Comments Add Comment

बाह्रबिसेका मेयरको गुनासो : गाउँमा जुवातास रोकिएन, जुलुस निकाल्नेलाई प्रहरीले चिया खुवायो !

‘२२ सय मानिसलाई क्वारेन्टाइनमा राख्नुपर्ने भो, तर ठाउँ छैन’

४ जेठ, काठमाडौं । बिनासकारी भूकम्प आउँदा सबैभन्दा धेरै क्षति व्यहोरेको सिन्धुपाल्चोक जिल्लाले कोरोना महामारीका बेलामा पनि पहिलो मानवीय क्षति व्यहोरेको छ ।

बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेकी २९ वर्षीया महिलाको शनिबार धुलिखेल अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको थियो । कोरोना संक्रमणकै कारण ज्यान गुमाउने उनी नेपालको पहिलो व्यक्ति हुन् । काठमाडौंको टोखा नगरपालिका-९ मा बस्दै आएकी उनलाई २५ गते सिन्धुपाल्चोकस्थित घर लगिएको थियो ।

एकसाता अगाडि सुत्केरी भएकी उनको ज्यान गएपछि बाह्रबिसे, खाडीचौर र लामोसाँघु बजारलाई समेत जोखिमयुक्त मानिएको छ । मृतकको घरगाउँ र माइतीगाउँ दुबैतिर सतर्ककता अपनाइए पनि स्थानीयवासीमा त्रास बढेको छ ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पालाई हामीले अहिलेको अवस्थाबारे जिज्ञासा राखेका थियौं । उनले बाह्रबिसे क्षेत्रमा २२ सय जनालाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आएको बताए । तर, क्वारेन्टाइनस्थलको अभाव रहेको उनले बताए ।

यो पनि पढ्नुहोस कोरोनाबाट ज्यान गुमाएकी महिला : टोखामा बस्थिन्, डेलिभरी भएपछि मात्र गाउँ लगिएको थियो

गाउँमा जुवातास खेल्ने र लकडाउनका बेला जुलुस निकाल्नेहरुमाथि प्रहरी प्रशासनले नियन्त्रण गर्न नसक्दा जोखिम बढेको मेयर शेर्पाको गुनासो छ ।

बाह्रबिसे नगरपालिकाका मेयर शेर्पाले अनलाइनखबरसँग गरेको कुराकानीको अंश जस्ताको त्यस्तै–

जिल्लामा लकडाउन कडा थिएन । हाम्रो नगरपालिका क्षेत्र र वरिपरिका क्षेत्रमा पनि मानिसहरु घर बाहिर निस्किने, समूह–समूहमा जुवातास खेल्ने, होहल्ला गर्ने, खसी काटेर भोज खाने गर्थे ।

हामीले यसको जानकारी प्रहरी प्रशासनलाई गराएका थियौं र सुरक्षा सतर्कता अपनाउँदै लागि सीमा–सीमामा प्रहरीहरु राख्ने, स्वास्थ्यकर्मी राख्ने, स्वास्थ्य चेक गर्ने, भिडभाड गर्नेलाई नियन्त्रण गरौं भनेका थियौं । तर, खासै प्रगति भइरहेको थिएन ।

हिँजो बिहान त संक्रमित व्यक्तिकै नजकिका मानिसहरुको संलग्नतामा नेपाली कांग्रेसका कार्यकर्ताले लिपलेकको सीमा अतिक्रमणविरुद्ध बाह्रबिसे बजारको बीचमा विरोध जुलुस नै निकाले ।

प्रहरीले जुलुस निकाल्ने चार–पाँच जनालाई नियन्त्रणमा लियो । मैले नियन्त्रणमा लिइएकाहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख भनेको थिएँ । तर, बाह्रबिसेको इलाका प्रहरीले उल्टै चिया खुवाएर घर पठायो ।

जब कि काठमाडौं लगायतका जिल्लाहरुमा बाटोमा हिँड्नेहरुलाई पनि प्रहरीले  समातिरहेको अवस्था छ । यहाँ यस्तो संवेदनशील अवस्थामा पनि उहाँहरु सचेत नभएको पाइयो । यसैबाट थाहा हुन्छ, लकडाउनमा हाम्रो जिल्लाको अवस्था ।

अहिले हामीलाई बस्ती सिल गर्नका लागि थप सुरक्षा फोर्स चाहिएको अवस्था छ । सुरक्षा फोर्स थप्न त थप्ने, तर उनीहरुमा पनि त कोरोना संक्रमण हुन सक्छ । यहाँकै सुरक्षाकर्मीलाई पनि कोरोना लागेको हुन सक्छ । किनभने, संक्रमितको सम्पर्कमा आएकाहरुको संलग्नतामा जुलुस निकाल्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो, ती प्रहरीलाई पनि कोरोना सरेको हुन सक्छ । पूर्ण लकडाउन गराउनका लागि सुरक्षा फौजको ठूलो आवश्यकता छ ।

बाह्रबिसे बजारमा तैनाथ सुरक्षाकर्मी

अब यो अवस्थामा थपिएका सुरक्षाकर्मीलाई कसरी व्यवस्थापन गर्ने, खाने बस्ने व्यवस्था कहाँ कसरी गर्ने भन्ने चिन्ता छ । यो विषयमा छलफल गरौं भन्दा सीडीओ साबले पनि स्पष्टरुपमा यही गर्ने भनेर भन्न सक्नुभएको छैन ।

त्यसैले मलाई सिन्धुपाल्चोकमा जति सतर्कताका उपाय जति अपनाउनु पर्ने हो, त्यही नभएको भन्ने लागिरहेको छ । यहाँ लकडाउनको पूर्णरुपमा पालना गर्नुपर्छ । संक्रमितको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आएको छ ।

हामीसँग रहेको क्षेत्रीय क्वारेन्टाइनमा २२ जनालाई मात्र राख्न सक्ने क्षमता छ । यो घटनापछि त २२ सय जना राख्नुपर्ने स्थिति आएको छ । अब क्वारेन्टाइन र आइसोलेसनको बेडहरु थप्ने, अरु ठाउँको कटौती गरेर भए पनि पर्याप्त स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी ल्याउने, जोखिममा रहेकाको स्वास्थ्य जाँच गर्ने गर्नुप¥यो भनेर मैले सभामुख, प्रदेशका मन्त्री, सांसद, प्रमुख जिल्ला अधिकारी सबैलाई भनेको छु ।

उहाँहरुले जोखिम क्षेत्रको पहिचान गरेर आवश्यक काम गर्ने भन्नुभएको छ । आज बिहान पनि सभामुख र प्रदेशका मन्त्रीहरुसँग मेरो कुरा भएको थियो । सभामुखले सबै ठाउँमा मैले निर्देशन दिएको छु आत्तिनुपर्दैन भन्नुभएको छ ।

स्वास्थ्य मन्त्रालयको टोली आउँदैछ पनि भन्नुभएको छ । प्रदेशका मन्त्रीहरुले पनि आज नै डाक्टर र स्वास्थ्यकर्मीको टोली पठाउँछौं भन्नुभएको छ ।

मैले त्यो त ठीक छ, तर समयमा भएन, ढिलासुस्ती भयो भने यसले ठूलो संकट ल्याउँछ भनेको छु ।

यो पनि पढ्नुहोस बुझेर पनि बुझ पचाएपछिको झट्का ! अब सुरु गरेको तयारीले महामारी धान्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment