Comments Add Comment

डा. नारायण कार्कीको बयान : इन्स्पेक्टरले नै टोले गुण्डा अघि सारे, भागेर हेटौंडा फर्किएँ

४ जेठ काठमाडौं । बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले शुक्रबार काठमाडौं आउने क्रममा नागढुंगामा दुर्व्यवहार भोगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ‘टोले गुण्डा’हरुले उनको गाडी रोकेर बेइज्यतिपूर्ण तरिकाले खानतलासी गरिरहेको उक्त भिडियोमा देखिन्छ ।

सो घटनामा प्रहरीले चन्द्रागिरीका एक युवकलाई पक्राउ गरेको छ । तर, अनलाइनखबरसँगको कुराकानीमा डा. कार्कीले प्रहरीकै संरक्षणमा टोले गुण्डाहरुले आफूमाथि दुर्व्यवहार गरेको खुलासा गरेका छन् । उनका अनुसार कार्की थरका प्रहरी इन्स्पेक्टरले ती युवाहरुलाई अघि सारेका थिए ।

‘ममाथि दुव्र्यवहार भइरहँदा बर्दीमा रहेका इन्स्पेक्टर र दुई सिपाही नजिकै बसेर तमासा हेरिरहेका थिए,’ डा. कार्कीले अनलाइनखबरसँग भने । उनले ती इन्स्पेक्टरलाई पनि कारबाहीमा तान्नुपर्ने माग गरेका छन् ।

अनलाइनखबरसँगको टेलिफोन कुराकानीमा कार्कीले घटना विवरण र आफ्नो अनुभूति यसरी व्यक्त गरे:

म पेशाले स्वास्थ्यकर्मी । म वागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशाला निर्देशक हुँ । यतिबेला सिंगो प्रदेशमा कोरोना नियन्त्रणको जिम्मेवारी मेरो हातमा छ ।

संक्रमणको जोखिम मोलेर दिनरात काममा घोटिएको छु । सरकारले पनि स्वास्थ्यकर्मीहरुलाई सत प्रतिशत भत्ता दिएर प्रोत्साहन गर्न खोजेको छ । तर अस्तिको दिन मैले प्रहरीबाट नागढुंगामा अत्यन्त तितो व्यवहार भोगेँ । टोले गुण्डा अघि सारेर मेरो हुर्मत लिने काम भयो । म निरिह बनेँ ।

हामीकहाँ टेस्ट किट्स सकिन लागेको थियो । एक दिनलाई मात्रै बाँकी रहेकाले म आफैं टेस्ट किट्स लिन काठमाडौं आउनुपर्ने भयो । शुक्रबार बिहान ५ बजे नै म हेटौंडाबाट हिँडेँ । पाँच घन्टामा नागढुंगामा आइपुगेँ । त्यहाँ एक प्रहरी इन्सपेक्टरले मेरो गाडी रोके ।

मेरो परिचयपत्र घाँटीमै झुण्डिएको थियो । मसँग एकजना महिला कर्मचारी हुनुहुन्थ्इो । उहाँ कोरोना ल्याबको अफिसर हो । दुवैजनाको परिचयपत्र हेरेपछि इन्स्पेक्टरले के कामको लागि आउनुभएको भनेर सोधे । मैले आफ्नो प्रयोजन बताएँ । त्यसपछि उनले निहुँ खोज्न थाले ।

संक्रमणको जोखिम मोलेर दिनरात काममा घोटिएको छु । सरकारले पनि स्वास्थ्यकर्मीहरूलाई सत प्रतिशत भत्ता दिएर प्रोत्साहन गर्न खोजेको छ । तर अस्तिको दिन मैले प्रहरीबाट नागढुंगामा अत्यन्त तीतो व्यवहार भोगेँ । टोले गुण्डा अघि सारेर मेरो हुर्मत लिने काम भयो । म निरीह बनेँ

‘सामान लिन हिँडेको भए कागजात देखाउनुस’ भने । मैले भने, ‘म ल्याब निर्देशक हुँ । त्यहाँ गएर के–कति हुन्छ, नयाँ के आएको छ हिसाब गरेर लैजान्छु । कागज ल्याएको छैन ।’

त्यसपछि उनले स्वर कडा बनाएर भने, ‘तपाईं हिँड्न पाउने आदेश कहाँ छ ?’

मैले नरम स्वरमा भनेँ, ‘के आदेश चाहिन्छ र ? मेरो परिचयपत्र काफी छैन ?’

