Comments Add Comment

जितपुरमा नेपाली सेनाले बनाउन थाल्यो एकीकरण स्मृति उद्यान

प्रदेश नं २ का मुख्यमन्त्री राउतले गरे उद्घाटन

२७ वैशाख, वीरगञ्ज । नेपाली सेनाले नेपाल एकीकरणको क्रममा अँग्रेजसँग भएको युद्धको स्मरणमा पार्क निर्माण गर्ने भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा केन्द्र सरकार र प्रदेश २ सरकारको सहयोगमा नेपाली सेनाले एकीकरण स्मृति उद्यान बनाउने भएको हो । पार्कको शनिबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शिलान्यास गरे ।

पार्क वीरगञ्ज–पथलैया व्यापारिक मार्गमा अवस्थित नेपाली सेनाको श्री नं २८ बाहिनी परिसरमा बन्ने भएको छ । २ विगाहा २ कठ्ठा ३ धुर क्षेत्रफलमा बन्न लागेको सो पार्क निर्माणका लागि कुल २१ करोड ९५ लाख ८८ हजार रुपैयाँ लाग्ने बताइएको छ । पार्कको निर्माण वि सं २०७८ जेठ ३१ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तत्कालीन समयमा अँग्रेजविरुद्धको युद्धमा तराईवासी र पहाडवासीले संयुक्त रुपमा लडेर अँग्रेज सेनाहरूलाई परास्त गरेको स्मरणमा यो पार्क बनाउन लागिएको नेपाली सेनाका सहायक रथी अनुपजंग थापाले जानकारी दिए ।

उनका अनुसार पार्क निर्माणको पहिलो चरणमा तीन वटा प्याकेजमा काम सुरु गर्न लागिएको छ । पार्क भित्र हुने एक्जिभिसन हल निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने भएको छ । कुल ७ करोड लाग्ने हलका लागि प्रदेश २ सरकारले चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरिसकेको छ । सोको लागि हेटौंडास्थित भैरव कन्सट्रक्सनले एक करोड ८४ लाख २२ हजार नौ रुपैयाँ ५९ पैसामा ठेक्का सकारिसकेको छ ।

शिलान्यासपछि मन्तव्य दिँदै मुख्यमन्त्री गद्दीले मधेसको इतिहास बोकेको पार्क प्रदेशकै गौरवको योजना भएको बताए । ‘नेपालको एकीकरणमा मधेसी जनताले समेत भूमिका निर्वाह गरेको धेरैको ज्ञानमा थिएन ।’ उनले भने ‘यो पार्कले सबैलाई त्यसको ज्ञान दिलाएर महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

मुख्यमन्त्री गद्दीले हिमाल, पहाड, तराईलाई जोडने कार्यमा प्रदेश सरकारले अग्रणी भूमिका निर्वाह गर्ने बताए । नेपालको एकीकरण अभियानमा मधेसवासी नेपालीले दिएको योगदान झल्काउन, नागरिक सैनिक सम्बन्ध प्रगाढ बनाउन, राष्ट्रिय एकताको जिम्मेवारी निर्वाह गर्न र परम्परा प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले पार्क बनाउन लागिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटरका उपरथी सुरेश कुमार कार्कीले नेपाल एकीकरणमा मधेसवासी जनताले खेलेको भूमिकाको कदर गर्न पार्क निर्माण गर्न लागिएको जानकारी दिए ।

‘परापूर्वकालदेखि नै मधेसवासी र पहाडवासी नेपालीबीच सहकार्य रहँदै आएको छ, नेपालको एकीकरणमा नेपाली मधेसवासीको योगदान छ ।’ उनले भने ‘खासगरी नेपाल अंग्रेज युद्धताका अंग्रेजहरूको कतिपय फौज मधेसका इलाकाबाट आएको र उनीहरूलाई रोक्न गोर्खाली फौजलाई तराई मधेसका जनताले योगदान र बलिदान दिएको इतिहास छ । पार्कमा ती कुराहरूलाई झल्काइन्छ ।’

त्यस्तै, केन्द्र सरकारले पार्क निर्माणका लागि ५ करोड बजेट दिएको छ । माटो भर्ने, खुल्ला मञ्च बनाउने तलेजु भवानीको मन्दिर, दुईवटा गेट बनाउने लगायत कामका लागि तीन करोड ४७ लाख २७ हजार २ सय ८६ रुपैयाँ २८ पैसामा हेटौंडाकै हनुमान कन्स्ट्रक्सनले ठेक्का पाएको छ । दुवै कम्पनीले आफ्नो जिम्मेवारीको काम असार २५ गतेसम्म पुरा गर्नुपर्ने बताइएको छ ।

स्मारकको पूर्वाधार बनाउन वैशाख २९ गते अर्को टेन्डर खोल्ने र आर्थिक वर्ष २०७७÷७८ मा बाँकी १५ करोडको काम सक्नेगरी तयारी गरिएको नेपाली सेनाले जनाएको छ । पार्क शिलान्यास कार्यक्रममा प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित लगायतको उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment