्तव्य सूचारु रहेको संगठनले जनाएको छ। तर, कोरोनाका कारण भने अन्तर्राष्ट्रिय पर्यटकीय गतिविधि भने शून्यमा झरेको हो ।

संगठनले १५ दिन अगाडि सार्वजनिक गरेको तथ्यांकमा विश्वभर ९४ प्रतिशत गन्तव्यमा प्रतिबन्ध लागेको थियो । यूएनडब्लूटीओका महासचिव जुरब पोलोलिकासविल्लीले विश्वव्यापी महामारीविरुद्ध पर्यटन क्षेत्रले देखाएको प्रतिवद्धताको प्रशंसासमेत गरेका छन् ।

पछिल्ला अध्ययनहरूले पर्यटनलाई संकटपछि माथि उकास्न र त्यसको तयारी गर्न समेत सहयोग पुग्ने सुझाव दिएका छन् । संगठनले जोखिमको विश्लेषण गरी सुरक्षाको प्रत्याभूतिसहित क्रमशः यात्रामा लगाएको प्रतिबन्धहरू खुला गर्न समेत मुलुकहरूलाई आह्वान गरेको छ ।

२१७  मुलुकमा यात्रा प्रतिबन्ध

संगठनमा अहिले कुल दुई सय १७ सदस्य राष्ट्र छन् । आफ्ना सबै सदस्य राष्ट्रहरूमा यात्रामा प्रतिबन्ध रहेको संगठनले उल्लेख गरेको छ । खासगरी संगठनले कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेपछि यसरी प्रतिबन्ध लाग्न सुरु भएको हो ।

पहिलो पटक ३१ डिसेम्बरमा चीनको बुहान सहरमा देखिएको कोभिडलाई विश्व स्वास्थ्य संगठनले ३० जनवरीमा विश्वव्यापी महामारी घोषणा गरेको थियो ।

संगठनले २० अप्रिलसम्मको तथ्यांकलाई आधार मानेर प्रतिवेदन बनाएको छ । यस दिनसम्म कुनै पनि गन्तव्यले प्रतिवेदन खुला गरिसकेका छैनन् ।

यस्तो छ यात्रामा लागेको प्रतिबन्ध

४५ प्रतिशत : आंशिक वा पूर्ण रुपमा सीमा नाका बन्द, कुनै पनि यात्रुलाई मुलुक छिर्न प्रतिबन्ध ।

३० प्रतिशत : पूर्ण तथा आंशिक अन्तर्राष्ट्रिय उडान बन्द ।

१८ प्रतिशत : कुनै खास मुलुक तोकेर उनीहरूको यात्रामा लगाइएको प्रतिबन्ध ।

७ प्रतिशत : विभिन्न प्रकारका अनिवार्य प्रावधान -१४ दिन क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन, भिसा प्रावधानहरूमा भएको कडाइ।

३० प्रतिशतसम्म गिरावटको सम्भावना

सन् २०२० मा अन्तर्राष्ट्रिय पर्यटन बजारमा यात्रुको संख्या ३० प्रतिशतसम्मको गिरावट आउने प्रक्षेपण संगठनले गरेको छ ।

यो क्षतिले करिब आधा दशकसम्म पनि पूर्ति हुन नसक्नेगरी आर्थिक नोक्सानी हुने अनुमान गरिएको छ ।

नेपालमा कस्तो प्रतिबन्ध ?

संगठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल सीमा नाका पूर्ण रुपमा बन्द गरिएको गन्तव्यभित्र पर्छ । त्यसमा पनि राष्ट्रिय-अन्तर्राष्ट्रिय उडान प्रतिबन्धले नेपाललाई थप कडा प्रतिबन्ध भएको मुलुकभित्र पारेको छ ।

नेपालमा २ जेठसम्म लागु हुने गरी राष्ट्रिय-अन्तर्राष्ट्रिय व्यवसायिक उडानमा प्रतिबन्ध लागेको छ । ३१ वैशाखसम्म सीमा नाका बन्द छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment