 
																			४ जेठ, काठमाडौं । नेपालका शैक्षिक संस्थाको परीक्षा प्रणाली परिवर्तन आवश्यक भए पनि तत्कालै सम्भव नहुने सरोकारवालाहरुले बताएका छन् ।
कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपालको आयोजनामा भएको अनलाइन अन्तरक्रियामा सहभागी भएका वक्ताहरुले परीक्षा संवेदनशील विषय भएकोले गम्भीर रुपमा बहस गर्नु पर्नेमा जोड दिएका हुन् ।
अन्तरक्रियामा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीले विकसित मुलुकमा आवश्यक पूर्वाधार भएकाले डिजिटल माध्यमबाट शैक्षिक गतिविधिहरु संचालन गर्न सम्भव भए पनि नेपालमा अप्ठ्यारो स्थिति रहेकोले अझै गृहकार्य गर्नु पर्नेमा जोड दिए ।
अहिले रोकिएका परीक्षाको सम्बन्धमा परिस्थितिजन्य निर्णय उपयुक्त समयमा आउने भन्दै उनले भविष्यका निम्ति समग्र परीक्षा प्रणाली र परीक्षा संचालन गर्ने निकायमा आमुल परिवर्तनको आवश्यकता रहेको र त्यो सम्भव पनि हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा त्रिभुवन विश्वविध्यालयका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर शिवलाल भुसालले विद्यार्थी संख्या थोरै भएका कार्यक्रममा अनलाइन कक्षा संचालन भैरहेको भए पनि विद्यार्थी संख्या धेरै भएका कार्यक्रमका सबै विद्यार्थीहरु अझै सम्पर्कमा ल्याउन नसकिएको अवस्थामा रोकिएका परीक्षा फरक ढंगले गर्ने कुरा अहिले गाह्रो हुने बताए ।
तर अहिलेको भन्दा प्रभावकारी र वैज्ञानिक मूल्यांकन पद्धतिमा जाने र त्यसका लागि सम्बद्ध निकायमा आवश्यक सुधार ल्याउने कुरा सम्भव भएको र त्रिविले त्यसतर्फ कदम चालिसकेको उनको भनाइ छ ।
यस्तै, काठमाडौँ विश्वविध्यालयका रजिस्ट्रार प्रा. डा. सुबोध शर्माले नेपालको विद्यमान परीक्षा प्रणालीमा आमुल परिवर्तनको आवश्यकता रहेको र त्यो सम्भव रहेको बताए ।
डिजिटल माध्यमबाट सम्पूर्ण शैक्षिक गतिविधि संचालन गर्नु आर्थिक, वातावरणीय तथा अन्य विविध कोणबाट फलदायी हुने बताउँदै सामान्य अवस्थामा मिश्रित विधि उपयोग गर्न सकिए पनि अहिलेको जस्तो अप्ठ्यारो अवस्थामा अनलाइन शिक्षाको कुनै विकल्प नरहेको बताए ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले रोकिएका परीक्षा कसरी संचालन गर्ने भन्नेबारेमा विभिन्न कोणबाट अध्ययन भइरहेको भए पनि अहिले सबैको पहिलो प्राथमिकता स्वास्थ्य हुनुपर्छ भन्दै नआत्तिकन घरमा नै बस्न सम्पूर्ण विध्यार्थीहरुलाई आग्रह गरे ।
कार्यक्रममा सीएसआईटी कलेज अर्गनाइजेसन नेपालका अध्यक्ष एवं हिसानका उपाध्यक्ष रामेश्वर अर्यालले पाठ्यक्रमको उद्देश्य पूरा भयो कि भएन भनेर हेर्ने माध्यम परीक्षा हो भन्दै पाठ्यक्रम परिमार्जन नगरी परीक्षा प्रणाली मात्र परिवर्तन गरेर नहुने बताए ।
प्याब्सनका अध्यक्ष टिकाराम पुरीले कोभिड- १९ का कारण परीक्षा संचालन गर्न अप्ठ्यारो अवस्था भएकोले यो एक वर्षका लागि मात्र भए पनि एसईईका विद्यार्थिहरुलाई आन्तरिक मूल्यांकनको आधारमा ग्रेड प्रदान गर्नु पर्ने बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4