Comments Add Comment

एक्लोपन कति आनन्ददायक ?

मानौं तपाईं कुनै घर वा कोठाभित्र एक्लै बस्नुपर्ने भयो। त्यो क्षण तपाईंलाई कस्तो लाग्ने छ ? समय कसरी बित्नेछ ?

धेरैले दिने जवाफ हो, ‘अहो, त्यो सम्भव नै छैन ।’

एक्लै बस्नुपर्दा मान्छेलाई पट्यारलाग्छ, दिक्क लाग्छ । समय कटाउने बहाना पाउँदैनन् । अक्सर बातचित गरिरहनुपर्ने, भलाकुसारी गरिरहनुपर्ने, रमाइलो गरिरनुपर्ने मान्छेलाई एक्लै बस्दा कस्तो होला ?

सबैको राय मिल्छ भन्ने छैन । तर, कतिपय एक्लो बस्न नै बढी रुचाउँछन् । आफन्त, साथीभाइ, भिडभाडभन्दा अलग रहेर आफ्नै दुनियाँमा मग्न हुन चाहन्छन् ।

अमेरिकी लेखिका एनेली रुफसले ‘पार्टी अफ वनः द लोनर्स म्यानिफेस्टो’ नामक किताब नै लेखेकी छिन् । किताबमा लेखिएको छ, ‘एक्लो रहनु एकदमै आनन्ददायक छ । तपाईं स्वयम् आफूमा केन्द्रित रहनसक्नुहुन्छ । तपाईंको सिर्जनशील क्षमता बढ्छ । मानिससँग बसेर अनावश्यक कुराकानी गर्न, हासीमजाक गर्नबाट बच्नुहुन्छ ।’

त्यसो त कवि, चित्रकार वा सिर्जनशील मान्छेहरू एक्लोपन रुचाउँछन् । उनीहरू नितान्त एक्लो हुँदा पनि आफैँमा रमाइरहेका हुन्छन् । आफैँसंग संवाद गरिरहेका हुन्छन् । आफैँसँग तर्क-वितर्क गरिरहेका हुन्छन् । एक अध्ययनमा भनिएको छ, ‘आफू स्वयंसँग समय बिताउनु आफ्नो लागि फाइदाजनक छ । यसले रचनात्मक क्षमता बढाउन एकदमै सहयोग गर्छ ।’

जब हामी एक्लो हुन्छौँ, तब अनावश्यक झै-झमेला, तनाव, हो-हल्ला आदिबाट मुक्त हुन्छौँ । यस्तो अवस्थामा कुनैपनि कुरामा गहिरो चिन्तन गर्न सकिन्छ । विगतका कुराहरू स्मरण गर्न सकिन्छ ।

साथीहरूसँग दुरी बनाउनु, भोज भत्तेरमा सामेल नहुनु, आफैँमा फाइदाजनक हुने बताइन्छ । एक्लोपनले आत्माविश्वास समेत बढ्ने उक्त अध्ययनको निष्कर्ष छ ।

किन एक्लोपन ?

कतिपय मान्छेको प्रवृत्ति नै एक्लोपनमा रमाउने हुन्छ । उनीहरू अरूसँग बस्न त्यति रुचाउँदैनन् । यसमा तीन वटा कारण औँल्याइएको छ ।

कोही लजालु हुन्छन्, त्यहीकारण उनीहरू अरूसँग घुलमिल हुँदैनन् ।

कतिपय व्यक्ति रसरङ्ग, हो-हल्लामा जान रुचाउँदैनन् ।

कतिपय चाहिँ यस्ता पनि हुन्छन्, जो मिलनसार भएर पनि एक्लो रहन रुचाउँछन् ।

एक्लोपन र आध्यात्मिक चिन्तन

हिन्दु धर्मदेखि बौद्ध धर्मसम्म, एक्लो रहेर तप गर्नु र चिन्तन मनन् गर्न सल्लाह दिइन्छ ।

जब हामी एक्लो हुन्छौँ, हाम्रो मस्तिष्क आरामको मुद्रामा आउँछ । अर्थात् मस्तिष्कले आराम पाउँछ । भनिन्छ, यदि मानिस एक्लो रहन्छन् वा एक्लै समय बिताउँछ भने त्यो फाइदाजनक छ ।

तर, समस्या पनि

भिडभाड, रसरङ्ग, भोज भतेरमा रमाउन बानी परेका मानिसहरू जब एक्लोपनको शिकार हुन्छन्, त्यो दु:खको कुरा हो । एक्लोपनलाई कतिपयले चिन्ता, डिप्रेसनको संकेत भनी भन्ने गरेका छन् । यसलाई भयानक बिरामीको संज्ञा दिइएको छ । एक्लोपनले हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर बनाउँछ ।

यसले हामीमा असामाजिक मनोवृत्तिको विकास गर्ने जोखिम रहन्छ । समाज वा परिवारबाट टाढा रहेर एक्लै बस्ने प्रवृत्तिले सुख कम र दुःख बढी दिन्छ । समाज, साथीभाइ, परिवारसँग घुलमिल वा एकाकार भएर बाँच्दा जति सहज हुन्छ, एक्लो जीवन उति नै कठिन हुन्छ ।

दु:खलाग्दो चाहिँ के भने, अहिले विश्वमै मानिस एक्लोपनको शिकार बन्दैछन् । एक्लोपनबाट मुक्ति पाउनका लागि उनीहरूलाई मनोवैज्ञानिक परामर्श आवश्यक भइसकेको छ । कति त उपचारका लागि धाइरहेका पनि छन् ।

के गर्ने त ?

राम्रो त के भने मन मिल्दो साथी बनाउनुपर्छ । उनीहरूसँग हामी क्वालिटी टाइम बिताउनुपर्छ । बीच-बीचमा थोरै समय रमाइलोमा बिताउनुपर्छ । स्वयंमाथि केन्द्रित रहनुपर्छ । चिन्तन मनन् गर्नुपर्छ । यस किसिमको तालमेल बनाउनु नै सबैभन्दा राम्रो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment