Comments Add Comment

पर्साका ११ कोरोना संक्रमितलाई अझै अस्पताल लगिएन

३१ वैशाख, वीरगञ्ज । पर्साका कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई संक्रमण पुष्टि भएको २४ घण्टासम्म पनि अस्पताल नलगिएको पाइएको छ ।

मंगलबार एकै दिन देशभरमा ८३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो, जसमध्ये ५७ जना पर्साका छन् । उनीहरु मध्ये केहीलाई नारायणी अस्पताल लगिएको छ ।

प्रदेश २ का अरु जिल्लाबाट पनि कोरोना संक्रमितलाई नारायणीमा नै ल्याउने गरिएको छ । र, अहिले अस्पतालमा उपचाररत संक्रमितको संख्या ६९ पुगेको छ ।

त्यसैले थप बिरामी भर्ना गर्न व्यवस्थापन गर्न गाह्रो हुने डा. उदयनारायण सिंहले बताएका छन् ।

मंगलबार साँझ थपिएका पर्साका संक्रमितलाई कुन अस्पताल लैजाने भन्ने अझै टुंगो लागेको छैन ।

वीरगन्ज ३ छपकैयाका ९ जना अझै घरमा छन् । उनीहरु मध्ये ६ जना आइतबार कोरोना संक्रमण पुष्टि भएका किराना पसलेको परिवारका सदस्य र तीन छिमेकी रहेको वडाध्यक्ष बैजु स्वर्णकारले बताए ।

वीरगञ्ज १६ मा पनि दुई जना संक्रमितलाई अस्पताल लैजान बाँकी रहेको वडाध्यक्ष श्यामबाबु चौरसियाले बताए ।

नारायणी अस्पतालमा वेड अभाव भएपछि अन्य संक्रमितलाई जनकपुरस्थित प्रादेशिक अस्पतालमा लैजान छलफल भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले अनलाइनखबरलाई जानकारी दिए । प्रजिअ कार्कीले भने, ‘तत्काल निर्णय गरेर उहाँहरुको उपचारको व्यवस्था मिलाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment