Comments Add Comment

बहराइनमा किन देखिँदैछ धेरै नेपालीमा कोरोना संक्रमण ?

१७ वैशाख, काठमाडौं । खाडी मुलुकहरूमा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिँदा त्यहाँका स्थानीयवासी मात्र होइन, नेपालीहरू पनि त्रासमा छन् । किनकी वैदेशिक रोजगारीका लागि विदेश गएका धेरै नेपालीहरू जोखिममा छन् ।

त्यसमध्ये एक देश हो बहराइन ।

मंगलबार एकैदिन बहराइनमा रहेका थप ७७ जना नेपालीलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि भयो । यससँगै संक्रमित नेपालीहरूको संख्या १२६ पुगेको छ ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार बुधबार पनि थप नेपालीमा संक्रमण देखिएको खबर आएको छ । तर, औपचारिक रुपमा जानकारी आइसकेको छैन ।

धेरै संक्रमण देखिएपछि बहराइनमा रहेका नेपालीहरूको परिवार नेपालमा चिन्तामा छन् । तर, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउँछन् । बहराइनको सरकारले बिरामीको बारेमा खुलेर जानकारी दिने गरेका कारण पनि संख्या धेरै देखिएको उनी बताउँछन् ।

बहराइनमा एक हजार पाँच सय ५६ जना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये धेरै स्थानीय छन् भने आप्रवासीहरूमा भारत, बंगलादेश, पाकिस्तानपछि नेपाली संक्रमितको संख्या ठूलो छ । कोरोना संक्रमणकै कारण बहराइनमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ । उपचारपछि निको भएर घर फर्किनेहरूको संख्या एक हजार दुई सय ४६ छ । तर, त्यसमध्ये कति नेपाली डिस्चार्ज भए भन्ने खुलेको छैन ।

किन धेरै संक्रमण ?

मंगलबार पहिचान भएका ७७ संक्रमित ३–४ वटा कम्पनीका कामदाहरू भएको राजदूत सुन्दासले बताए । त्यसमध्ये धेरै एउटै सुपरमार्केटमा काम गर्ने नेपालीहरू छन् । ‘कम्पनी र कतिपय बाहिरी ठाउँमा भएको छुट्टाछुट्टै परीक्षणमा संक्रमित नेपालीहरू भेटिएका हुन्,’ राजदूत सुन्दासले अनलाइनखबरसँग भने ।

संक्रमित कामदारको संख्या धेरै भए पनि आत्तिनुपर्ने अवस्था नरहेको सुन्दासले बताए । ‘हामी बिरामी श्रमिकसँग कुराकानी पनि गरिरहेका छौँ, सबैको अवस्था सामान्य छ,’ उनले भने, ‘यहाँको स्क्रिनिङ, क्वारेन्टाइन र उपचार पद्धति निकै राम्रो छ, विश्व स्वास्थ्य संगठनले पनि प्रशंसा गरेको छ, त्यसैले कसैले डराउनुपर्दैन ।’

दूतावासका अनुसार कामदारहरूको बासस्थानमा सामाजिक दुरी कायम गर्न नसक्दा संक्रमणको दर बढिरहेको छ । एकैस्थानमा धेरै कामदार बस्ने गरेकाले एक जनामा भएको संक्रमण अन्यमा फैलिएकाले नेपाली कामदाहरू असुरक्षित बन्न पुगेका छन् । त्यसैकारण त्यहाँको सरकारलाई बस्ने स्थानमा कामदारहरूबीच दुरी कायम हुनेगरी व्यवस्थापन गर्न दूतावासले आग्रह गरेको छ ।

‘हाम्रो आग्रहअनुसार बहराइन सरकारले पनि व्यवस्थापन गर्न थालेको छ, त्यसबारे जानकारी लिन आज दूतावासको टोली विभिन्न स्थानमा पुगेको छ,’ राजदूत सुन्दासले भने, ‘समस्या थपिन नदिन हामी पहल गरिरहेका छौँ ।’

अहिले बहराइनमा सेमिलकडाउन छ । कम्पनीहरू बन्द भएपनि ठूला परियोजनामा काम भइरहेको छ । बिहान र बेलुका कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

मानमास्थित नेपाली दूतावासका अनुसार कतिपय कामदार भिसा अवधि सकिएर पनि नेपाल फर्किन सकेका छैनन् । उनीहरूलाई खानाको समस्या नहोस् भनेर दूतावास, स्थानीय संघ संस्था र सहयताकर्मीले सहयोग गरिरहेका छन् । बहराइनमा करिब ३५ हजार नेपाली कार्यरत रहेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment