Comments Add Comment

सांसदको आरोप : अर्थमन्त्रीले हामीलाई हेपे

३० वैशाख, काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा गाँजा खेती विस्तार गर्नुपर्नेदेखि अर्थमन्त्रीले सांसदहरुलाई हेपेकोसम्मका कुराहरु उठेका छन् ।

प्रिबजेट छलफलमा आफ्नो धारणा राख्दै सांसदहरुले गाँजा खेतीका लागि मार्ग प्रशस्त गर्नुपर्ने र अर्थमन्त्रीले सांसदहरुलाई हेपेको कुरा उठाएका हुन् ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद विरोध खतिवडाले गाँजा खेती विस्तारका लागि मार्ग प्रशस्त गरी बजेटको व्यवस्था गर्नुपर्ने बताए ।

कोरोना संकटपछि आर्थिक क्षेत्रमा ठूलो समस्या आउन सक्ने तर्फ संकेत गर्दै उनले किसानलाई गाँजा खेतीतर्फ प्रेरित गर्न यही बजेट अधिवेशनबाट मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

‘मान्छे हाइड्रो पावरका कुरा गर्छन् के गर्छन्, त्यो सीमित व्यक्तिको हातमा पैसा जाला देशमा राजस्व पनि आउला त्यो राजस्व छरिएर जाँदा गाउँमा पनि पुग्ला । तर प्रत्येक किसानको हातमा पैसा पुग्ने भनेको गाँजा खेती हो’ उनले भने ।

नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना महामारीले अर्थतन्त्रमा पार्ने असरबारे अहिले नै थाहा नहुने हुनाले अहिले सीमित बजेट ल्याएर पछि पूरक अनुमान ल्याउनुपर्ने बताए । तर यसबारे बजेट सिद्धान्त र प्राथमिकतामा कुनै कुरा नसमेटेर अर्थमन्त्री युवराज खतविडाले सांसदहरुलाई हेपेको उनले बताए ।

‘यो कित्ताले जानेको बुझेको भनेको अर्थमन्त्री हुनुहुन्छ । नआएर होइन । भन्न नचाहेर हो । किनकी सांसदहरुलाई केही पनि थाहा छैन । धारा, पानी रढलका बारेमा सांसदहरुले कुराकानी गर्ने हुन् । यसका बारेमा लेखेर खास अर्थ छैन भनेर जानी जानीकन हेपेर नल्याइएको हो’ उनले भने ।

अर्थमन्त्री र अर्थमन्त्रालयका कर्मचारीले संसारको अर्थमन्त्रलाई कोरोनाले प्रभावित गरेको विषयमा के अनुमान गरिरहेका छन् भन्ने कुरा सिद्धान्त र प्राथमिकताबाट थाहा पाउनुपर्ने भए पनि त्यसो हुन नसकेको थापाले बताए ।

रोजगारी गुमाएर विदेशबाट ६ लाख मान्छे फर्किने अवस्थामा रहेपनि सरकारलाई यो विषयमा कुनै चिन्ता नभएको थापाले आरोप लगाए । ‘करिब ६ लाख मान्छे फर्कदैछन् ती मान्छेका बारेमा सरकारलाई चिन्ता छैन भन्ने कुरा अहिले सीमानामा हेर्न गए हुन्छ । बाहिर खाडीमा रहेका नेपालीका बारेमा प्रधानमन्त्रीले भनेका अभिव्यक्ति सुने हुन्छ’ उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रेखा शर्माले समस्यामा रहेका साना तथा मझौला उद्योगी र किसानका समस्यालाई प्राथमिकता दिनुपर्ने बताइन् । महामारीका कारण किसान र साना उद्योगीहरु मारमा परेकाले उनीहरुका समस्या समाधान गर्ने कुरा बजेटमा सुनिश्चित हुनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment