Comments Add Comment

छिमेकी जिल्लामा संक्रमित बढेपछि रौतहटमा लकडाउन कडा

Photo Credit : फाइल तस्वीर
रौतहटको गौर बजार ।

३१ वैशाख, रौतहट । छिमेकी जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि रौतहटमा स्थानीय प्रशासनले लकडाउनलाई थप कडा बनाएको छ ।

जिल्लामा अत्यावश्यक औषधि, खाद्यान्न र दूधका पसलबाहेक सबै किसिमको पसल र बजार बन्द गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गरेको छ ।

बिरामी, औषधि तथा खाद्यान्न किनमेल गर्नबाहेक अन्य कामका लागि बाहिर निस्किएको भेटिएमा कानून अनुसार कारवाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले बताए । यसअघि स्थानीय प्रशासनले जारी गरेका सबै किसिमका पास पनि रद्ध गरिएको उनले बताए ।

रौतहटको छिमेकी जिल्ला बारा, पर्सा, सर्लाही, धनुषा, महोत्तरी जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको विरामी बढेका छन् ।

सरकारले नै उद्योग र बजार खुलाउन लचिलो व्यवस्था गरेपछि केही दिनयता रौतहटको मुख्य बजार क्षेत्रमा भिड बढ्न थालेको थियो ।

जिल्ला प्रशासनको सूचनाअघि नै कटहरिया, चन्द्रपुर, वृन्दावन, गढीमाईलगायतका नगरपालिकाले आफ्नो सीमाक्षेत्रमा लकडाउन कडा बनाउने निर्णय गरिसकेका थिए ।

रौतहटसँग सीमा जोडिएको बारा र पर्सामा संक्रमितको सँख्या निकै बढे पछि रौतहटमा पनि त्रास उत्पन्न भएको छ । रौतहटमा पनि कोविड १९ परीक्षणको दायरा बढाउनुपर्ने र अन्य जिल्लासँग सीमा जोडिएका क्षेत्रमा निगरानी बढाउनुपर्ने नागरिक समाज रौतहटका अध्यक्ष जगरनाथ केशरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment