+
+
Shares

लकडाउनमा रोकिएन भ्रष्टाचार, अख्तियारमा बढ्यो अनलाइन उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते ९:४२

२६ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) मा अनलाइन उजुरी दिनेहरूको संख्या बढेको छ ।

कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका बेला पनि उजुरीमा कमी नआएको अदुअआ प्रवक्ता प्रदीपकुमार कोइरालाले अनलाइनखबरलाई बताए ।

‘अधिकांश उजुरी अनलाइनबाट आएका छन्’ कोइराला भन्छन्, ‘लकडाउनका कारणले होला, अनलाइन उजुरी ह्वात्तै बढेको छ ।’

इमेल, वेभसाइट, फेसबुक, भाइबर, टि्वटर, हटलाइन र टोल फ्रि नम्बरबाट अदुअआमा उजुरी गर्नेको संख्या बढेको हो ।

कुल उजुरी बढ्न सक्ने

अदुअआले कञ्चनपुर, सुर्खेत, नेपालगञ्ज, बुटवल, पोखरा, हेटौडा, बर्दिवास, इटहरी र टंगालस्थित कार्यालयबाट उजुरी लिन्छ ।
गत आर्थिक वर्षमा सबै कार्यालयमा गरेर १६ हजार नौ सय ९७ उजुरी परेका थिए । जसमध्ये सबैभन्दा बढी टंगालस्थित प्रधान कार्यालयमा नौ हजार आठ सय ५५ उजुरी परे ।

आर्थिक वर्ष २०७५/०७६ मा प्रधान कार्यालयमा मासिक औसत आठ सय २१ उजुरी परेका थिए । त्यहाँ यसपटक वैशाखको पहिलो दुई हप्तामै पाँच सयभन्दा बढी उजुरी परेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

‘महामारीमा मह चाट्न खोज्ने बढे’

ओम्नी समूहमार्फत चीनबाट दशौं गुणा बढी मूल्यमा स्वास्थ्य सामग्री खरिद गरिएको भन्दै अदुअआमा दुईवटा उजुरी परेका छन् ।
वागमती प्रदेश सांसद तथा विवेकशील नेपाली दलका नेता रमेश पौडेल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री, स्वास्थ्यसचिवलगायत विरुद्ध छुट्टाछुट्टै उजुरी दिएका हुन्।

अदुअआ स्रोतका अनुसार लकडाउनका बेला परेका उजुरीहरू स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन निर्माण, राहत वितरणसँग सम्बन्धित छन् । केही उजुरी काठ तस्करी, गिटी बालुवा उत्खननसँग सम्बन्धित छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालका अध्यक्ष खेमराज रेग्मी कोभिड-१९ महामारीका बेला भ्रष्ट मानसिकता भएकाहरूले मौकामा चौका हान्न खोजेको बताउँछन् ।

‘सबैको ध्यान कोरोनामा केन्द्रित हुन्छ। जति लुटे पनि कसैले विरोध गर्दैन भन्ने प्रवृत्तिले गर्दा भ्रष्टाचार बढेको देखिन्छ’ अध्यक्ष रेग्मी भन्छन्, ‘भ्रष्टाचार भएको नजिकबाट थाहा पाउनेले उजुरी दिएको हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?