त्यसपछि उनी ब्याक भए र एक अपरिचित युवक अगाडि आए । उनले मसित सवालजवाफ गर्न थाले भने अर्का व्यक्ति भिडियो खिच्न थाले । प्रहरी इन्स्पेक्टर र दुई सिपाही चाहिँ रमिता हेरेर बसिरहे ।

प्रहरीकै अगाडि ममाथि गुण्डागर्दी हुन थालेपछि मलाई पनि डर लाग्यो । त्यसैले उनीहरुले जे भन्छन् मान्नु भन्दा विकल्प थिएन । प्रतिवाद गर्न खोजेको भए पक्का पनि मलाई हातपात गर्ने थिए । प्रहरीको संरक्षण थियो उनीहरुलाई ।

ममाथि बेइज्यतिपूर्ण तरिकाले खानतलासी गरियो । त्यो पनि प्रहरीले होइन, टोले गुण्डाले । मैले त्यहाँबाट उम्किन सक्ने सम्भावना देखिनँ । म काठमाडौंतिर आएँ भने यिनीहरुले मेरो गाडी तोडफोड गर्छन् गर्ने पक्का लाग्यो । त्यसैले हेटौंडा नै फर्किने निर्णय लिएँ र खातलासी सकिनासाथ गाडी मोडेँ । पछाडि हेर्दै नहेरि गाडी हुँइक्याएर त्यहाँबाट भाग्न सफल भएँ ।

घटास्थलबाट भागेपछि डर त हरायो, तर साह्रै विरक्त लाग्यो । हात–पाउ गलेका थिए । पाँच घन्टामा हेटौंडाबाट नागढुंगा पुगेको मलाई त्यहाँबाट फेरि हेटौंडा फर्किनँ आठ घन्टा लाग्यो । बेलुकी साढे आठ बजेतिर घर पुगेँ । सरासर माथि उक्लेर आफ्नो कोठामा गएँ । कसैसँग केही भनिनँ ।

त्यसको भोलिपल्ट धादिङ जानुपर्ने भयो । त्यहाँ एक गर्भवती महिलामा कोरोना पोजिटिभ देखिएको थियो । त्यसैले कन्ट्याक्ट ट्रेसिङका लागि जानुपर्ने भएपछि मलार्ई फेरि नागढुंगामा रोक्ने हो कि भन्ने डर लाग्यो । त्यसैले प्रहरीको डिआईजीलाई फोन गरेर आफ्नो गाडीको नम्बर टिपाएँ । शनिबार बिहान धादिङका लागि हिँडे । यसपटक बाटोमा कुनै अवरोध भएन ।

अहिले पनि तीनै महिलाको कन्ट्याक्ट ट्रेसिङका लागि सिन्धुपाल्चोक आएको छु । यहाँ स्थानीयको स्वाब संकलन भइरहेको छ । संकलन भएको स्याम्पल मैले आफ्नै गाडीमा राखेर लैजानुपर्छ । त्यही घटनालाई सम्झेर काम नगरी बस्ने कुरा आएन । त्यसैले अहोरात्र खटिएकै छु ।

हामी स्वास्थ्यकर्मी यतिबेला आप्mनो जीवन जोखिममा राखेर काम गरिरहेका छौं । कोरोना पोजिटिभ भएका स्याम्पलहरु खेलाउनुपर्छ । संक्रमितहरु र सम्भावित संक्रमितहरुको स्वाब संकलन गर्नुपर्छ । ख्वाक्क खोकी लाग्यो भने पनि सातो जान्छ । आखिर कोरोनाले स्वास्थ्यकर्मी भनेर छुट दिने होइन । तर, पनि देश र जनताप्रतिको जिम्मेवारी वोध गरेर आफ्नो दायित्व निभाइरहेका छौं ।

फेरि हामीले सँधै सजिलो मात्रै खोजेर पनि भएन । अप्ठेरो र प्रतिकुल अवस्थामा झन् डटेर काम गर्नुपर्छ मान्यता राख्छु । मेरो कार्यशैली कतिपय मेरै स्टाफहरुलाई पनि चित्त बुझ्दैन ।

हाम्रो कुनै ड्यूटी आवर पनि छैन । राति १२ बजे पनि निस्कुनपर्ने हुन्छ । शनिबार वा सार्वजनिक विदा भन्ने छैन । सरकारले हामीलाई सतप्रतिशत प्रोत्साहन भत्ता दिएको छ । सुरुका दिनहरुमा अत्यावश्यक सामग्रीहरुको अभाव थियो । त्यो अवस्था अहिले छैन । त्यसकारण काम गर्नलाई सहज भएको छ ।

काठमाडौंबाहिर सबैभन्दा पहिले ल्याब स्थापना गरेको मैले नै हो । वीरगञ्जमा सबैभन्दा पहिलो कोरोना संक्रमित भेटाएको हाम्रै ल्याबले हो । हामी अरु सबै कुरा भुलेर कोरोनाविरुद्धको लडाईंमा केन्द्रित छौं । यस्तो बेलामा समाजका सबै तह–तप्काको प्रोत्साहन र प्रेरणा हामीलाई आवश्यक छ ।

मेरो भिडियो भाइरल भएपछि धेरै प्रतिक्रियाहरु आएका छन् । केही प्रतिक्रियाहरु मैले पनि पढेँ । सबैले मेरो सपोर्ट गर्नुभएको छ । दादागिरी र अन्यायका विरुद्धमा लेख्नुभएको छ । यसले चाहिँ मेरो हौसला बढेको छ । मलाई समर्थन गर्ने सबैलाई स्यालुट गर्न चाहन्छु । तपाईंहरुको समर्थन र मायाले गर्दा आगामी दिनमा कोरोनासँग लड्ने मनोबल अझै उच्च भएको छ ।

समाजमा भने अहिले हामीलाई फरक खालको व्यवहार गरिन्छ । होटलमा हामीले खाना खाएको प्लेट पनि फिर्ता लिन मान्दैनन् । कतै जाँदा होटलमा बास पाउन मुस्किल पर्छ । कोरोना ल्याबमा काम गर्ने भनेपछि त झन् पानी दिनसमेत डराउँछन् । हाम्रो हजुरबाहरुको पालमा कथित तल्लो जातका माथि हुने खालको व्यवहार अहिले हामीमाथि भइरहेको छ । तर, पनि हामी हतोत्साही छैनौं । हामीले समाजको चरित्र र चेतनास्तर बुझेका छौं ।

स्वास्थ्यकर्मी मात्र होइन, उनीहरुको परिवारले पनि छरछिमेक र समाजबाट अवहेलना भोग्नु परिरहेको अवस्था छ । तर, हामीले सकेसम्म सुरक्षा अपनाएर बसिरहेका छौं । म आफ्नो परिवारबाट पूरै आइसोलेसनमा बसिरहेको छु । म माथिल्लो तल्लाको एउटा कोठामा बस्छु । परिवार तल्लो तल्लामा बस्छन् । घर पस्दा म गेटबाटै कराउँछु । उनीहरु ढोका लगाएर बस्छन् अनि म एकैचोटि माथि उक्लिन्छु । कोठाबाहिर बार्दलीमा पनि निस्किन्न । खाना पाकेपछि ढोकामा ल्याएर राखिदिन्छन् । हरेक हिसाबले दुरी कायम गरिरहेको छु ।

अहिले सामाजिक सञ्जालका प्रतिक्रियाले मेरो परिवारलाई पनि धेरै राहत भएको छ । सुरुमा त मेरा छोरीहरु भिडियो हेर्नै डराएका रहेछन् । उनीहरुले मलाई हक्की स्वभावको मान्छे भनेर चिनेका छन् । म घरमा अलिकति हप्कीदप्की पनि गर्छु । त्यसैले ममाथि त्यस्तो दुव्र्यवहार हुँदै पक्कै पनि मैले प्रतिवाद गरेँ होला र लफडा भयो होला भन्ने उनीहरुलाई लागेको रहेछ । तर, म त्यस्तो अवस्थामा पनि ‘कुल’ भएको देखेर अचम्ममा परेछन् ।

संकटको यो समयमा स्वास्थ्यकर्मीले मात्रै होइन, प्रहरीले पनि अग्रपंतिमा रहेर दायित्व निभाइरहेको छ । एकाध प्रहरीको गलत व्यवहारलाई लिएर सिंगो प्रहरी संगठनलाई म लान्छित गर्न चाहन्न ।

ममाथि दुव्र्यवहार गर्ने एक व्यक्ति पक्राउ परेको सुनेँ । तर, मेरो विचारमा त्यो व्यक्तिभन्दा प्रहरी इन्स्पेक्टर बढि जिम्मेवार छ जसले उसलाई परिचालन गर्यो । उसलाई कारवाही नगर्ने हो भने एउटा टोले गुण्डालाई मात्रै कारवाही गरेर केही हुँदैन। प्रहरीबाट फेरि कुनै स्वास्थ्यकर्मीलाई यस्तो व्यवहार नहोस र कुनै टोले गुण्डाले यसरी दादागिरी गर्न नसकोस् भनेर पनि सरकारले यो घटनालाई गम्भिरतापूर्वक लिनुपर्छ भन्ने लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment