Comments Add Comment

सिंगापुरमा २० हजार नाघे कोरोना संक्रमित

२४ वैशाख, काठमाडौं । सिंगापुरमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २० हजार नाघेको छ । बुधबार सिंगापुरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सात सय ८८ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै मुलुकको समग्र संक्रमितको संख्या २० हजार एक सय ९८ पुगेको छ । सिंगापुरमा देखिएकामध्ये धेरैजसो आप्रवासी कामदारमा देखिएको छ । पछिल्लो केही सातायता सिंगापुरमा कोरोना संक्रमितको संख्या उल्लेख्य मात्रामा बढेको छ ।

मंगलबारबाट सिंगापुरले लकडाउन खुकुलो पार्ने निर्णय गरेको थियो । लकडाउनका कारण मुलुकको अर्थतन्त्र कमजोर बनेको भन्दै सरकारले व्यवसायहरु सञ्चालनको अनुमति दिएको हो । यद्यपि अहिले खुलेका व्यवसायहरुले कडा नियमको पालना गर्नुपर्ने हुन्छ । खुलेका व्यवसायहरुमा मास्क लगाउनु अनिवार्य गरिएको छ भने खाजा खाने सामयमा कर्मचारीको भेला गर्न नपाइने व्यवस्था गरिएको छ ।

सिंगापुरले मे १९ देखि मुलुकमा विद्यालयहरु पनि खोल्ने योजना अघि सारेको छ । यद्यपि आप्रवासी कामदारहरुलाई आफ्नै बासस्थानमा आइसोलेसनमा बस्न दिइएको निर्देशन भने जुन १ सम्म जारी रहनेछ ।

सिंगापुरमा संक्रमितको तुलनामा मृत्यु हुनेको संख्या भने कम छ । अहिलेसम्म सिंगापुरमा कोरोना भाइरसको कारण १८ जनाको मृत्यु भएको छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment