Comments Add Comment

प्रदेश २ मा स्वाब संकलन तीब्र, सिरहामा निषेधाज्ञा

३१ वैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बढेसँगै प्रदेश २ मा स्वाब संकलनलाई तिब्रता दिइएको छ ।

बुधबार मात्रै ३ सय जनाको स्वाब संकलन गरिएको छ । सबैभन्दा बढी पर्सामा स्वाब संकलन गरिएको छ । त्यहाँ बुधबार १ सय १९ जनाको स्वाब संकलन गरिएको छ । यसमा अधिकांश पत्रकार छन् । मंगलबार वीरगञ्जका दुई जना पत्रकार पनि संक्रमित भेटिएपछि जिल्लाका पत्रकारको समेत स्वाब संकलन गरिएको छ ।

बारा जिल्लामा भने सय जनाको स्वाब संकलन गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै धनुषामा ७८ जनाको स्वाब संकलन गरिएको छ । सिरहामा २ जना र रौतहटमा १ जनाको स्वाब संकलन गरिएको छ ।

बुधबारसम्म प्रदेशमा ४ हजार २३६ जनाको स्वाब परीक्षण गरिएको छ भने ९५ जना संक्रमित देखिएका छन् ।

९०१ जनाको नतिजा आउन बाँकी छ ।

प्रदेश २ का आठ जिल्ला मध्ये सिरहामा मात्रै संक्रमित देखिएको छैनन् । सबैभन्दा बढी पर्सामा ७९ जना संक्रमित देखिएका छन् भने बारा र रौतहटमा ३/३ जना संक्रमित देखिएका छन् । सर्लाही, महोत्तरी र धनुषामा २/२ जना तथा सप्तरीमा एक जना संक्रमित देखिएका छन् । ३ जना भारतबाट आएका व्यक्ति वीरगञ्जमै संक्रमित देखिएका छन् । महोत्तरीमा संक्रमित देखिएका दुई जना भने धनुषामै बस्दै आएको देखिएको छ ।

संघीय सरकारसँग थप बजेटको माग

प्रदेशमा धमाधम कोरोना संक्रमित फेला पर्न थालेपछि प्रदेश सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउने भएको छ ।

सरकारका प्रबक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा बुधबार सम्पन्न उच्चस्तरीय बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउने, सिमामा थप कडाई गर्ने, सिमामा ओहोरदोहोर हुन नदिने निर्णय गरेको छ ।

बैठकले कोरोना महामारी नियन्त्रणका लागि संघीय सरकारसँग थप बजेट माग्ने निर्णय समेत भएको मन्त्री यादवले बताए ।

सिरहामा निषेधाज्ञा

सिरहा जिल्लामा भने बुधबारदेखि निषेधाज्ञा जारी गरेको छ । सामाजिक दूरी कायम नगरेको पाइएमा सुरक्षाकर्मीले जुनसुकै बेला कार्वाही गर्न सक्ने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँले जानकारी दिए ।

सीमा नाकामा पूर्ण रुपले आवतजावत बन्द गरिएको र लुकिछिपी छिरेको पाइएमा आउने र लुकाउने दुबैलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारवाही गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment