Comments Add Comment

गर्भवती र सुत्केरीलाई पोषणयुक्त राहत

१८ वैशाख, जनकपुरधाम । लक डाउनको समयमा प्रभावित विपन्न तथा गरिब परिवारका गर्भवती तथा सुत्केरीहरुलाई भोर नामक संस्थाले पोषणयुक्त राहत प्याकेज घोषणा गरेको छ । लकडाउनको समयमा जनप्रतिनिधिहरुले दाल र चामल मात्रै वितरण गरिरहँदा गर्भवती, सुत्केरी, स्तनपान गराउने आमा र पाँच वर्ष मुनिका बालबालिकाको स्वास्थ्य जोखिममा रहेको भन्दै भोरले विशेष राहत प्याकेज घोषणा गरेको हो ।

भोरका संस्थापक अध्यक्ष राजकुमार महतोले विपन्न परिवारका गर्भवती, सुत्केरी, स्तनपान गराउने आमा, पाँच वर्षमुनिका बालबालिका र किशोरीहरुलाई कुपोषणबाट बचाउन विशेष राहत प्याकेज तयार पारिएको बताए । ‘यो विशेष पोषण सप्लिमेन्टल प्याकेज सात वटै प्रदेशको एउटा स्थानीय तहको एउटा वडाबाट प्रारम्भ गरिनेछ,’ महतोले भने, ‘त्यसपछि श्रोतको उपलब्धता र सहयोग प्राप्तिको आधारमा यसलाई विस्तार गरिनेछ ।’

महतोका अनुसार यो राहत प्याकेजमा १६ वटा सामग्रीलाई समावेश गरिनेछ । उपलब्ध भएसम्म पोलिस नगरेको चामल, मुँग दाल, शुद्व सरस्युँको तेल, ज्वानो, गेडागुडी, सर्वोत्तम पिठो बनाउने खाद्यय सामाग्री, अण्डा (मांसाहारीका लागि मात्र) समावेश गरिएको महतोले बताए ।

यस्तै, हरियो तरकारी तथा सागपात, स्थानीय रुपमा उपलब्ध फलफुल, आयोडिनयुक्त नुन, भिटामिन ए क्याप्सुल, अलबेन्डाजोल ट्याब्लेट, स्यानिटरी प्याड, आइरन चक्की, कण्डम र म्यूयाक टेप पनि प्याकेजमा राखिने उनले बताए ।

‘यो राहत प्रत्येक लाभान्वित समूहलाई १० दिनको लागि पुग्ने गरी प्रदान गर्ने योजना छ,’ उनले भने, ‘सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयंसेविकाले पहिचान गरेका विपन्नलाई वडा अध्यक्षको उपस्थितिमा वितरण गरिनेछ ।’

प्रदेश १ को विराटनगर महानगरपालिका वडा नम्बर १२, प्रदेश २ को चन्द्रनगर गाउँपालिका वडा नम्बर २, बागमती प्रदेशको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६, गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नम्बर ३१, प्रदेश ५ को वाणगंगा नगरपालिका, कर्णाली प्रदेशको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा पहिलो चरणमा यो राहत वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment