Comments Add Comment

पृथ्वीको परिधि बराबरको इन्टरनेट तार बिछ्याउँदै फेसबुक

फेसबुकले समुद्रको पिँधमा ३७ हजार किलोमिटर लामो इन्टरनेटको तार बिछ्याउँदैछ ।

अफ्रिकाका विभिन्न १६ वटा देशहरूमा तीव्र गतिको इन्टरनेट सेवा उपलब्ध गराउने प्रयोजनका लागि फेसबुकले विभिन्न टेलिकम कम्पनीहरूसँग मिलेर समुद्रमा इन्टरनेटको तार बिछ्याउने कार्य अगाडि बढाएको हो ।

फेसबुकको अगुवाइमा समुद्रमा बिछ्याइने इन्टरनेट तारको उक्त लम्बाइ झण्डै पृथ्वीको परिधिको बराबर हो । अर्थात् उक्त तारले पृथ्वीलाई वरिपरि बेर्न सकिन्छ । इन्टरनेट तारको यो लम्बाइ विद्यमान इन्टरनेट तारहरूमा सबैभन्दा लामोमध्येको एक हो ।

अफ्रिकाको युवा जनसंख्या माझ फेसबुकलाई बढीभन्दा बढी विस्तार गर्नका लागि तीव्र गतिको इन्टरनेट सेवा पु¥याउनुपर्ने प्राथमिक आवश्यकतालाई मध्यनजर गर्दै फेसबुकले लामो समयदेखि नै अफ्रिकामा इन्टरनेट पु¥याउने योजना बनाएको थियो । समुद्रमा तार बिछ्याउने यो परियोजना फेसबुकको सोही योजनाको हिस्सा हो ।

यो परियोजना सन् २०२४ सम्ममा पूरा हुने र अफ्रिकी मुलुकहरूमा अहिलेभन्दा ३ गुणा तीव्र गतिको इन्टरनेट उपलब्ध हुनेछ । टू अफ्रिका प्रोजेक्ट नामको यस परियोजनाले युरोप र मध्यपूर्वसँग अफ्रिकालाई जोड्नेछ ।

फेसबुकले यो परियोजनाको यथार्थ बजेटका बारेमा कुनै विवरण सार्वज्निक नगरेको भएता पनि ब्लुम्बर्गले भने परियोजनामा १ अर्ब डलर खर्च हुने जनाएको छ ।

फेसबुकले आफ्नो ब्लग पोष्टमा लेखेको छ, ‘यो परियोजना सम्पन्न भएसँगै यसले अफ्रिका महादेशमा अत्यावश्यकीय उच्च क्षमतायुक्त तथा विश्वसनीय इन्टरनेट सेवा उपलब्ध गराउनुका साथै मध्यपूर्वमा इन्टरनेट क्षमता वृद्धिको बढ्दो मागलाई सम्बोधन गर्न समेत सहयोग पुग्नेछ । साथै यसले करोडौं मानिसहरूका लागि फोर जी, फाइभ जी तथा ब्रोडब्याण्ड इन्टरनेटको पहुँचलाई समेत सहज बनाउनेछ ।’

विश्वमा इन्टरनेटमाथिको पहुँचका दृष्टिकोणबाट अफ्रिका महादेश सबैभन्दा पछि छ । अफ्रिकी महादेशमा हरेक १० जनामा केवल ४ जना मात्र इन्टरनेटको पहुँचमा छन् । जबकि, विश्वमा समग्रमा दश जनामध्ये ६ जनामा इन्टरनेटको पहुँच रहेको छ ।

तथापि १ अर्ब ३० करोड जनसंख्या रहेको अफ्रिकी महादेशको बजार प्रविधि कम्पनीहरूका लागि ठूलो सम्भावनाको रूपमा रहेको छ ।

विश्वमा अहिले अन्तरमहादेशीय इन्टरनेट डाटा प्रसारका लागि मुख्यतः समुद्रको पिँधमा बिछ्याइने इन्टरनेट तारहरूकै प्रयोग भइरहेको छ । यस्ता सामुद्रिक केबलबाट ठूलो परिमाणका डाटाहरू तीव्र गतिमा तथा न्यून खर्चमा प्रसार गर्न सकिन्छ ।

फेसबुकको यस परियोजनामा तार बिछ्याउने कामचाहिँ नोकिया ओइज कम्पनीको अल्काटेल सबमरिन नेटवर्कस्ले गर्नेछ । इन्टरनेटको तार आन्ध्र्र महासागर, हिन्द महासागर, भूमध्य सागर तथा लालसागरको पिँध हुँदै अफ्रिकासम्म पुग्नेछ । तारलाई अधिकतम सुरक्षित राख्नका लागि यसअघिका तारहरू भन्दा अझै गहिरो गरी गाडिनेछ ।

सामुद्रिक इन्टरनेट तार परियोजनाका लागि फेसबुकसँग दक्षिण अफ्रिकाको एमटिएन ग्रुप, टेलिकम इजिप्ट, भोडाफोन र अरेन्ज साउथ अफ्रिकालगायतका टेलिकम कम्पनीले सहकार्य गरेका छन् ।

यो परियोजनाले अफ्रिकी महादेशमा डिजिटल व्यवसायको मार्ग प्रसस्त गर्ने भोडाफोन कम्पनीले जनाएको छ ।

तीव्र गतिको इन्टरनेट सेवाले अफ्रिका महादेशमा व्यवसायिक वातावरणमा सुधार गर्नुका साथै जनस्वास्थ्य तथा शिक्षामा समेत सुधार गर्ने दाबी गरिएको छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment