News Summary
Generated by OK AI. Editorially reviewed.- यूएईमा नेपाली समुदायका लागि पहिलोपटक बिजनेस नेटवर्किङ कार्यक्रम एफआईएनवाईई यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा आयोजना गरेको छ।
- कार्यक्रममा नेपाली व्यवसायी, उद्यमी र अन्य देशबाट पुगेका नेपाली व्यवसायी नेताहरूले व्यवसाय विस्तार, सहकार्य र नयाँ अवसरबारे छलफल गरेका छन्।
- फोरम जीसीसीका क्षेत्रीय अध्यक्ष मनोज मरहट्टाले यो कार्यक्रमले नेपाली उद्यमी र युवालाई एउटै प्लेटफर्ममा जोड्ने आधार तयार गरेको बताउनुभयो।
३० भदौ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो ।
नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा यूएई राजपरिवारका निजी सल्लाहकार तथा उद्यमी याकुब अल अली प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । त्यस्तै भारतीय तथा नेपाली समुदायका व्यवसायिक क्षेत्रमा स्थापित व्यक्तित्वहरू हानी एम हनीफ, टीआर गणेश र विष्णु प्रसाद पुडासैनीलगायतको सहभागिता थियो।
कार्यक्रममा यूएईमा रहेका नेपाली व्यवसायी तथा उद्यमीसँगै अन्य देशबाट पुगेका नेपाली व्यवसायी नेताहरूको समेत सहभागिता थियो ।
कार्यक्रममा सहभागीहरूले नेपाली समुदायमा व्यवसायको सम्भावना, एकआपसमा सहकार्य, व्यावसायिक सम्बन्ध विस्तार तथा नयाँ व्यवसायिक अवसर सिर्जना गर्न नेटवर्किङको महत्त्वबारे छलफल गरेका थिए । सफल व्यवसायी तथा नेतृत्वकर्ताले आफ्ना अनुभवसमेत आदानप्रदान गरेका थिए ।
फोरम जीसीसीका क्षेत्रीय अध्यक्ष मनोज मरहट्टाका अनुसार यूएईमा नेपाली समुदायबीच पहिलोपटक यस प्रकारको व्यवसायिक नेटवर्किङ कार्यक्रम गरिएको हो । उनका अनुसार कार्यक्रमले नेपाली उद्यमी, व्यवसायी तथा व्यवसाय गर्न चाहने युवालाई एउटै प्लेटफर्ममा जोड्ने आधार तयार गरेको छ ।
उनले नेपाली व्यवसाय समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न नेटवर्किङ, सहकार्य र नयाँ सोच आवश्यक रहेको बताए । कार्यक्रमलाई फोरमको आगामी यात्राको सुरुवाती कदमका रूपमा लिइएको उनको भनाइ छ ।
कार्यक्रमको सफलताका लागि फोरम यूएईका अध्यक्ष सीए सन्तोष खनालसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको आयोजकले जनाएको छ ।
यूएईमा ३ हजारभन्दा बढी सदस्य रहेको व्यावसायिक तथा पेशागत समूह डीएनआईजी र ५०० भन्दा बढी यूएईमा आधारित चार्टर्ड एकाउन्टेन्ट आबद्ध रहेको एनपीएएफको सहकार्यले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकको भनाइ छ ।
एफआईएनवाईईले नेपाली युवालाई उद्यमशीलतामा जोड्ने, व्यवसाय विस्तारका लागि आवश्यक नेटवर्क निर्माण गर्ने तथा नेपाल र विदेशमा रहेका नेपाली उद्यमीबीच सहकार्यको वातावरण बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
प्रतिक्रिया 4