Comments Add Comment

प्रिबजेट छलफलमा सांसदले खोजे प्रधानमन्त्री र अर्थमन्त्री

३० वैशाख, काठमाडौं । सांसदहरुले प्रतिनिधिसभामा भइरहेको बजेट सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा प्रधानमन्त्री र अर्थमन्त्रीको उपस्थिति हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले विश्व कोरोनासँग लडिरहेका बेला मुलुकलाई कसरी चलाउने, जनताको जीवनरक्षा कसरी गर्ने भन्ने विषयमा जनप्रतिनिधिले राय दिइहेका बेला प्रधानन्त्रीेको उपस्थिति संसदमा हुनुपर्ने बताए ।

‘अहिलेको अवस्था, आम नागरिक, चिकित्सकहरुको धारणा, श्रमिकहरुको अवस्था कस्तो छ ? भनेर जनप्रतिनिधिले आफ्नो धारणा राखिरहेका बेलामा प्रधानमन्त्री उपस्थित हुनुभयो भने राम्रो हुन्थ्यो’’ उनले भने ।

कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका चिकित्सक, सुरक्षाकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स चालकको सुरक्षाका लागि सरकारलाई गम्भीर बन्न पनि उनले आग्रह गरे ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले छलफलका क्रममा अर्थमन्त्रीको अनिवार्य अपस्थितिको माग गरेका छन् । छलफलका क्रममा लिङ्देनले प्रतिनिधसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री उपस्थित नभए कर्मकाण्डी मात्रै हुने बताए ।

‘हामी छलफलमा छौं । यो छलफलपछि अर्थमन्त्रीले जवाफ दिनुहुन्छ । हाम्रो छलफल कसले सुनिराख्नुभएको छ । सभामुख महोदय म अर्थमन्त्रीको उपस्थिति माग गर्छु । अनि मात्रै आफ्नो कुरा राख्छु । अनि मात्रै मेरो समय प्रारम्भ हुन्छ’ उनले भने ।

सांसद लिङ्देनले सरकारले समाजवाद उन्मुख आर्थिक कार्यक्रमको कुरा गरे पनि रोजगारी सिर्जना गर्ने उद्योग निर्माणतर्फ ध्यान जान नसकेको बताए । हजारौं मान्छेलाई रोजगारी दिने उद्योग सञ्चालन गर्नेलाई २० वर्षसम्म कर नलिने घोषणा सरकारले किन गर्न सक्दैन भनेर प्रश्न गरे ।

कर्णालीको स्याउ खेर गएको र त्यहाँको जडिबुटीमा विचौलियाले फाइदा लिएको उल्लेख गर्दै लिङ्देनले कर्णालीमा गएर फलफुलसँग सम्बन्धित उद्योग खोल्नेलाई कर छुट र अनुदान दिने कार्यक्रम ल्याउन माग गरे ।

सांसद लिङ्देनले गाउँगाउँमा उद्योगधन्दा सञ्चालन गर्नेलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएर त्यसलाई प्राथमिकता दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment