Comments Add Comment

नारायणी अस्पतालमा जनरल सेवा सञ्चालन गर्न स्वास्थ्यमन्त्रीसँग माग

२३ वैशाख, वीरगञ्ज । नारायणी अस्पतालमा जनरल सेवा सञ्चालन गर्न माग राख्दै नेकपाको एक टोली स्वास्थ्य मन्त्रालय पुगेको छ । उनीहरुले नेकपा नगर कमिटी अध्यक्ष रहबर अन्सारीको गण्डक अस्पतालमा कोभिड अस्पताल सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।

नारायणीलाई कोभिड अस्पताल बनाएर जनरल सेवा बन्द गर्दा पर्सा, बारा, रौतहतटका सर्वसाधारण समस्यामा परेको स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बताएका छन् ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा झण्डै अढाई घण्टा भएको छलफलमा स्वास्थ्यमन्त्रीले सकारात्मक प्रतिक्रिया दिएको संविधान सभा सदस्य विचारी यादवले जानकारी दिए ।

‘नारायणीलाई कोभिड अस्पताल बनाउँदा आइपरेको समस्याका बारेमा अढाईघण्टा छलफल भयो,’ उनले भने ‘नारायणीमा जनरल सेवा सञ्चालन गर्ने र कोभिड अस्पतालका लागि विकल्प खोज्न उहाँ सकारात्मक देखिनुभएको छ ।’

नारायणीको शाखाको रुपमा छुट्टै कोभिड अस्पताल सञ्चालनमा ल्याउन पनि मन्त्रीले सहमति जनाएको यादवले बताए । यादवसँगै नेकपाका नेता नागेन्द्र चौधरी र अस्पताल सञ्चालक रहबर अन्सारी मन्त्रालय पुगेका थिए ।

सञ्चालक अन्सारीले गण्डक अस्पताललाई नारायणीको शाखाको रुपमा कोभिड सञ्चालन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिए । ‘नारायणीको शाखाको रुपमा गण्डकबाट कोभिड–१९ सेवा सञ्चालन गर्ने र नारायणीबाट नियमित जनरल सेवा प्रदान गर्ने भनी प्रक्रिया अगाडि बढेको छ’ उनले भने ।

नारायणीमा जनरल सेवा सञ्चालन गर्नेबारे आधिकारिक जानकारी नआइसकेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए ।

मन्त्रालय स्रोतका अनुसार नारायणीमा जनरल सेवा सञ्चालन गर्न मन्त्रालय सकारात्मक छ । तर कोभिड अस्पताल सञ्चालनको विषयमा भने मन्त्रालय अन्यौलमै छ । नारायणीकै शाखाको रुपमा गण्डकमा कोभिड सेवा सञ्चालन गर्ने वा नारायणी अस्पतालमा आँखा, दात, रेबिज सेवा दिइरहेको भवनलाई मर्मत गरेर कोभिड सेवा दिने भन्ने विषयमा छलफल भइरहेको छ ।

सरकारले कोभिड लेभल २ अस्पताल घोषणा गरेपछि वैशाख २ गतेबाट नारायणी अस्पतालमा जनरल सेवा बन्द गरिएको छ । नारायणीबाट प्रदान हुने सेवा सरकारी दर र सहुलियतमा प्रदान गर्न नेशनल मेडिकल कलेजलाई जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment