Comments Add Comment

होटलले प्याकेटको खाना थमाइदियो, डाक्टरहरु भोकै काममा गए

१ जेठ, काठमाडौं । प्रदेश २ मा कोरोना संक्रमितको उपचार गर्ने मुख्य थलोको रुपमा वीरगञ्ज बन्दै आएको छ ।

पर्सा मात्र होइन, बारा, रौतहटका साथै प्रदेश २ का अरु जिल्लनाका कोरोना संक्रमितहरुको पनि नारायणी अस्पतालमा उपचार भइरहेको छ । संक्रमितको चाप बढेपछि एउटा सामुदायिक विद्यालयमा समेत सेमी आइसोलेसन वार्ड बनाएर राख्न थालिएको छ । नारायणी अस्पतालमा ७० जना र सिद्धार्थ माविको आइसोलेसन कक्षमा १७ जना संक्रमितहरु उपचाररत छन् ।

तीनै बिरामीहरुको उपचार गर्ने चिकित्सकहरुलाई खाना तथा बस्न वीरगञ्जस्थित ’कन्ट्री इन’ होटललाई चैत ३० गतेदेखि क्वारेन्टाइन स्थलका रुपमा प्रयोग गरिँदै आएको थियो । एक महिनादेखि होटल सञ्चालक हरि पन्तले खाना र बस्ने व्यवस्था मिलाउँदै आइरहेका थिए ।

तर बिहीबार बिहान एकाएक अस्पतालका चिकित्सकलाई होटल बाहिरबाट ल्याइएको खाना उपलब्ध गराइयो । खानाको प्याकेट हातमा परेपछि लामो समयदेखि सोही होटलमा खाँदै बस्दै आएका चिकित्सकहरु आश्चर्य चकित भए ।

होटलमा खाना पुगेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले खानाको प्याकेट हातमा राखेर एक अर्कालाई हेर्दै बसे । प्याकेटको खाना खोलेर हेर्दा गुणस्तरहीन देखेपछि बिहानको खाना कसैले पनि खाएनन् ।

चिकित्सकहरु खाना नखाई काममा फर्किएको जानकारी पाएपछि अस्पतालका डा. उदनारायण सिंहले होटल सञ्चालकसँग यसबारे जिज्ञासा राखे ।  ‘होटलका सञ्चालकसँग वास्तविकता बुझ्दा जेठ १ गतेबाट खाना बाहिरबाट व्यवस्था गर्ने सहमति अनुसार आएको रहेछ,’ डा. सिंहले अनलाइनखबरसँग भने, ‘वीरगञ्ज महानगरपालिकाका मेयर (विजय सराबगी) र होटल सञ्चालकबीचको सहमति अनुसार नै खाना बाहिरबाट आएको रहेछ ।’

बुधबार अस्पतालका एक नर्समा कोरोना पुष्टि हुनु र त्यसको भोलिपल्ट चिकित्सकलाई खाना बाहिरबाट आउनुले होटल सञ्चालकप्रति नकारात्मक शंका उत्पन्न हुनु स्वाभाविक रहेको डा. सिंहले बताए ।

बाहिरबाट आएको खाना गुणस्तरहीन भएको गुनासो चिकित्सकहरुले गरेपछि होटल सञ्चालक आफैंले साँझको खाना तयार गरेर चिकित्सकलाई खुवाएको डा. सिंहले बताए । सिंहले भने, ‘हाम्रा चिकित्सकहरु सोही होटलमा अहिले बसिरहेका छन् । बस्न नदिइएको भन्ने कुरामा सत्यता छैन । ड्युटीमा नपरेका चिकित्सहरु अहिले होटलमै आराम गरिरहनुभएको छ ।’

होटल सञ्चालक पन्तले भने मेयरसँग भएको सहमति अनुसार नै विहानको खाना बाहिरबाट आएको दाबी गर्छन् । ‘चिकित्सकमा कोरोना देखिएकै कारण होटलले खाना नखुवाएको भन्ने कुरामा कुनै सत्यता छैन,’ पन्तले भने, ‘होटलमा स्टाफ अभाव हुँदा हुँदै पनि खाने बस्नेको प्रवन्ध मिलाउँदै आइनै रहेको हो । यहीँ बस्ने/खाने चिकित्सकमा संक्रमण देखेपछि सतर्कता अपनाउने कुरा आफ्नो ठाउँमा छँदैछ । भएको स्टाफ पनि डराएर आजैबाट काममा आउन छाडेको छ । म आफैंले खाना बनाएर खुएको छु । विश्वास नलागे यहाँ बस्ने चिकित्सकलाई सोधे हुन्छ ।’

पन्तले अगाडि भने, ‘यसअघि पनि कसैले खान र बस्न दिन नमानेको बेला मैले चिकित्सकहरु बस्नका लागि होटल उपलब्ध गराएकै हो । अहिले बीचमा आएर होटल बन्द गर्नुपर्ने कुनै कारण नै छैन ।’

कन्ट्री इन होटलममा ३० जना चिकित्सहरुले नियमित खान खाँदै बस्दै आइरहेको होटल सञ्चालक पन्तले बताए । चिकित्सकहरुका लागि ३० वटा रुमसमेत बुक गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment