Comments Add Comment

आइतबारदेखि बैङ्कका सबै शाखा खुला हुन्छन् : अध्यक्ष दाहाल

२६ वैशाख, काठमाडौं । आइतबारदेखि बैङ्कका सबै शाखा कार्यालयहरू खुला हुने भएका छन्। सरकारले लकडाउनकै बीच  उद्योगहरू खुला गर्ने भएपछि बैङ्कहरूले पनि सबै शाखा कार्यालय खोलेर सेवा दिने भएका हुन् ।

यस अघि बैङ्कहरूले आंशिक रुपमा मात्रै सेवा प्रदान गरिरहेका थिए । एक दिन वानेश्वरको शाखा त अर्को दिन कोटेश्वर, अर्कोदिन अर्कै ठाउँको शाखा कार्यालय खोलेर सेवा दिइरहेका बैङ्कहरूले अब भने सबै ठाउँका शाखाहरू खोल्ने नेपाल बैङ्कर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

उनका अनुसार बैङ्कका सम्पूर्ण शाखा खोल्न सबै बैङ्कलाई अनुरोध गरिसकिएको छ। केही साह्रै समस्यामा परेका शाखाहरूबाहेक अन्य खुला हुने अध्यक्ष दाहालले बताए ।

मन्त्रिपरिषद् बैठकले बैङ्क तथा वित्तीय संस्था, बिमा, धितोपत्र, सहकारीमार्फत् अतिआवश्यक सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाइ कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने भनेर निर्णय गरेको थियो ।

सरकारी निर्णयअनुसार नै एक तिहाइ कर्मचारी राखेर सेवा सुचारु गरिने उनले बताए । शाखा कार्यालयहरू खुला भए पनि सुरक्षाका आवश्यक सावधानीहरू भने अपनाइने बताए । उनका अनुसार एक पटकमा शाखा कार्यालयभित्र पाँच जनाभन्दा बढी सेवाग्राहीले प्रवेश पाउने छैनन् ।

माक्स र स्यानिजाइजरसमेत कर्मचारी र सबै सेवाग्राहीका लागि अनिवार्य गरिने अध्यक्ष दाहालले बताए । ‘आइतबार अपवादबाहेकका सबै शाखाहरू कार्यालयहरू खोलेर सेवा दिनेछौं। तर, उच्च सुरक्षा सतर्कता अपनाउनु पर्नेछ’ अध्यक्ष दाहालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment