Comments Add Comment

‘कोरोनाले राष्ट्रिय खेल भलिबलमा ब्रेक लाग्यो’

१७ वैशाख, काठमाडौं । २०७७ वैशाख अन्तिमदेखि नेपाल भलिबल संघ (एनभीए) ले पाँचौ एनभीए राष्ट्रिय क्लब भलिबल लिग प्रतियोगिताको तयारी गरेको थियो । त्यसको केही समयपछि एनभीएको निर्वाचनसमेत हुने तयारी थियो । नयाँ नेतृत्वका विषयमा आन्तरिक छलफलहरु हुँदै थिए ।

यस्तै राष्ट्रिय पुरुष भलिबल टिमले छैटौं संस्करणको सेन्ट्रल जोन च्याम्पियन २०७७ सालमै खेल्ने तय थियो ।

तर यी सबै कार्यक्रम अहिले रोकिएका छन् ।

एनभीए अध्यक्ष मनोरञ्जनरमण शर्मा कोरोनाले नेपाली भलिबलमा ‘ब्रेक’ नै लगाइदिएको बताउँछन् ।

‘कोरोनाले गर्दा अहिले पृथ्वीको चक्र नै ठ्याक्कै उल्टो घुमेको जस्तो भयो । संसारका मानिसको सोचाई नै उल्टो घुम्नुपर्ने बाध्यतामा परेको छ’ उनले भने ।
भलिबल गतिविधिमा सक्रिय भइरहने शर्मा हिजोआज घरमै समय बिताइरहेका छन् ।

अब कुरा गरौँ नेपाली भलिबलको । नयाँ वर्ष नयाँ जोशका साथ खेलकर्मी अगाडि बढ्थे होला सायद । तर चैतको पहिलो सातादेखि नेपालको सबैखाले खेलकुद गतिविधि रोकिएको छ ।

भलिबलमा भने पुरुष सेन्ट्रल जोनको तयारी त्यतिबेलै रोकिएको थियो । बाँकी कार्यक्रम भने नयाँ वर्ष २०७७ मा तय थियो तर अहिले रोकिएको छ ।

एनभीएले २०७७ वैशाख २५ देखि पाँचौ एनभीए क्लब लिग आयोजना गर्ने तयारी गरिरहेको थियो । तर कोरोनाकै कारण अन्तर्राष्ट्रिय भलिबल गतिविधिमा समेत असर परिरहेको भन्दै एनभीएले तत्कालका लागि क्लब लिग स्थगित गरिसकेको छ ।

निर्वाचनको मिति टुङ्गो नभए पनि अब त्यो समयमै नहुने पक्का छ । अन्तर्राष्ट्रिय भलिबल संस्थाहरुको निर्वाचन भएपछि नेपालको निर्वाचन गर्ने तयारी गरे पनि परिस्थिति फेरिएको अध्यक्ष शर्माले बताए ।

नयाँ निर्वाचनका लागि भलिबलको अन्तर्राष्ट्रिय संस्था एभीसीसँग कुराकानी भइरहेको शर्मा बताउँछन् ।

यस्तै कोरोनाकै कारण पुरुष सेन्ट्रल जोन सेप्टेम्बरको लागि सरेको छ । तर सेप्टेम्बरमा पनि हुने वा नहुने टुंगो छैन । ‘सेन्ट्रल जोन अब के हुन्छ भन्न सकिने अवस्था छैन । सबै लकडाउनमा छन् । कसैले आँट गर्दैन होला’ शर्मा भन्छन् ।

एनभीएले गर्ने पाँचौ संस्करणको पुरुष र महिला राष्ट्रिय क्लब लिग पनि अनिश्चित बनेको छ । ‘क्लब लिग पनि वैशाख अन्तिममा गर्ने भनेको स्थगित भयो । अरु प्रतियोगिताहरु पनि हुन्थ्यो रोकिएको छ । अब कहिले हुन्छ थाहा छैन’ शर्माले भने ।

कोरोनाले गर्दा प्रतियोगिता तयारी रोकिनुले नेपाली भलिबलमा धेरै असर गर्ने अध्यक्ष शर्माले बताए । ‘हामी स्पिडमा गइरहेको थियौँ । चुनाव पनि गराउँछौं । खेलहरु पनि गराउँछौं । स्पोनसर पनि खोजिरहेका छौं । वाणिज्य बैंकले सम्झौता नवीकरण गरिदियो, अरु स्पोन्सरसँग पनि कुरा हुँदै थियो, तर अहिले सबैमा ब्रेक लागेको छ’ उनी भन्छन् ।

भलिबल नेपालको राष्ट्रिय खेल भएकोले सरकारले पनि यसबारे सोच्नुपर्ने र राष्ट्रिय खेलको महत्वलाई बुझिदिनुपर्ने शर्माको भनाइ छ । ‘राष्ट्रिय खेल भन्ने सहयोग नगर्ने । यसरी अलि भएन नि’ शर्माले भने ‘बजेट राख्नुपर्छ भनेर मन्त्रीलाई भनिसक्यौँ । राष्ट्रपतिकहाँ कुरा पुर्‍याएका छौं ।’

शर्माले राष्ट्रिय खेल भएकोले सरकारले ५० देखि ६० लाख रुपैयाँ टोकन मनी दिने वा केही स्थायी व्यवस्था गरिदिनुपर्ने बताए ।

अब भलिबलमा फर्कन सरकारलगायतको अनुमति चाहिने शर्माले बताए । ‘राखेपले अनुमति दिनुप¥यो । नेपाल सरकारको नियम मान्नुपर्‍यो । अन्तर्राष्ट्रिय क्षेत्रको नियम मान्नुपर्‍यो । खेलाडीलाई पहिलेको जस्तै तयारी अवस्थामा राख्नुपर्‍यो’ शर्माले भने, ‘त्यसैले दिमागले अहिले ठ्याक्कै यही गर्ने भनेर सोच्न सकेको छैन । संसारका मान्छे नै डिमोरलाइज भएका छन् ।’

एनभीए अध्यक्ष शर्माले नेपाली खेलाडीहरुको फिटनेस र अवस्थाको बारेमा बुझ्न जानकारी लिन पनि एनभीएका महासचिवलगायत पदाधिकारीहरु लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment