
५ जेठ, सप्तरी । डेढ महिना अघिदेखि वेपत्ता रहेकी खड्क नगरपालिका वडा नम्बर ११ कि सदस्य दुर्गाकुमारी साहको शव अर्कै व्यक्तिले बुझेको पाइएको छ । पति हुँदाहुँदै गाउँकै अर्का व्यक्तिले आफ्नी पत्नी भनी उनको शव बुझेको पाइएको हो ।
उनको मृत्यु सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भएको देखिएको प्रहरीको भनाइ छ ।
‘गत वैशाख १२ गते नै उनको मृत्यु अस्पतालमा भएको देखिएको छ’ इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी शरदकुमार क्षेत्रीले भने, ‘शव भने उनकै गाउँका लारायण साह भन्ने व्यक्तिले बुझेको पाइएको छ ।’
दुर्गादेवीका पति देवीलाल साह हुन् । तर लारायण भन्ने व्यक्तिले आफ्नी पत्नी भन्दै शव बुझेको प्रहरीले बताएको छ ।
लारायणले अस्पतालमा दुर्गादेवीको मृत्यु भएपछि पोष्टमार्टमसहितका प्रक्रिया छिटो गरिदिन प्रहरीलाई भनेका थिए । ‘आफ्नी पत्नी भनेपछि त्यसबेला हामीले अन्य केरकार गरेनौं’ डीएसपी क्षेत्रीले भने, ‘अस्पतालमा पनि भिटामिनको कमीले मृत्यु भएको देखिएको र लारायणले पत्नी भनेपछि अन्य कुरातर्फ ध्यान दिएनौं ।’
डीएसपी क्षेत्रीका अनुसार दुर्गादेवी र लारायण तीन महिनादेखि लहानमा बस्दै आएका थिए । स्थानीयसँग समेत घुलमिल भइसकेका यी दुबै व्यक्तिले आफूलाई पति पत्नी भनेर चिनाएका थिए ।
डीएसपी क्षेत्रीले भने, ‘अब सबै कुरा खुल्न लागेको छ । हामी पोष्टमार्टम रिपोर्टको प्रतीक्षामा छौं । रिपोर्ट आएपछि अनुसन्धानका अन्य बिषयलाई अगाडि बढाउँछौं ।’
पतिसँगको खटपट
वडा सदस्य दुर्गादेवी देवीलालकी कान्छी पत्नी हुन् । यी दुबैबाट चार जना छोरी जन्मिए । यसमध्ये दुई जना छोरीको विवाह भइसकेको छ भने दुई जना घरमै छन् ।
यी दुबैबीचको सम्बन्ध पछिल्लो समय चिसिएको थियो । स्थानीय तहको निर्वाचनको समयमा दुर्गादेवीले आफ्नो नाममा भएको १५ कठ्ठा जग्गा परिवारसँग सल्लाह नै नगरी बिक्री गरेकी थिइन् ।
जग्गा बिक्री गरेको पाइएपछि परिवारमा विवाद भएको थियो । विवादका क्रममा दुर्गादेवीले जग्गा बराबरको रकमको जोहो गरिदिने बताएको स्थानीयको भनाइ छ ।
तर उनले अन्य सम्पत्ति पनि खर्च गर्दै जाँदा गाउँमा पञ्चायती नै बसाउनुपरेको थियो । पञ्चायतीमा दुर्गादेवीले अब गल्ती नगर्ने बताएपछि गाउँलेले दुबैलाई मिलेर बस्न सुझाव दिएका थिए ।
तर, दुर्गादेवी रकम खर्च गर्न नरोकेको भन्दै उनका पति देवीलालले उनीसँग सम्बन्ध विच्छेद नै गरेका थिए । यसपछि दुर्गादेवी लारायणसँग लहानमा बस्दै आएकी थिइन् । लारायण भने दुर्गादेवीका सम्धी रहेको स्थानीयले बताएका छन् ।
दुर्गादेवीको मृत्यु भएको खबर बाहिरिएसँगै उनका सम्धी लारायण भने फरार भएको वडा अध्यक्ष रामकृष्ण चौधरीले बताए । उनले लारायणलाई पक्राउ गरेर घटनाको अनुसन्धान गर्नुपर्ने बताए ।
प्रहरी भने यो घटनाको पोष्टमार्टम रिपोर्टको प्रतिक्षामा छन् । ‘पोष्टमार्टम रिपोर्ट आएपछि अन्य अनुसन्धान अघि बढ्छ’ डीएसपी क्षेत्रीले भने ।
प्रतिक्रिया 4